मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २२ बुधबार
  • Wednesday, 18 December, 2024
रत्न प्रजापति
२o७९ असार २२ बुधबार o८:१२:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

गरिखान खोज्नेका पीडा

Read Time : > 3 मिनेट
रत्न प्रजापति
नयाँ पत्रिका
२o७९ असार २२ बुधबार o८:१२:oo

निमुखा, निर्बल र निरीहलाई सबैले हेप्छन् । सरकारले पनि हेप्छ र दबाउँछ । आखिर किन ? १७ असारमा सडकमा मकै पोलेर बेच्ने दम्पती चेतेन्द्र र पत्नी सीता आचार्यलाई नगर प्रहरीले बलजफ्ती हटायो, उठायो । सामान जफत गर्‍यो । के गरिबहरू सहरको सौन्दर्यका दाग हुन् ? गरिबले सडकपेटीमा बसेर भिख माग्दा सहरको सौन्दर्यमा दाग लाग्छ र गरिबले सडकपेटीमा बसेर मकै पोलेर बेच्दा सहरको सौन्दर्य बिग्रिन्छ भन्ने सोचिन्छ भने गरिबहरूको आश्रयस्थल कुन हो ? गरिबलाई पनि मतदाता मान्ने राज्यले जनता मान्न किन यत्रो कन्जुस्याइँ ?

सहर ठगेर खानेहरूका लागि स्वर्ग बनेको छ । यहाँ काम गरेर खानेहरूलाई ठाउँ छैन भन्छ सरकार पनि । त्यसैले, सहरको सडकपेटीमा बसेर दुई–चार घोगा मकै पोलेर बेच्ने र त्यसैबाट भएको आर्जनले परिवार पाल्ने गरिबमाथि दिनदहाडै धरपकड गर्छ सरकारले । सरकार गरिबलाई विचल्लीमा पार्न हरबखत उद्यत् छ । अनि सहरचाहिँ गरिबको विचल्लीमा तमासे मात्रै बन्छ । 

एउटा ठेलागाडा राखेर सडकपेटीमा व्यापार गर्ने चेतेन्द्रजस्ता गरिबलाई नगर प्रहरी लगाएर उठाउन र हटाउन सक्ने शासकले वर्षौंदेखि यही सहरमा सार्वजनिकसँगसँगै निजी सम्पत्तिसमेत ओगटेर बसेका सुकुम्बासीलाई उठाउने वा हटाउने र उचित स्थानमा व्यवस्थापन गर्ने आँट नगर्नु विडम्बना हो । सडकपेटीमा दुई–चार घोगा मकै पोलेर बेच्ने गरिबले यो सहरको सौन्दर्यमा दाग लगाएका छन् भने गैरकानुनी कर्म गरेर ठुल्ठूला महल ठड्याएर बसेका ‘सम्भ्रान्त’ले अझ धेरै दाग लगाएका छन् । त्यतातिर ध्यान नदिने शासकहरू निमुखा, निर्बल र निरीह नागरिकमाथि खनिइरहनुको औचित्य के ?

काठमाडौं महानगरपालिकामा नयाँ पिँढीका, नयाँ सोच, नयाँ विचार र नयाँ दूरदृष्टिसहितका ऊर्जावान् युवा मेयर आएकामा अब त केही गरिखान पाइन्छ भन्ने आशा जागेको थियो चेतेन्द्रजस्तै गरिखान खोज्ने गरिबहरूमा । तर, पछिल्लो घटनाले फेरि पनि ठगिखानेहरूले नै प्रश्रय पाउने चिन्ता बढाएको छ । सुकिला लुगा लगाएर सार्वजनिक स्थलमै चुम्बन गर्दै हिँड्ने आधुनिक युवाका जोडीले सहरको सौन्दर्य बढाएको ठान्छन् सायद शासकहरू । सम्भ्रान्तको चुरीफुरीले मात्रै सहरको सौन्दर्य बढाएको अथवा धानेको ठान्छन् शासकहरू । त्यसैले तिनलाई हेरेर आफैँ पनि आत्मरतिमा रमाउँछन् र आफैँ सम्भ्रान्त बन्ने बाटो अवलम्बन गर्छन् । अनि वेला–वेलामा युवाका लागि डेटिङ स्पट र लभपार्क निर्माणको आवश्यकता औँल्याउँछन् । तर, गरिबले केही गरिखाने ठाउँबारेमा कहिल्यै सोच्दैनन् । कति कमजोर छ शासकहरूको मानसिकता र उनीहरूको दूरदर्शिता !

ठगेर, लुटेर र चोरेर खानेलाई प्रोत्साहित गर्छ शासकहरूको नीतिले । तर, गरिखानेलाई कुनै ठाउँ छैन सहरमा र केही नीति छैन सरकारसँग । सडकपेटीमा बसेर सानोतिनो व्यापार गर्दा सडक फोहोर हुन्छ भने त्यो फोहोर व्यवस्थापनको जिम्मा स्वयं व्यापारीलाई दिन सकिन्छ । उसबाट उचित कर पनि उठाउन सकिन्छ । यदि सडकपेटीमा बसेर व्यापार गर्दा आवतजावतमा समस्या हुन्छ भने त्यसको विकल्प सरकारले खोजिदिनुपर्छ । गरिखान्छु भन्नेलाई सरकारले गरिखाने अवसर र ठाउँ दिनुपर्छ । गरिबको पेसा–व्यवसायमाथि नै धाबा बोलेर उनीहरूको पेटमा लात हान्ने काम कसैबाट हुनुहुँदैन ।

सहर धनीहरूको मात्र हो भन्ने मानसिकता त्याग्नुपर्छ । सहर गरिबहरूको पनि हो । सधैँ गरिबलाई विभेद र वञ्चितिमा पार्ने कोसिस भइरह्यो भने गरिबको मनभित्रको असन्तुष्टि आक्रोशमा परिणत हुन सक्छ र अन्ततः त्यसले विद्रोहको रूप लिन सक्छ । विद्रोहको राँको यस्तै ससाना घटनाबाटै बल्ने हो । त्यसैले, यस्तो अवस्था नआउँदै राज्य सचेत हुनु जरुरी छ ।

गरिबले सडकपेटीमा बसेर भिख माग्दा सहरको सौन्दर्यमा दाग लाग्छ र गरिबले सडकपेटीमा बसेर मकै पोलेर बेच्दा सहरको सौन्दर्य बिग्रिन्छ भन्ने सोचिन्छ भने गरिबको आश्रयस्थल कुन हो ?

काठमाडौं महानगरको सौन्दर्य बचाउनकै लागि हुनुपर्छ, महानगरपालिकाले हालै एक सूचना जारी गर्दै काठमाडौं महानागरपालिका क्षेत्रभित्रका सडक, गल्ली, पार्क, सवारी बिसौनी स्थल, सरकारी कार्यालय वा कार्यालयको परिसर, सार्वजनिक सवारीसाधन र अन्य सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध गरेको छ । सूचना उल्लंघन गरेमा सम्बद्ध सरोकारवाला निकायको समन्वय र सहकार्यमा मुलुकी अपराध संहिता २०७४ को दफा १२६, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित कानुनबमोजिम कारबाही गरिने जनाइएको छ ।

सूचनामा असहाय, बिरामी, बेवारिसे, अशक्त तथा सडक सहयोगापेक्षी मानवको यथोचित तथा मानवीय व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन गर्दै आएको पनि जनाइएको छ । महानगरको यस्तो कार्य स्तूत्य भए पनि मानव सेवा आश्रमको क्षमता कति छ, जसले महानगरभित्रका सबै भिक्षार्थी तथा सहयोगापेक्षीहरूको व्यवस्थापन गर्न सक्छ ? यो अहम् प्रश्नको समाधान नखोजी कानुन लगाएर गरिब, असहाय, निमुखा, निर्बल र निरीहलाई महानगरबाट लखेट्ने नीतिले थोरैलाई खुसी पारे पनि धेरैलाई दुःखी र आक्रोशित बनाउनेछ । ताजा घटनाको सामाजिक सञ्जालमा भइरहेको विरोध र उत्पन्न आक्रोशले पनि उपर्युक्त तथ्यलाई इंगित गरेको छ । काठमाडौं महानगरले यो यथार्थको मनन गर्नु जरुरी छ ।

यसो त पशुपति क्षेत्रलाई ०७४ देखि नै सहयोगापेक्षी मानवरहित घोषणा गरिसकिएको छ । यससँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, काठमाडौं महानगरपालिका र विभिन्न परोपकारी–सामाजिक संघसंस्थासँगको समन्वयमा काठमाडौंलाई नै सहयोगापेक्षीरहित बनाउने अभियान पनि यसअघि नै सुरु भइसकेको छ । सम्भवतः सबैभन्दा ठूलो अभिशाप भनेको गरिबी नै हो । गरिबीले नै मानिसलाई निकृष्ट भनिएको काम गर्न बाध्य बनाउँछ । गरिबीले नै मानिसलाई मागेर खान र मारेर खान पनि बाध्य बनाउँछ । जतिसुकै गरिब भए पनि जिजीविषा मर्दैन । त्यसैले बाँच्नकै लागि मानिस अनेक गर्न तत्पर हुन्छन् । त्यसमध्ये माग्नु एउटा उत्तम विकल्प हो । चोर्नु, ठग्नु अथवा लुट्नुभन्दा विनम्रतापूर्वक माग्नु सम्पत्तिका नाममा एउटा ज्यान मात्रै भएका गरिबका लागि उत्तम विकल्प नै हो । माग्नेलाई माग्ने हक छ भने गरिखानेलाई अझ बढी हुनुपर्छ त्यस्तो हक । गरिखान खोज्नेलाई रोक्नु भनेको अपराधी बन्न प्रेरित गर्नु हो । 

नेपालको संविधान २०७२ को धारा १६ र १७ ले क्रमशः सम्पूर्ण नेपाली नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने हक र स्वतन्त्रताको हक प्रदान गरेको छ । जसअनुसार सम्पूर्ण नेपाली नागरिकलाई नेपालको कुनै पनि भागमा पेसा, रोजगार गर्ने र उद्योग, व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रता प्राप्त छ । ठूलो लगानीमा ठूलै उद्यम गर्न नसक्ने भएकाले ससाना इलम गरेर जीविकोपार्जन गर्ने गरिबलाई निश्चित स्थान र समय तोकेर आफ्नो व्यापार–व्यवसाय गर्न दिने दीर्घकालीन समाधान नखोजी कसैको सनक र आदेशको भरमा गरिबको सम्पत्ति खोस्ने र मास्ने काम कसैले पनि नगरोस् ।