कृषिलाई उच्च महत्व दिई पर्याप्त बजेट विनियोजन गरी तर्जुमा गरिएका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन नगरिएसम्म कृषिको विकास अपेक्षित रूपमा हुन सक्दैन
देशभर मलको हाहाकार’ शीर्षकको समाचार र मलका लागि लामबद्ध किसानको तस्बिरले कृषि र किसानको पक्षमा केही लेख्न प्रेरित गर्यो । नेपाल कृषिप्रधान देश हो भनेर सुन्दै र पढ्दै आएको हो । देशको कुल गार्हस्थ उत्पादनमा कृषिको बढी हिस्सा र अधिकतम रोजगारीको आधार कृषि भएकाले नेपाललाई कृषिप्रधान देश भनिएको हुनुपर्छ । अझै पनि देशमा झन्डै ६५ प्रतिशत रोजगारी कृषिमा आधारित छ भने कुल गार्हस्थ उत्पादनमा कृषिको हिस्सा २५ प्रतिशतभन्दा बढी छ ।
कृषिप्रधान देश भनिए पनि सरकारी नीति तथा कार्यक्रममा कृषिले प्राथमिकता पाउन सकेको छैन । कृषिलाई प्राथमिकतामा राखिएको भनेर राज्यले ढाँट्दै आएको छ । राज्यबाटै हेपिएको छ कृषि र किसान । नीति निर्माणका वेला न किसानलाई सम्झिने गरिन्छ, न त कृषिको अवस्थालाई नै । तर, भाषणमा चाहिँ अझै पनि देशलाई कृषिप्रधान भन्न छोडिएको छैन । कृषिलाई बिर्सेर आर्थिक समृद्धि हासिल हुँदैन भन्न पनि छाडिएको छैन ।
कहिलेकाहीँ नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकतामा राखे पनि बजेट विनियोजनका वेलाचाहिँ कृषिलाई बेवास्ता गरिएको प्रस्ट देखिन्छ । कृषिलाई उच्च महत्व दिई पर्याप्त बजेट विनियोजन गरेर तर्जुमा गरिएका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन नगरिएसम्म कृषिको विकास अपेक्षित रूपमा हुन सक्दैन । आर्थिक वर्ष ०५९÷६० देखि ०७८÷७९ को २० वर्षको अवधिमा कुल विनियोजित राष्ट्रिय बजेटमा कृषिका लागि औसतमा २.८० प्रतिशत मात्र बजेट विनियोजन गरिएको छ । कृषि राज्यबाटै हेपिएको छ भन्ने यो दह्रो प्रमाण हो । यति थोरै बजेट विनियोजन गरेर कृषिमा ठूलो उपलब्धिको अपेक्षा गर्नु बेकार हो ।
वैदेशिक रोजगारीमा वृद्धि भएसँगै रेमिट्यान्स आप्रवाह पनि बढेको छ । रेमिट्यान्सले गर्दा धेरै नेपालीको क्रयशक्ति बढेको छ । क्रयशक्ति बढेसँगसँगै उपभोग संस्कृतिमा पनि वृद्धि भएको छ । यसले गर्दा खाद्यान्नको माग बढेको छ । तर, आन्तरिक उत्पादन न्यून हुँदा आयातमा भर पर्नुपरेकोे छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ०७७÷७८ मा कुल ७९ अर्ब ५९ करोड २८ लाख रुपैयाँबराबरको खाद्यान्न आयात भएको छ भने ३८ अर्ब ५० करोड ६ लाख रुपैयाँबराबरको तरकारी आयात भएको छ । चालू आर्थिक वर्षको पहिलो चार महिनामा मात्रै २२ अर्ब ५७ करोड १० लाख रुपैयाँबराबरको खाद्यान्न आयात भएको छ भने १६ अर्ब नौ करोड ८७ लाख रुपैयाँबराबरको तरकारी आयात भएको छ । कृषिप्रधान भनिएको देशमा खाद्यान्नलगायत कृषिजन्य वस्तु आयातमा वृद्धि हुनु विडम्बना नै हो ।
पर्याप्त कृषि ऋण प्रवाह नहुँदा कृषिको आन्तरिक उत्पादन वृद्धि हुन नसकेको समाचार पनि आएका छन् । तर, कारण यो मात्रै पनि होइन । कृषिका लागि अत्यावश्यक सेवा, सुविधा र सहुलियतमा राज्यले बेवास्ता गर्दाको परिणाम हो, कृषिमा न्यून आन्तरिक उत्पादन । राज्यले कृषिलाई उपेक्षा गर्नुको परिणाम हो खाद्यान्नलगायत कृषिजन्य वस्तुको आयातमा निरन्तर भइरहेको वृद्धि । कुल वैदेशिक व्यापारमा आयातको परिमाण अत्यधिक हुँदा व्यापारघाटा चुलिँदै गएर देशको अर्थतन्त्र नै जोखिममा परेको अवस्था छ ।
खेतीका वेला किसानले मल र बिउ माग्छन्, राज्यले दिन सक्दैन । सिँचाइ सुविधा माग्छन्, त्यो पनि दिन सक्दैन । उत्पादन भएको कृषिवस्तुको प्रशोधन, भण्डारण र बिक्री–वितरणको माध्यम खोज्छन् किसानले । राज्यले त्यसको पनि व्यवस्था गर्न सक्दैन । आफ्नो उत्पादन कौडीको भाउमा बिचौलियालाई बेच्न विवश छन्, देशका अधिकांश किसान । राज्यले किसानको उत्पादन खरिद गर्ने नीति र योजनालाई कार्यान्वयन गर्न सकेको छैन । बरु किसानबाट कृषिवस्तु खरिद गर्नुको साटो बिचौलियाबाट खरिद गर्छ राज्यले । अनि नाफा अथवा फाइदाजति तिनै बिचौलियाले पाउँछन् । अलि–अलि कमिसन सरकारी कर्मचारीले पाउँदा हुन् । किसानचाहिँ सधैँ मर्कामा छन् । उत्पादन लागत पनि पाउन नसकेर किसान कृषिबाटै विमुख हुने अथवा पलायन हुने अवस्था छ । किसानमा कृषिप्रति अपनत्व र आकर्षण क्रमशः घट्दै छ । यो चिन्ताको विषय हो ।
कृषिका लागि चाहिने मल, बिउ र औजारमा सय होइन, हजारौँ प्रतिशत मूल्यवृद्धि हुँदा पनि कसैले चुँक्क बोल्दैनन् । तिनै किसानले उत्पादन गरेको वस्तुमा दुई रुपैयाँ मूल्यवृद्धि भयो भने रेडियो र टिभीले फलाक्छन् । पत्रपत्रिकामा भँगेराटाउके अक्षरमा समाचार छापिन्छन् । सधैँ कृषिवस्तुकै मूल्यवृद्धि समाचार बन्छ । के अरू वस्तुमा चाहिँ अहिलेसम्म मूल्यवृद्धि भएकै छैन ? होटेल र रेस्टुराँमा खाएर सयको नोट टिप्स दिएर हिँड्ने ग्राहकले सडकमा साग बेच्न बसेको किसानलाई बीस रुपैयाँ पर्ने सागको मुठालाई दश रुपैयाँ फालेर हिँड्छन् । के यो किसानको शोषण होइन ? किसानमाथिको घोर अन्याय होइन ? सोचौँ र सोच बदलौँ । कृषिलाई हेपेर समृद्धि सम्भव हुँदैन ।