दमक अस्पतालमा दैनिक ५० जनासम्म बिरामी भर्ना, नाइरोबी किराको संक्रमण तराई, पहाड र हिमाली क्षेत्रसम्म फैलिन सक्ने चिन्ता
झापा र इलामका केही ठाउँमा नाइरोबी फ्लाईका कारण भएको संक्रमणको पहिचानमा ढिलाइ भएको छ । शरीरका विभिन्न भागमा घाउ बोकेर अस्पताल आउनेको संख्या बढे पनि सम्बन्धित निकायले के कारणले भएको हो भन्ने अझै पहिचान गर्न सकेको छैन । उपचारमा संलग्न चिकित्सकहरूले नाइरोबी फ्लाईकै संक्रमणका कारण शरीरभरि घाउ भएको बताए पनि यसको आधिकारिक पुष्टि गर्ने निकाय अझै मौन छ ।
करिब एक सातायता झापाका दमक, बिर्तामोड, अर्जुनधारा, मेचीनगर र इलामका केही ठाउँमा नाइरोबी किराकै कारण संक्रमण भएर अस्पताल आउनेको संख्या बढेको छ । स्वास्थ्य कार्यालय झापा भने यसको पुष्टि नभएको भन्दै मौन छ ।
संवेदनशील होइन,पूर्वतयारी छैन : योगराज घिमिरे, प्रमुख, स्वास्थ्य कार्यालय
नाइरोबी फ्लाईका कारण हुने संक्रमण मौसमी भएका कारण संवेदनशील नभएको स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरेले बताए । उनले यसको केही पनि पूर्वतयारी नभएको बताए । ‘पूर्वतयारी केही पनि छैन । निर्देशनालयले जे भन्छ, त्यही गर्ने हो । यो खासै संवेदनशील पनि छैन,’ उनले भने, ‘यो सिजनल हो । निर्देशनालय र केन्द्रले केही भन्यो भने मात्र गर्ने हो ।’
यद्यपि, उपचारमा संलग्न चिकित्सकहरू भने नाइरोबी फ्लाईकै कारण यो घाउ निस्किएको दाबी गर्छन् । ‘पछिल्लो समय दैनिक ४५–५० जना बिरामी आइरहेका छन् । पहिला मेरोमा दादको बिरामी धेरै आउँथे । तर, अहिले अधिकांश बिरामी नाइरोबी फ्लाईको कारण घाउ भएका आउने गरेका छन्,’ दमक अस्पतालका छाला तथा यौनरोग विशेषज्ञ डा. गुरु पौडेल भन्छन्, ‘नाइरोबी फ्लाईकै कारण हो भनेर भन्नलाई घाउलाई बायप्सी पठाउनुपर्छ । तर, सबै लक्षण मिलेको छ । क्लिनिकल डाइग्नोस्टिकले नै नाइरोबीकै कारण भन्ने पुष्टि हुन्छ ।’
पछिल्लो समय भएको भारी वर्षापछि यसको फैलावट भएको हुन सक्ने पौडेलको भनाइ छ । नाइरोबीका कारण शरीरका जोर्नीहरूमा धेरैजसो घाउ देखिएको उनले बताए । ‘आँखा र शरीरको जोर्नीमा देखिन्छ । जुन ठाउँमा किरा थिचिन्छ, त्यहीँ देखिने हो,’ उनले भने, ‘यो किराको टोकाइबाट हुने हैन । यसलाई थिचिएपछि कडा एसिड निस्कन्छ । त्यही कारण घाउ हुन्छ ।’ नाइरोबीका कारण किरा बसेको भाग रातो हुने, पोल्ने, फोका उठ्ने, फुट्ने र थप संक्रमण हुने अवस्था आउने डा. पौडेलले बताए । उनको अनुसार यो किराको संक्रमण तराई, पहाड र हिमाली क्षेत्रसम्म हुन्छ ।
स्वास्थ्य कार्यालय झापाले भने बल्ल स्वास्थ्य निर्देशनालयलाई पहिचानका लागि पत्र लेखेको छ । शुक्रबार नाइरोबी हो कि हैन भन्ने पहिचानका लागि निर्देशनालयलाई पत्र लेखिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरेले बताए । एक हप्तादेखि यसका बिरामी भेटिए पनि अहिले मात्र स्वास्थ्य कार्यालयले शंका गरेको छ । ‘यो पहिचान गर्ने स्वास्थ्य कार्यालयले हैन । हामीले निर्देशनालयलाई जानकारी गराएका छौँ । कहिले आउनुहुन्छ, तहिले हुन्छ,’ घिमिरेले भने ।
नयाँ पत्रिका दैनिकले नाइरोबी संक्रमणका बिरामी बढेकोबारे शुक्रबार समाचार प्रकाशन गरेपछि भने प्रदेश सरकारले भने चासो देखाएको छ । ‘सामाजिक सञ्जालमा पनि आएको थियो । नयाँ पत्रिकामा समाचार प्रकाशनपछि भने हामीले चासो दियौँ । डा. गुरु पौडेललाई फोन गरेर सोध्यौँ । उहाँले नाइरोबीकै संक्रमण हो भन्नुभयो । यो शंकास्पदचाहिँ छ,’ प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र संयोजक डा. संगीता राईले भनिन्, ‘यद्यपि, पहिचान भइसकेको छैन । तर, हामीले स्वास्थ्य कार्यालयलाई अलर्ट रहन भनेका छौँ । यसले वृद्धवृद्धा र केटाकेटीलाई समस्या पार्न सक्छ ।’ उनले पहिचानका लागि निर्देशनालयलाई जानकारी गराएको बताइन् । निर्देशनालयको ‘र्यापिड रेस्पोन्स टिम’ले काम पनि सुरु गरेको उनको भनाइ छ । यद्यपि, नाइरोबी हो कि हैन भनेर पहिचान गर्न किराको विशेषज्ञ नै चाहिने उनले बताइन् ।
भारतको सिक्किममा समेत नाइरोबी फ्लाईका कारण मानिसमा संक्रमण बढेको खबर आएका कारण काँकडभिट्टा नाकाबाट नेपाल भित्रिनेलाई समेत कडाइ गर्न भनिएको उनले बताइन् । नाइरोबी फ्लाईको संक्रमण हो कि हैन भनेर पहिचान गर्न ढिला भए पनि अस्पतालमा यसकै कारण शरीरभरि घाउ भएर आउने बिरामीको संख्या बढेको छ । दमक अस्पतालमा दैनिक ५० जनासम्म शंकास्पद बिरामी आइरहेको दमक अस्पतालका छालारोग विशेषज्ञ डा. पौडेलले बताए । पछिल्लो केही दिनयता मेची अस्पतालमा समेत शंकास्पद बिरामी अइरहेको मेची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. टंक बाह्रकोटीले बताए । ‘छालारोग विशेषज्ञ डाक्टरसाबलाई सोध्दा केही दिनदेखि शंकास्पद बिरामी आइरहेको भन्नुभएको छ,’ उनले भने ।