मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १ आइतबार
  • Thursday, 19 December, 2024
अनु आचार्य काठमाडाैं
२o७९ श्रावण १ आइतबार १o:२१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सकसमा पर्यटन : कोरोनापछि युक्रेन–रुस युद्धले असर पार्ने डर

Read Time : > 1 मिनेट
अनु आचार्य, काठमाडाैं
नयाँ पत्रिका
२o७९ श्रावण १ आइतबार १o:२१:oo

विदेशी पर्यटकले खचाखच हुने रसुवाको पर्यटकीय क्षेत्रका होटेल व्यवसायी लाक्पा तामाङले आफ्नो व्यवसाय बढाउन बैंकबाट ५० लाख रुपैयाँ ऋण लिए । तर, कोरोना महामारी सुरु भएपछि व्यापार ठप्प हुँदा उनी किस्ता बुझाउनसमेत नसक्ने अवस्थामा पुगेका छन् । 

‘कोरोनाअघिसम्म व्यवसाय राम्रै चलेको थियो, राम्रो गरौँला भनेर बैंकबाट ऋण लिए, तर कोरोनाले ठप्प बनायो,’ तामाङले भने, ‘पेसा नै छाड्न पनि नमिल्ने, व्यवसाय बढाउन लिएको बैंकको ऋण चुक्ता गर्न सकेको छैन ।’

रसुवा मात्रै नभएर देशका सबै पर्यटकीय गन्तव्य कोरोनाको चपेटामा परे । जसकारण, पर्यटनमै निर्भर स्थानीय उद्यमी र व्यवसायी नराम्रोसँग प्रभावित भएका छन् । मार्च २०२० मा नेपालमा पहिलोपटक लकडाउन लागू भएको थियो । उक्त वर्ष अप्रिलदेखि डिसेम्बरसम्म नौ हजार चार सय १७ जना पर्यटकले मात्रै नेपाल भ्रमण गरे ।

नेपालमा लकडाउन केही खुुकुलो भए पनि विश्वमा कोरोनाको कहर उस्तै भएकाले २०२१ मा पनि पर्यटकको संख्या खासै सुधार भएन, वर्षभरमा एक लाख ३७ हजार ६ सय ६० जना पर्यटक मात्र नेपाल आए । यस वर्ष जनवरीदेखि जुनसम्मको अवधिमा दुई लाख ३७ हजार ६ सय ६० जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । तर, खस्किएको अर्थतन्त्र उकास्न यो संख्या पर्याप्त होइन ।

‘२०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य थियो, तर विश्वभर कोरोना फैलियो । सबै ठप्प भए,’ पर्यटन व्यवसायी राजन सिम्खडाले भने, ‘सरदर अहिले आएका पर्यटकहरूलाई हेर्दा २५ प्रतिशत रिकभर भएको मान्न सकिन्छ । ‘हामीजस्ता व्यवसायीलाई धेरै समस्या छ ।’

चुनौतीका बाबजुद पदयात्रा र पर्वतारोहणका लागि आउने पर्यटक बढ्दै गएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले बताए । ‘विदेशी पर्यटक आगमन बढाउन हामीले प्रचार–प्रसारलाई तीव्रता दिइरहेका छौँ, व्यवसायीहरूले पनि पर्यटक बढाउन आफ्ना गतिविधि बढाइरहनुभएको छ,’ सुवेदीले भने । 

रुस–युक्रेन युद्धको त्रास 
फेब्रुअरीबाट सुरु भएको रुस–युक्रेन युद्धका कारण नेपालमा खानेतेल, इन्धनलगायत आयातीत सामाग्रीहरूको मूल्य बढ्दो छ । युक्रेन तहसनहस भइसक्यो, रुसको अर्थतन्त्र खस्किएको छ । युरोपका अन्य देशमा पनि यस युद्धको असर देखिइसकेको छ, मूल्यवृद्धि बढेको छ भने युरोको भाउ निकै घटेको छ । 

अद्यागमन विभागको तथ्यांक हेर्दा गत वर्षको फेब्रुअरीदेखि मेसम्ममा युक्रेन, रुससहित युरोपेली देशबाट नेपाल आउने पर्यटकको संख्या बढेको देखिन्छ । तर, सोचेजस्तो आवागमन बढ्न नसकेको व्यवसायी सिम्खडाको टिप्पणी छ । ‘अघिल्लो वर्ष युरोपेली देशहरूमा कोरोनाको कहर बाँकी नै थियो, भ्रमणमा अनेकौँ कडाइ थिए । त्यसकारण यस वर्ष संख्या थपिनु सामान्य हो । मुख्य चिन्ता पर्यटकको फ्लो सोचेजसरी बढेको छैन भन्ने हो,’ सिम्खडाले भने,‘युद्धले युरोपसहित समग्र विश्वमा आर्थिक मन्दी छाएको छ । युरोपको आकाश सुरक्षित छैन । मानिस अन्योल र अनिश्चित छन् । कोरोनाकै नयाँ भेरिएन्ट फैलने आशंका पनि छ । खाएर, लगाएर, बचेको पैसामा मात्रै मजा गर्ने हो । शान्ति भएपछि मात्रै पर्यटन फस्टाउने हो । युद्धले वातावरण बिथोलिदिएको छ ।’

कोरोना सुरु हुनुअघि रुस–युक्रेनसहित युरोपेली देशबाट नेपालमा ठूलो संख्यामा पर्वतारोही आउने गरेको सिम्खडाको अनुभव छ । ‘जर्मनी, बेलायत, फ्रान्ससहित युरोपली देशका पर्यटकमा हामी ठूलो रूपमा निर्भर छौँ । हामीले आफ्नो मार्केटिङ पनि त्यतै गरेका छौँ । त्यसैले युद्धले त्यहाँका जनता प्रभावित हुँदा हाम्रो व्यवसाय खस्कनु स्वाभाविक हो,’ उनले भने,‘यदि हामीले चीन र भारतमा पनि आफ्नो पर्याप्त प्रचार गर्न सक्यौँ र त्यहाँका पर्यटकलाई आकर्षित गर्न सक्यौँ भने आगामी सिजन (सेप्टम्बरदेखि नोभेम्बरसम्म)मा अवस्था बदलिएला । नत्र, युद्धले प्रभावित हुनेवाला छ ।’