सत्तापक्षकै सांसद विरोधमा उत्रिएपछि सुदूरपश्चिम प्रदेश सरकारलाई आफूले ल्याएको बजेट पारित गराउन सकस परेको छ । सत्तापक्ष र प्रतिपक्षका सांसदको विरोधले प्रदेश सभामा बजेटमाथिको छलफल नै सुरु हुन सकेको छैन । असार मसान्तभित्र बजेट पारित भइसक्नुपर्ने कानुनी बाध्यता छ । तर, असार मसान्त सकिन चार दिन मात्र बाँकी रहँदा सरकारले बजेटलाई लिएर सत्तापक्षभित्रै देखिएको विवाद मिलाउन सकेको छैन ।
विवादकै कारण प्रदेश सभाका बैठकहरू पटक–पटक अवरुद्ध भएका छन् । मंगलबार बिहान बोलाइएको बैठक प्रतिपक्षको बहिष्कारसँगै गणपूरक संख्या नपुगेर स्थगित भयो । बैठकमा प्रतिपक्षी दलका सांसद गएनन् । सत्तापक्षकै सांसदको न्यून उपस्थिति भएपछि सभामुख अर्जुनबहादुर थापाले गणपूरक संख्या नपुगेको भन्दै बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित गरे । बैठक सञ्चालनका लागि प्रदेश सभाको कुल संख्याको एकचौथाइ (१४ जना) उपस्थित हुनुपर्नेमा १३ जना मात्र उपस्थित थिए ।
दिउँसो ३ बजेको बैठकमा गणपूरक संख्या पुगे पनि प्रतिपक्षका सांसद उपस्थित नभएपछि बैठक स्थगित भयो । बजेटको विरोधमा प्रतिपक्ष दलहरूले लगातार तीनवटा बैठक बहिष्कार गरेका छन् । यसअघि कार्यव्यवस्था परामर्श समितिका बैठकहरूमा सत्तापक्षकै सांसदले बजेट संशोधन हुनुपर्ने अडान राखेपछि पटक–पटक तोकिएको संसद् बैठक बस्न सकेको थिएन ।