मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २९ बुधबार
  • Wednesday, 18 December, 2024
२o७९ असार २९ बुधबार o६:oo:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

दुर्गम चुमनुब्रीमा हेलिकोप्टरबाट पैसा ढुवानी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार २९ बुधबार o६:oo:oo

उत्तरी गोरखाको दुर्गम चुमनुब्री गाउँपालिकामा योजनाहरूको भुक्तानीका लागि हेलिकोप्टरबाट पैसा ढुवानी गरिएको छ । सडक सञ्जाल नजोडिएको चुमनुब्रीमा चालू वर्षमा सञ्चालन भएका योजनाको भुक्तानी, सामाजिक सुरक्षा भत्ता र नियमित बैंकिङ सेवा सञ्चालनका लागि कुमारी बैंकले पाँच करोड रुपैयाँ केन्द्रबाट हेलिकोप्टरमा ढुवानी गरेको हो ।

पालिका केन्द्रमा रहेको बैंकसम्म सडक नपुगेको र हिँडेर जान बाटो अप्ठ्यारो भएकाले जनताको सेवाका लागि हेलिकोप्टर चार्टर गरेर पैसा ल्याएको कुमारी बैंक सिर्दिवास शाखाका म्यानेजर कृष्ण पोखरेलले बताए । पैसा ल्याएसँगै चालू वर्षमा गाउँपालिकाबाट सञ्चालित योजनाको भुक्तानी धमाधम भइरहेको छ ।

चुमनुब्री गाउँपालिका भौगोलिक रूपमा विकट भएकाले बैंकमा पैसा डिपोजिट गर्न समस्या हुने गरेकाले सीधै पैसा नै ल्याएर दिने गरेको पोखरेलले बताए । सरकारले हरेक स्थानीय तहमा एउटा वाणिज्य बैंकको शाखा राख्ने योजनाअनुसार चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासमा कुमारी बैंकको शाखा सञ्चालनमा आएको हो । उक्त बैंकले यसअघि पनि सामाजिक सुरक्षा भत्ता हेलिकोप्टरबाट ल्याएर वितरण गरेको थियो । 

बैंकमा पैसा सकिँदा एक सातादेखि पालिकाको योजनाहरूको भुक्तानी हुन नसकेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए । ‘बैंकलाई पटक–पटक आग्रह गरेपछि हेलिकोप्टरबाट पैसा ल्याएर वितरण थालेको छ,’ लामाले भने । अहिले लगिएको पाँच करोडले केही महिना कारोबार सञ्चालन हुने भएकाले स्थानीयलाई सहज हुने उनले बताए । 

बैंकको शाखा रहेको वडा नम्बर ३ मा सामाजिक सुरक्षा भत्ता बैंकबाट र अन्य वडामा बैंकका कर्मचारी नै वडा कार्यालय पुगेर वितरण गर्ने लामाले जानकारी दिए । पालिकाको भुक्तानी सकेपछि साउनको पहिलो सातादेखि नै बैंकका कर्मचारी वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने अध्यक्ष लामाले बताए ।