सिलिकन भ्यालीदेखि बोस्टनसम्मका प्रयोगशालामा वैज्ञानिकहरूले वर्षौंदेखि इलेक्ट्रिक भेहिकल (इभी) ब्याट्री बनाउन यस्ता रसायन, खनिज र धातुहरूको खोजी गरिरहेका छन्, जसले ब्याट्री केही मिनेटमै फुल रिचार्ज होस्, एकपटकको चार्जले सयौँ किलोमिटर चलोस्, अझ अहिले उपलब्ध ब्याट्रीभन्दा सुपथ पनि होस् ।केही वैज्ञानिक र तिनले स्थापना गरेका कम्पनी यो लक्ष्यको नजिक पुगेका छन् । प्रयोगशाला अध्ययन सफल भएपछि अहिले उनीहरू आफ्नो खोज वास्तविक परिस्थितिका लागि सुरक्षित र भरपर्दो छ कि छैन निक्र्योल गर्ने चरणमा छन् । यसका लागि उनीहरूले ब्याट्री निर्माण गर्ने कारखाना बनाएका छन् ।
यी कारखानाले पहिलो चरणमा सीमित परिणाममा मात्रै ब्याट्री उत्पादन गर्नेछन् । ब्याट्रीहरू सुरक्षित र भरपर्दो प्रमाणित भए मात्र तिनलाई व्यावसायिक रूपमा उत्पादन गरिनेछ । यसकारण अनुसन्धानमा सफल देखिएका उन्नत ब्याट्रीयुक्त कार सोरुमहरूमा देखा पर्न अझै केही वर्ष लाग्नेछ । तर, एसेम्ब्ली–लाइन उत्पादनको सुरुवातले नै पनि विद्युतीय गतिशीलतामा क्रान्तिको संकेत गर्छ ।
यो प्रविधिलाई सुपथ मूल्य र व्यावसायिक परिमाणमा उत्पादन गर्न सकियो भने मात्र विद्युतीय सवारीले पेट्रोलियम इन्धनले चल्ने सवारीलाई प्रतिस्थापन गर्न सक्छन् । नयाँ प्रकारका ब्याट्री र ती ब्याट्री बनाउने सामग्रीमा काम गरिरहेका दर्जनौँ नयाँ कम्पनीका लागि प्रयोगशालाबाट वास्तविक संसारमा कदम राख्नु एक महत्वपूर्ण चरण हुन्छ । कारखानामा लाखौँ ब्याट्री उत्पादन गर्नु प्रयोगशालाको कोठामा केही सय ब्याट्री बनाउनुभन्दा धेरै गाह्रो काम हो ।
क्यालिफोर्निया राज्यको सान जोसेस्थित ब्याट्री निर्माता कम्पनी क्वान्टमस्केप प्रयोगशाला प्रयोगका लागि जाँदै छ । यो कम्पनीका प्रमुख कार्यकारी जगदीप सिंहका अनुसार सबै कुरा ठिकठाक रहे सन् २०२४ सम्ममा कम्पनीका ब्याट्री कारमा प्रयोग हुनेछन् ।
दुई वर्षभित्रै प्रयोग हुन सक्ने
क्यालिफोर्निया राज्यको सान जोसेस्थित ब्याट्री निर्माता कम्पनी क्वान्टमस्केप प्रयोगशाला प्रयोगमा जाँदै छ । यो कम्पनीका प्रमुख कार्यकारी जगदीप सिंहका अनुसार सबै कुरा ठीकठाक रह्यो भने सन् २०२४ सम्ममा यो कम्पनीका ब्याट्री कारमा प्रयोग हुनेछन् । क्यान्टमस्केपले बनाएको ब्याट्री १० मिनेटभन्दा कम समयमै फुल रिचार्ज हुने सिंहको दाबी छ । प्रयोग गर्नुअघि कार कम्पनीले क्वान्टमस्केपका ब्याट्रीले खराब सडक, अत्यधिक चिसो र गर्मी अनि कार धुँदा कस्तो प्रदर्शन गर्छ परीक्षण गर्न चाहनेछन् ।
कहिलेकाहीँ प्रयोगशालाको सुरक्षित वातावरणमा सफलतम खोज वास्तविक संसारमा सुरक्षित हुँदैनन् । कार निर्माताले ब्याट्री छिटै चार्ज हुँदा ब्याट्रीको बिजुली भण्डारण क्षमता कमजोर हुन्छ वा हुँदैन, दुर्घटनामा पर्दा ब्याट्री पड्किन्छ कि पड्किँदैन, उत्पादन कत्तिको सस्तो पर्छ जस्ता कुरा पनि हेर्छन् ।
विश्वप्रसिद्ध कार कम्पनीको साथ
सिलिकन भ्याली र अन्तका प्रयोगशालामा दर्जनौँ उद्यमीले यस्तै प्राविधि पछ्याइरहेका छन् । तिनले आफ्नो अनुसन्धानको सम्भावना देखाएर भेन्चर क्यापिटल र विश्वविद्यालयको अनुसन्धानलाई आकर्षित गरिरहेका छन् । उन्नत ब्याट्री प्रविधि निर्माण गर्न लागिपरेको एसइएस–एआई कम्पनी सन् २०१२ मा स्थापना भएको थियो । म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी(एमआइटी) उन्नत प्रविधिमा आधारित ब्याट्री बनाइरहेको छ । एमआइटीको अनुसन्धानलाई जनरल मोटर्स, हुन्डाई, होन्डा, चिनियाँ सवारी निर्माता गिली र एसएआइसीका साथै दक्षिण कोरियाली ब्याट्री निर्माता एसके इनोभेसनले साथ दिइरहेको छ ।
अमेरिकाको म्यासाचुसेट्स राज्यको उवर्नमा मुख्यालय रहेको एसइएसले गत मार्चमा प्रोटोटाइप ब्याट्री निर्माणका लागि सांघाईमा कारखाना नै खोलेको छ । कम्पनी सन् २०२५ सम्ममा ठूलो परिमाणमा ब्याट्री उत्पादन गरेर गाडी निर्मातालाई आपूर्ति गर्ने योजनामा छ ।
म्यासाचुसेट्स राज्यको उवर्नमा मुख्यालय रहेको एसइएसले गत मार्चमा प्रोटोटाइप ब्याट्री निर्माणका लागि सांघाईमा कारखाना खोलेको छ । यो कम्पनी सन् २०२५ सम्ममा ठूलो परिमाणमा ब्याट्री उत्पादन गरेर गाडी निर्मातालाई आपूर्ति गर्ने योजनामा छ । एसइएस र अन्य ब्याट्री कम्पनी सुरक्षित, सस्तो र थप शक्तिशाली ब्याट्री निर्माणका आधारभूत वैज्ञानिक अवरोधहरू समाधान गरेको बताउँछन् । तिनलाई लाखौँको संख्यामा उत्पादन गर्ने अबको मुख्य चुनौती हुने उनीहरूको तर्क छ ।
अमेरिकाको कोलोराडो राज्यको लुइसभिलमा मुख्यालय रहेको सोलिड पावरले अघिल्लो महिना एक वक्तव्य निकालेर यो वर्षको अन्त्यसम्ममा आफ्ना कार निर्माता साझेदारलाई परीक्षण उद्देश्यका लागि ब्याट्री आपूर्ति सुरु गर्ने बताइसकेको छ । यस्तै, स्टार्टअप कम्पनी सिला विद्यमान ब्याट्रीको डिजाइनमा सुधार गरेर तिनको प्रभावकारिता २० प्रतिशतसम्म बढाउन सफल भएको छ । अमेरिकाको वासिंगटन राज्यको वुडिनभिल अवस्थित ग्रुप १४ टेक्नोलोजीले पनि प्रयोगशालाको परीक्षण सफल भएर अब वास्तविक परिस्थितिमा ब्याट्री परीक्षण गर्न लागेको बताएको छ ।
के तत्वले बनाउँदै छ ब्याट्री पावरफुल ?
अमेरिकी तीन कम्पनीले विद्युत् भण्डारणको लागि अहिलेको ब्याट्रीले प्रयोग गर्ने ग्रेफाइटको सट्टा सिलिकन प्रयोगको उपाय अवलम्बन गरेका छन् । सिलिकनले ग्रेफाइटको तुलनामा प्रतिपाउन्ड धेरै ऊर्जा संग्रह गर्न सक्छ भने सिलिकन प्रयोग भएका ब्याट्रीहरू हलुका, सस्तो र छिटो चार्ज गर्न सकिने हुन्छन् । सिलिकनले ब्याट्री निर्माणमा चीनमाथिको निर्भरता पनि कम गर्छ ।
हाल परिष्कृत ग्रेफाइटको आपूर्तिकर्ता चीन नै हो । तर, सिलिकनको कमजोरी के हुन्छ भने चार्ज गर्दा यसको आकार तीन गुणासम्म फुल्छ, यसले ब्याट्रीमा अत्यधिक दबाब दिएर ब्याट्रीलाई असफल बनाउन पनि सक्छ । सोलिड पावर, सिला र ग्रुप १४ ब्याट्री उत्पादनको विभिन्न चरणमा छन् । विश्वभरका सवारी निर्माता कम्पनी विद्युतीय गाडी निर्माण गर्ने होडबाजीमा रहेकाले ब्याट्रीको माग अहिले उच्च छ । यस्तो वातावरणमा धेरै ब्याट्री निर्माता टिक्ने ठाउँ देखिन्छ । यदि सबै नयाँ कार विद्युतीय भए ब्याट्रीको बजार १० खर्ब डलरको हुनेछ ।
द न्युयोर्क टाइम्स