१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ असार २७ सोमबार १२:५७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

देशकै पहिलो प्राविधिक विश्वविद्यालयमा पहिलो शैक्षिक सत्रको पढाइ सुरु 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ असार २७ सोमबार १२:५७:००

प्रदेश १ सरकारले स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले पहिलो शैक्षिक सत्रको पठनपाठन सुरु गरेको छ । मोरङको बुढीगंगा गाउँपालिका– ४ हात्तीमुढामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयले सोमबारदेखि पहिलो शैक्षिक सत्र इन्जिनियरिङ स्कुलतर्फको चारवर्षे स्नातक तहको पठनपाठन सुरु गरेको हो । 

सिभिल, इलेक्ट्रिक र इलेक्ट्राेनिक्सतर्फ स्नातक तहमा सुरु भएको पहिलो शैक्षिक सत्रमा जम्मा ४८ जना विद्यार्थी प्रवेश परीक्षामा उत्तीर्ण भई सोमबारदेखि औपचारिक रूपले पठनपाठनमा सहभागी हुन थालेको इन्जिनियरिङ संकायका डिन डा. प्रचण्डमान प्रधानले जानकारी गराए । 

देशकै पहिलो सरकारी प्राविधिक विश्वविद्यालय मनमोहनमा इन्जिनियरिङतर्फको स्नातक तहको पहिलो शैक्षिक सत्रमा भर्ना हुन मनमोहनमा पाँच सय बढी जिद्यार्थीले आवेदन दिएका थिए । उनीहरूमध्ये सिटसंख्याको आधारमा मापदण्ड अनुसार जम्मा ४८ जना विद्यार्थीले मात्र भर्ना पाएका हुन् । 

पहिलो ब्याचका विद्यार्थीलाई विश्वविद्यालयको स्वागत 
विश्वविद्यालयको पहिलो शैक्षिक सत्रमा भर्ना भएर पठनपाठनमा सहभागी विद्यार्थीलाई मनमोहनले आइतबार औपचारिक रूपमा स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरेको थियो ।  विश्वविद्यालय सभा सदस्यहरू तथा बोर्ड अफ ट्रस्टिजका सदस्यहरूसमेत उपस्थित भएको उक्त कार्यक्रममा पूर्वसहकुलपति पूर्वमन्त्री तथा प्रदेश सांसद जीवन घिमिरे, विश्वविद्यालय सभा सदस्य तथा संघीय सांसद लालबाबु पण्डित, सभा सदस्य सत्यनारायण चौधरी, उपकुलपति डा. सुवासश्री पोखरेल रजिस्ट्रार डा. दिलनाथ फुँयाललगायतले पहिलो शैक्षिक सत्रका विद्यार्थीलाई स्वागत गरेका थिए । 

हेल्थ साइन्स र डिग्रीको पढाइ सुरु हुँदै 
उपकुलपति डा. सुवासश्री पोखरेलका अनुसार विश्वविद्यालयले चाँडै नै हेल्थ साइन्सको स्नातक तथा  इन्जिनियरिङतर्फको  स्नातकोत्तर तहका कार्यक्रमहरू सुरु गर्ने तयारी थालेको छ । देशमा दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्न प्रदेश १ सरकारले प्रदेश सभाबाट स्वायत्त कानुन निर्माण गरेर १६ असोज ०७६ प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना गरेको हो ।

यस विश्वविद्यालयमा  स्कुल अफ इन्जिनियरिङ,  स्कुल अफ एप्लाइड साइन्स एन्ड टेक्नोलोजी र स्कुल अफ मेडिसिन एन्ड एलाइड हेल्थ साइन्सेज गरी तीनवटा संकाय सञ्चालन हुनेछन् । मनमोहन प्राविधिक विश्वविद्यालयले भावी दशवर्षे शैक्षिक कार्ययोजना बनाएर विभिन्न विषयका पाठ्यक्रम तर्जुमा गरिसकेको छ  । 

तीनवटा स्कुलअन्तर्गत दश वर्षमा स्नातक, स्नातकोत्तर र विद्यावारिधि (पिएचडी) गरी २८ वटा विभिन्न विषय सञ्चालन गर्ने विश्वविद्यालयको लक्ष्य रहेको छ ।