एमालेका सांसद नरबहादुर धामीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुदूरपश्चिमका जनताले ३१ वर्षदेखि थारो भैँसी पालेझैँ पाल्नुपरेको बताएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद धामीले सुदूपश्चिमका जनताले प्रधानमन्त्री देउवालाई ६ पटक चुनाव जिताएर पाँचपटक प्रधानमन्त्री बनाए पनि सुदूरपश्चिमका लागि केही नगरेको बताए । उनले प्रधानमन्त्रीलाई ३१ वर्षदेखि जनताले भोट दिए पनि भोट बालुवामा पानी हालेबराबर भएको बताए ।
सांसद धामीले प्रधानमन्त्रीले कैलालीको गेटामा मेडिकल विश्वविद्यालय खोल्ने कुरामा बेवास्ता गरेमा सुदूरपश्चिमका जनताप्रति गद्दारी, विश्वासघात गरेको ठहरिने चेतावनी दिए । उनले गेटामा विश्वविद्यालय बनाउन मन्त्रिपरिषद्को निर्णय गराउन नसकेको भन्दै प्रधानमन्त्री देउवाको तिखो आलोचना गरे ।
सांसद धामीले कैलालीमा गेटा मेडिकल कलेजको स्थापना गर्न नसके देउवा दशपटक प्रधानमन्त्री भए पनि जनतालाई कागलाई बेल पाक्यो हर्ष न विस्मात् भनेझैँ हुने उनको भनाइ छ । उनले कलेज स्थापना गर्न नसके देउवालाई सुदूरपश्चिमका जनताले धोकेबाज र विश्वासघाती भन्ने बताए ।