१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २३ बिहीबार ०७:०६:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सन्दीपले जमैकाबाट सिपिएल खेल्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २३ बिहीबार ०७:०६:००

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने एक दिनको अन्तरमा अर्को अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइज लिगमा आबद्ध भएका छन् । मंगलबार लंका प्रिमियर लिगमा आबद्ध भएका सन्दीप बुधबार क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा अनुबन्धित भएका छन् । 

सिपिएल २०२२ मा अनुवन्धित विदेशी खेलाडीहरूको बुधबार सार्वजनिक सूचीमा सन्दीप पनि छन् । सन्दीप जमैका तलाबाजबाट खेल्ने सिपिएलले जनाएको छ । जमैकाले पाँच विदेशी खेलाडीको कोटामा पाँच खेलाडीलाई ड्राफ्ट अगाडि नै अनुबन्ध गरेको हो ।

जमैकाले आफ्नो विदेशी खेलाडीको नाम थप सार्वजनिक गर्ने क्रममा पाकिस्तानका इमाद वासिम, मोहम्मद आमिर, अस्ट्रेलियाका क्रिस गिन र दक्षिण अफ्रिकाका मिगेल प्रिटोरियसलाई अनुबन्ध गरेको जनाएको छ । 

गत सिजनमा पाकिस्तानका बायाँहाते बलर आमिरले बाबार्डोस रोयल्सबाटै प्रतिस्पर्धा गर्दा १३.५४ इकोनोमी रनरेटमा ११ विकेट लिएका थिए । गत संस्करण उनी ट्रिन्बागो नाइट राइडर्समा अनुबन्ध भएका थिए । यसै समयमा नेपाली राष्ट्रिय टोलीको ओमान भ्रमण परेकाले सन्दीपले सिपिएलमा सहभागिता जनाउन पाएनन् । 

दोस्रोपटक जमैकामा जोडिए
सन्दीपले जमैकाबाट दोस्रोपटक खेल्न लागेका हुन् । सन्दीपले सिपिएलमा प्रतिस्पर्धा गर्न लागेको यो चौथोपटक हो । यसअघि सन्दीपले जमैका, बार्बाडोस तथा सेन्ट किट्स एन्डबाट प्रतिस्पर्धा गरेका थिए । २०२१ को सिजनमा भने सन्दीप आबद्ध हुन सकेनन् । 

सन् २०१८ देखि २०२० सम्म तीन संस्करण सिपिएलको अनुभव बटुल्दा सन्दीपले २२ खेलमा २७ विकेट लिएका थिए । सन् २०२० को संस्करण सन्दीपको यादगार रह्यो । उनले त्यसवेला ११ खेलमा १२ विकेट लिएका थिए । सन्दीपले ५.२७ को औसतमा बलिङ गरेका थिए । मंगलबार मात्रै सन्दीप लंका प्रिमियर लिगमा ४४ हजार डलरमा दाम्बुला जायन्ट्समा अनुबन्ध भएका थिए । 

सन्दीप अहिले क्यानडामा छन् । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीका लागि नेपाली टोली क्यानडामा रहेको छ । क्यानडा भ्रमणपछि नेपाली टोली स्कटल्यान्ड जानेछ । त्रिकोणात्मक एकदिवसीयमा नेपाल, स्कटल्यान्ड र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ । स्कटल्यान्ड भ्रमणपछि सन्दीप लंका प्रिमियर लिगमा प्रतिस्पर्धा गर्न श्रीलंका जानेछन् ।

यसैबीच ८ असोजदेखि ५ कात्तिकसम्म नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा नेपाल टी–२० लिग हुँदै छ । क्यानले नेपाल टी–२० लिग होम तथा अवेको आधारमा आयोजना गर्ने तयारी गरेको छ । नेपाल टी–२० लिग समयमै भए सन्दीपले सिपिएल गुमाउन सक्ने सम्भावना छ ।