१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
झकबहादुर मल्ल
२o८१ बैशाख २२ शनिबार २१:५o:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण डिजिटल संस्करण

युद्ध-उत्तरका माओवादी र नेपाली समाज

Read Time : > 4 मिनेट
झकबहादुर मल्ल
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार २१:५o:oo

महान् जनयुद्धमा सहभागी माओवादी पार्टीका नेता–कार्यकर्तालाई समाजमा ‘माओवादी’ भनेर चिनिथ्यो । तिनलाई हेर्ने दुई किसिमका दृष्टिकोण थिए । पहिलो, समाज र देशको विकृति तथा विसंगति बदल्न हिँडेका असल र राम्रा मान्छे । दोस्रो, देशमा हत्या, आतंक र लुटपाट गर्दै हिँड्ने आतंककारी मान्छे।

जे होस् माओवादी जनयुद्धका कारण संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको कुरा वर्तमान समाजमा स्थापित भएको छ । सामाजिक विकृति र विसंगतिका अनेकौँ पक्ष धेरै हदसम्म सुधार भएको कुरा पनि उत्तिकै सत्य हो । देश र समाजमा आमूल परिवर्तनको सन्देश दिने तिनै माओवादी नेता र कार्यकर्ताको वर्तमान अवस्थालाई केलाउने प्रयास यहाँ गरिएको छ ।

राजनीतिक पक्ष
०४६ सालमा भएको जनआन्दोलनका कारण प्राप्त बहुदलीय व्यवस्था समाजका एकथरी मान्छेका लागि उत्कृष्ट व्यवस्था लागेको थियो । राजनीतिक दलबाहेक स्वतन्त्र चुनावी प्रतिस्पर्धा, आवधिक निर्वाचन प्रणाली र जनउत्तरदायी शासन व्यवस्था पञ्चायत कालमा नभएको होइन । तर, राजसंस्थाको अधिकार कटौती गर्दै संवैधानिक राजसंस्था र बहुदलीय प्रतिस्पर्धा ०४६ सालको जनआन्दोलनबाट प्राप्त उपलब्धिका रूपमा व्याख्या गरिएको थियो । पछिल्ला अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रम हेर्दा सशस्त्र संघर्षले खासै सफलता पाइरहेका थिएनन् । सुरुवातमा माओवादी जनयुद्धमा सहभागीको समाजमा खासै महत्व थिएन । एकथरीले यो व्यवस्था नै उत्कृष्ट छ र यसलाई बदल्नु हुँदैन भन्थे । अर्काथरीले गणतन्त्र स्थापना गर्नु भनेको असम्भव कुरा हो भन्ने गर्दथे ।

समाजमा अझै पनि माओवादी नेता र कार्यकर्तालाई राजनीतिक प्रतिस्पर्धा फलामकै चिउरा साबित भइरहेको छ । तिनका लागि युद्ध लड्नु सजिलो थियो, तर चुनाव लड्न निकै गाह्रो भइरहेको छ । ग्रामीण समाजले त माओवादीलाई मूलभूत रूपमा स्वीकार गरेको देखिन्छ, तर सहरी समाजले अझै पनि माओवादीले अँगालेको राजनीतिलाई स्वीकार गर्न सकिरहेको छैन ।

आफ्नो व्यक्तिगत, पारिवारिक र सामाजिक जिम्मेवारीसमेत छोडेर माओवादीहरूले नेपालको राजनीतिमा निकै ठूलो चुनौती सामना गरेका हुन् । तत्कालीन राज्य सत्तालाई चुनौती दिँदै सशस्त्र संघर्षद्वारा नेपालको राजनीतिक प्रणालीलाई परिवर्तन गरेर गणतन्त्र स्थापना गर्ने कुरा नेपालको राजनीतिमा ऐतिहासिक र दूरगामी महत्वको कार्य हो । तर, जसले आफ्नो जीवनको परवाह नगरी यो व्यवस्था स्थापनाका लागि लडे, आज तिनै माओवादी अहिलेको यो राजनीतिक प्रणालीमा स्थापित हुन सकिरहेका छैनन् । समाजमा अझै पनि माओवादी नेता र कार्यकर्तालाई राजनीतिक प्रतिस्पर्धा फलामकै चिउरा साबित भइरहेको छ । तिनका लागि युद्ध लड्नु सजिलो थियो, तर चुनाव लड्न निकै गाह्रो भइरहेको छ । ग्रामीण समाजले त माओवादीलाई मूलभूत रूपमा स्वीकार गरेको देखिन्छ, तर सहरी समाजले अझै पनि माओवादीले अँगालेको राजनीतिलाई स्वीकार गर्न सकिरहेको छैन ।

आर्थिक पक्ष
कुनै पनि राजनीतिक प्रणाली राम्रो भएन भने त्यो देशको आर्थिक प्रणाली सबल र विकसित हुन सक्दैन । त्यसैले देशको समग्र विकासका लागि राजनीतिक परिवर्तन गर्न जनयुद्ध आवश्यक छ भन्ने माओवादी मान्यता थियो । एकथरी मान्छेले जनयुद्धका क्रममा थुप्रै भौतिक संरचना क्षति भएका र विकासका काम अवरुद्ध भएको आरोप पनि लगाउने गर्दछन् । तर, माओवादी जनयुद्धपश्चात् देशका भौतिक संरचनाको विकास तीव्र गतिमा भइरहेको कुरा अर्को सत्य हो । पूर्व–पश्चिम मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिणका सडक, आधुनिक सहरहरूका साथै राष्ट्रिय गौरवका आयोजना आदि विकासका ठूला नमुना हुन् । आत्मनिर्भर अर्थतन्त्र निर्माण जनयुद्धको विकास आर्थिक नीति थियो । अहिले पनि हाम्रो देशको मूल आर्थिक नीति र नारा यही नै रहेको छ ।

जनयुद्धकै वेला पनि माओवादी पार्टीले देशका धेरै ठाउँमा सामूहिक उत्पादन प्रणालीको विकास गरेको थियो । आधार क्षेत्रहरूमा जनकम्युन निर्माण गर्नेदेखि सामूहिक विकास निर्माण र साझेदारीका थुप्रै कार्य अघि बढेका थिए । विकास निर्माणसम्बन्धी माओवादी तरिका फरक रूपमा भए पनि राज्यले अवलम्बन गर्ने कोसिस गरिरहेको छ । अर्कोतिर माओवादी जनयुद्धमा सामेल हजारौँ नेता र कार्यकर्ताको व्यक्तिगत आर्थिक जीवन भने तहसनहस भएको छ । घरको आर्थिक उत्पादनमा लाग्नुपर्ने जनशक्ति बाहिर गएपछि त्यो घरको अवस्था के होला ? जनयुद्धमा सहभागी अधिकांश नेता र कार्यकर्ताको आर्थिक जीवन पीडा र कष्टदायी रहेको छ । आफ्नो दैनिक जीवन गुजाराका निम्ति अधिकांश युवा पुस्ता भारत र खाडी मुलुक पुगेको छ । देश बदल्न हिँडेको ठूलो गल्ती आज आफ्नै कष्टकर आर्थिक जीवन व्यतीत गर्न बाध्य भएको छ ।

सामाजिक–सांस्कृतिक पक्ष
जनयुद्ध सुरु हुँदै गर्दा समाजमा सांस्कृतिक विभेद र कुरीति व्याप्त थियो । जातीय छुवाछुत प्रथा व्यापक रूपमा थियो । सामाजिक विभेद र कुसंस्कारको त कुरा गरिसाध्य छैन । महिलालाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार फरक नै थियो । अन्तर्जातीय विवाहलाई समाजले स्वीकार गरेको थिएन । जुवातास, जाँडरक्सी आदि व्यापक समस्याका रूपमा थियो । शिक्षा, स्वास्थ्य, रोजगारी आदि क्षेत्रमा निश्चित समुदाय र वर्गको सिन्डिकेट थियो । भूतप्रेत, धामीझाँक्रीजस्ता थुप्रै अन्धविश्वास व्याप्त थियो । यस्ता तमाम अन्धविश्वासका विरुद्ध बोल्ने हिम्मत कसैको पनि थिएन । माओवादी नै एउटा यस्तो शक्ति बनेर आयो जसले समाजका यस्ताखाले विभेद र कुरीतिलाई अन्त्य गर्न निकै ठूलो अभियान सञ्चालन ग¥यो ।
माओवादीले सञ्चालन गरेका ती अभियानका प्रभाव अहिले आएर कतिपय रिभर्स (पुनरागमन) भएका छन् ।

कुरीति र कुसंस्कारविरुद्ध लागेका माओवादी कतिपय आफैँ त्यो कार्यमा संलग्न भएका छन् । कतिपयले त्यस्ता कार्यलाई मूकदर्शक भएर टुलुटुलु हेरिरहनुपरेको छ । सामाजिक विकृति र विसंगतिविरुद्ध बन्दुक बोकेर हिँडेका योद्धाहरू सबै किसिमका अन्धविश्वास र कुरीतिका विरुद्ध थिए । तर, आज तिनै योद्धाहरू गलत कार्यमा सहभागी हुनु अथवा मूकदर्शक भएर हेरिरहनु आजको माओवादीका निम्ति चुनौती र पीडाको विषय बनेको छ । अन्तर्जातीय विवाह गरेको योद्धा सामाजिक हमलाको सामु निरीह बन्दै सम्बन्धविच्छेद गरेका थुप्रै घटना हाम्रो समाजमा छन् । थुप्रै असमानताको विरुद्ध सतिसाल भएर उभिएका माओवादी आज त्यो यथार्थतालाई स्विकार्न विवश छन् । आफ्ना विगतका प्रतिबद्धता र अठोटलाई लिएर जनताका सामु नयाँ ढंगले जाने र समाजले स्वीकार गर्ने परिस्थिति निर्माण गर्नु आजका माओवादीको निम्ति चुनौतीपूर्ण कार्य बनेको छ ।

युद्ध व्यवस्थापन
हामीले संसारभरिका युद्धका इतिहास पढेका छौँ । अधिकांश राजनीतिक परिवर्तन युद्धकै कारण भएका छन् । युद्ध अथवा लडाइँ आफैँमा राम्रो वा नराम्रो होइन । यसलाई कसरी प्रयोग गरिन्छ र व्यवस्थापन कसरी गरिन्छ भन्ने कुरा नै महत्वपूर्ण हो । संसारभरिमा नेपाल नै एउटा यस्तो देश हो, जसले युद्ध र युद्धको व्यवस्थापन आफ्नै मौलिक ढंगले गरेको छ । जनयुद्धका सर्वोच्च कमान्डर कमरेड प्रचण्डको नेतृत्वमा जनयुद्धको थालनी र विस्तृत शान्ति सम्झौतापश्चात् युद्ध व्यवस्थापन संसारकै एउटा नयाँ मौलिकता हो । यसको समग्र पक्षलाई तार्किक निष्कर्षमा पु¥याउन अझै केही समय जिम्मेवार पहल गर्न जरुरी छ ।

अहिले पनि जनयुद्धका वेला भएका घटनाले नेपाली समाजलाई घोचिरहेका छन् । जनयुद्धका लक्ष्य, उद्देश्यसँगै वर्तमानका उपलब्धिसँग त्यसलाई जोड्न सकिएन भने घटना एकातिर लक्ष्य र उद्देश्य अर्कोतिर हुन पुग्दछ । जसले गर्दा केवल घटना र त्यसले पारेको प्रभाव तथा उक्त घटनाबाट प्रभावितको मनमस्तिष्क कहिले पनि शान्त रहन सक्दैन । देशका लागि राजनीतिक उपलब्धि ठूलो कुरा हो । तर, युद्धमा गुमेका आफन्त ती परिवारका लागि निकै ठूला हुन् । त्यसैले परिवर्तनका लागि जीवनको आहुति दिने महान् सहिद र बेपत्ता योद्धालाई देशले आफ्नो शीर्ष स्थानमा राख्नुपर्दछ । त्यसरी नै परिवर्तनका संवाहक योद्धालाई एउटा नयाँ पहिचानका साथ समाजमा रहने वातावरण निर्माण गर्नु आजको राज्यको प्राथमिक कार्य हुनुपर्दछ ।

निष्कर्ष
माओवादी जे थियो, देश परिवर्तनका लागि समाज बदल्न त्यो सही थियो । निस्वार्थ बलिदानी भावका साथ देशका लागि माओवादीहरूले योगदान गरेका थिए । समाजका विकृति र विसंगतिका विरुद्ध जेहाद छेडेका थिए । कठिनाइका बाबजुद तिनले हिजो देशका लागि जे गरे त्यो निकै सराहनीय काम गरे । आज पनि व्यक्तिगत र पारिवारिक जीवनका तमाम कठिनाइका बाबजुद देश र जनताका लागि निरन्तर क्रियाशील छन् । 

पार्टीगत रूपमा आज माओवादी देशको राजनीतिको निर्णयक शक्ति बनेको छ । भरोसायोग्य नेता कमरेड प्रचण्डलाई नेतृत्वका रूपमा आमजनताले स्वीकार गरेका छन् । केही मात्रामा पछि फर्किन खोजे पनि नेपाली समाज मूलतः अगाडि बढिरहेको छ । समाजमा रहेका विभेद, असमानता, कुरीति र कुसंस्कारविरुद्ध संघर्ष गरेर समृद्ध समाज निर्माण गर्ने कार्यमा माओवादीले नै नेतृत्व लिनुपर्दछ ।
 

ad
ad