भारतसँग सीमा जोडिएको कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास क्षेत्रमा रातभरि तस्करी हुने गरेको तथ्य खुलेको छ । सामान्य घरायसी सामानदेखि किसानका नाममा सयौँ बोरा मल तस्करी भइरहेको पाइएको छ ।
पुनर्वासका सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको दरिलो उपस्थिति हुँदासमेत तस्करी रोकिएको छैन । तस्करले भारतबाट समान ल्याएर सीमापार गरेर बस्तीमा पुर्याइरहेको अवस्थामा नेपाल प्रहरीले मलसहित अन्य सामान बरामद गरेको छ ।
गएराति इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको टोलीले तस्करी हुन लागेको अवस्थामा ट्याक्टरसहित सय बोरा मल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गएराति एक ट्याक्टरसहित सय बोरा मल बरामद गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्रबहादुर शाहले से.२त २३७० नम्बरको ट्याक्टरमा भन्सार छली नेपाल ल्याइएको मल बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको जानकारी दिए ।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट प्रहरी निरीक्षक नरेशराज मल्ल नेतृत्वको टोलीले दोदा पुल क्षेत्रबाट सय बोरा मल बरामद गरेको हो । एक लाख ५० हजार रुपैयाँको मलसहित ट्याक्टर भन्सार चलान गरिएको प्रहरीले जनाएको छ । कञ्चनपुर प्रहरीका प्रवक्ता शाहका अनुसार बरामद गरिएको मलसहित ट्याक्टर त्रिनगर कैलाली भन्सार कार्यालयमा चलान गरिएको छ ।