मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ श्रावण १ आइतबार ०८:०४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

निर्माण पूरा नहुँदै चर्कियो कालिकोट–जुम्ला जोड्ने पक्की पुल

Read Time : > 1 मिनेट
२०७९ श्रावण १ आइतबार ०८:०४:००

१३ करोड लागतको पुल सम्झौताअनुसार ३० महिनाभित्र सञ्चालनमा आउनुपर्ने थियो, तर निर्माणाधीन अवस्थामै चर्किएपछि भविष्य अन्योलमा

कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालिकोट जोड्ने सिंजाखोला पक्की पुल निर्माण सम्पन्न नहुँदै चर्किएको छ । कमसल निर्माण सामग्री प्रयोगका कारण पुल चर्किएको हो । करिब ३० महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको पक्की पुल ६ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । निर्माणाधीन अवस्थामै चर्किएपछि पुल निर्माणको समय बढ्ने देखिएको छ ।

पुल निर्माणका लागि ३० कात्तिक ०७४ मा सुर्खेतस्थित सूर्य कन्स्ट्रक्सन प्रालिसँग सम्झौता भएको थियो । सम्झौतामा कर्णाली राजमार्गको छिडेना र सिंजाखोला पुलको एउटै ठेक्का बनाइएको छ । पुल निर्माणको लागत १३ करोड रुपैयाँ रहेको छ ।

तिला गाउँपालिका–७ का स्थानीय कृष्णबहादुर बुढाले ६ वर्षसम्म पनि पुल बन्न नसक्नु दुःखद पक्ष भएको बताए । ‘सँगै काम थालिएका कर्णाली राजमार्गका अन्य पुल बनेर सञ्चालनमा आइसकेका छन् । तर, सिंजाखोलामा बनाउन लागेको पुल जहिल्यै पनि निर्माणाधीन अवस्थामा छ,’ उनले भने । असार महिनाभित्र पुल सञ्चालनमा ल्याउने बताइए पनि प्रिटेस्ट गर्दा पुलको बीचको भाग नै चर्किएपछि झन् अन्योल भएको छ । ‘असार महिनाभित्रै पुलमा गाडी गुडाउने तयारी भइरहेको थियो । पुलको फाइनल प्रिटेस्ट गर्दा बीचमै चर्किएपछि निर्माणको काम रोकिएको छ,’ सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर तुलाराम शर्माले भने ।

स्थानीय खड्कबहादुर खत्रीले मृत्युमार्गको रूपमा चिनिएको कर्णाली राजमार्गमा बन्ने पुलका सन्दर्भमा सरकार र निर्माण कम्पनी दुवै गैरजिम्मेवार बनेको बताए । ‘विभिन्न बहाना बनाउँदै पुल निर्माणको काम धकेल्दै जाने, तर सरकार म्याद थप्दै ठेकेदार कम्पनीलाई सहज बनाउँदै जाने हो भने अबको दश वर्षसम्म पनि पुल बन्न सक्ने अवस्था छैन,’ उनले भने ।

पुलको पहिलो डिजाइन नै गलत
सुरुदेखि नै सिंजाखोला पुल निर्माणमा विवाद सिर्जना हुँदै आएको थियो । ‘पुलको पहिलो डिजाइन नै गलत थियो । जसले सम्झौता गर्दाको वर्ष पुल निर्माणको काम अघि बढ्न सकेन,’ इन्जिनियर शर्माले भने, ‘अर्को डिजाइन गर्नुपर्ने भयो । पहिलो ठेक्का सम्झौताको अवधि डिजाइनमै बित्यो ।’ 

ठेक्का नम्बर ३ मा रहेको सिंजाखोला पुल यो वर्ष सकिने गरी म्याद थप गरिएको थियो । तर, पुल नै चर्किएपछि पुल निर्माणको कामसमेत अनिश्चित बनेको छ । इन्जिनियर शर्मा पहिले ढलान गरेर केबल तान्ने खालको पुल भएकाले समस्या आएको बताए । अब पुलको पुनः परीक्षण गरेर मात्र निर्माण प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । ‘प्रिटेस्ट गर्दा पुल चर्किएको छ । फेरि ग्राउटिङ गर्नुपर्छ, जसका लागि नेपालमा उपकरण र जनशक्ति पाइँदैन । भारतबाट विज्ञ र टेक्नोलोजी ल्याएपछि मात्र काम अघि बढ्छ,’ उनले भने । उनले दसैँअघिसम्म पुलमा गाडी गुडाउन मिल्ने बताए । अहिलेसम्म तीनपटक पुलको म्याद थपिसकिएको छ । रिडिजाइन र कोभिडका कारण पुल समयमै बन्न नसकेको निर्माण कम्पनीले दाबी गरेको छ ।