गोरखा अस्पताललाई हब अस्पतालका रूपमा विकास गर्न सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । गोरखा अस्पताल व्यवस्थापन समिति र निक साइमन्स इन्स्टिच्युटबीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
अस्पताललाई निक साइमन्स इन्स्टिच्युटको उपचारात्मक सेवा सहयोग कार्यक्रमअन्तर्गत हब अस्पतालको रूपमा विकास गर्न सम्झौतापत्रमा हस्ताक्षर गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।
संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यअनुरूप यो सम्झौता भएको बताउँदै उनले भने, ‘हब अस्पताल भन्नाले अस्पतालबाट प्रदान गरिने बहुविषेशज्ञ सेवाको सुनिश्चितता र निरन्तरतालाई जनाउँछ । यसअन्तर्गत अस्पतालको स्तर (सेकेन्डरी ए स्तरको अस्पताल)बाट प्रदान गरिनुपर्ने विषेशज्ञलगायत अन्य जनशक्ति, उपकरण तालिम र कर्मचारी आवासको व्यवस्थापन पर्दछ ।’
हब अस्पताल बनाउनुको उद्देश्य सेकेन्डरी ए स्तरको गोरखा अस्पतालबाट प्रदान हुनुपर्ने सम्पूर्ण सेवाको निरन्तरता र गुणस्तरीय सेवा प्रवाह गर्नु रहेको ढकालले जानकारी दिए ।
ढकालका अनुसार यो कार्यक्रम सम्झौता भएअनुसार यही श्रावणदेखि कार्यान्वयन हुनेछ । यसको समयावधि पाँच वर्षसम्म रहेको बताउँदै २०८३ आषाढ मसान्तसम्म कार्यक्रम सञ्चालन हुने छ ।
यस्तै, गोरखा अस्पताल भूकम्पपश्चात् पुननिर्मित सुविधासम्पन्न भवनबाट सेवा सञ्चालनपश्चात् एकपछि अर्को सेवा सञ्चालनमा ल्याउने क्रममा हाल मध्यम खालका अप्रेसन, प्रयोगशालामा कल्चर, सेवा सञ्चालनमा आएको सूचना अधिकारी ढकालले बताए ।
यसैगरी निकट भविष्यमा नै थाइराइड, हर्मोन जाँच सेवा, डायलाइसिस, एचडियू, आइसियूलगायतका सेवा सञ्चालन अन्तिम तयारीमा रहेको अस्पताले जनाएको छ ।