मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १७ बुधबार
  • Wednesday, 18 December, 2024
रत्न प्रजापति
२o७८ कार्तिक १७ बुधबार o७:१३:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

आधुनिकताको अतिक्रमणमा देउसी–भैलो

Read Time : > 2 मिनेट
रत्न प्रजापति
नयाँ पत्रिका
२o७८ कार्तिक १७ बुधबार o७:१३:oo

नेपाली संस्कृतिमा तिहार भन्नेबित्तिकै देउसी–भैलोको सम्झना आइहाल्छ । देउसी–भैलो खेलेर संकलन गरिएको दक्षिणा (रकम)बाट गाउँठाउँमा सामाजिक कल्याणका थुप्रै काम भएका उदाहरण छन् । सामुदायिक विद्यालय भवन, स्वास्थ्यचौकी, पाटी–पौवा, बाटो–घाटो, कुलो–कुलेसा र पुल–पुलेसा निर्माण तथा मर्मतका कार्यहरू भएका छन् । सामाजिक कल्याणको उद्देश्यले देउसी–भैलो खेल्दा संस्कृतिको जगेर्ना त भएको छ नै, समाज आफैँ पनि लाभान्वित भएको छ । 

पछिल्लो समय भने सांस्कृतिक अतिक्रमण र हस्तक्षेपको सिकार भएको छ देउसी–भैलो पनि । मौलिक देउसी–भैलोको उद्देश्य र तौरतरिकासमेत फेरिएको छ । आधुनिकताको नाउँमा देउसी–भैलोको मौलिक संस्कृति नै विकृत बन्दै गएको छ । संस्कृति संरक्षण सँगसँगै समाज कल्याणको उद्देश्यले खेलिने देउसी–भैलो अहिले नितान्त अर्थमुखी र बेथितिपूर्ण बन्दै गएको छ । देउसी–भैलोको परम्परागत लय र भाकालाई आधुनिक गीत–संगीतले खर्लप्पै निलेको छ । देउसी–भैलोको आफ्नै मौलिक भाका छ । तर, अहिले त्यो भाकालाई पछ्याउने वा त्यसलाई टपक्क टिपेर भट्याउन सक्ने युवाको संख्या नगण्य छ । हाहुमै खेलिन्छ देउसी–भैलो अहिले । देउसी–भैलोलाई सजिलै हाहुमा खेल्न सकिने बनाइदिएको छ आधुनिक प्रविधि र आधुनिक गीत–संगीतले ।

देउसी–भैलोको परम्परागत मौलिक भाका भट्याउनेलाई ‘पाखे’ भन्छ अहिलेको पुस्ताले । प्रविधिको प्रयोगले देउसी–भैलोलाई आधुनिकीकरण त गरिदिएको छ, तर यसको मौलिकता भने संकटमा परेको छ । मादल, बाँसुरी, खैँजडी, मुजुरालगायतका मौलिक नेपाली बाजागाजा प्रयोग गर्दै हातले ताली बजाउँदै आफ्नै गाउँठाउँको स्थानीयपन झल्काउने भाकामा गीत गाउँदै छमछमी नाचेर खेलिने देउसी–भैलोलाई अहिलेको आधुनिक गीत–संगीतले ओझेलमा पारिदिएको छ । देउसी–भैलोको परम्परागत भाका भट्याउनु अथवा स्थानीय जीवनशैलीको प्रतिनिधित्व हुने गरी मन छुने गीत गाउन सक्ने प्रतिभाको कमी छ अहिले । परम्परागत भाका भट्याउनु अथवा स्थानीय जीवनशैलीको प्रतिनिधित्व हुने गरी मन छुने गीत गाउनुको सट्टा अंग्रेजी, हिन्दी र नेपाली चल्तीका गीत बजाएर झाँक्री उफ्रेजसरी उफ्रेर नाच्ने र गाउने अहिलेको देउसी–भैलोले हाम्रो मौलिक देउसी–भैलोलाई विस्थापन नै गर्न लागिसकेको छ । मादल र खैँजडीको आवाज कानमा नपरेसम्म देउसी–भैलोको महसुस नै नहुने अनुभव हाम्रा बूढापाकाहरू अझै पनि सुनाउने गर्छन् । तर अब कहाँ छन् ती मादल र खैँजडीको तालमा छमछम नाचेर देउसी–भैलो खेल्ने युवा ! सब आधुनिक भइसके, आधुनिक बनिसके । परम्परालाई बिर्सिसके । आफ्नै चिनारी भुलिसके । 

आधुनिकताका नाममा भइरहेको सांस्कृतिक अतिक्रमण र राज्यपक्षबाटै हुने गरेको हस्तक्षेपले मौलिक पर्व तिहारको एउटा महत्वपूर्ण पाटो रहँदै आएको मौलिक देउसी–भैलो लोप हुने सम्भावना बढ्दै गएको छ
 

टोल र गाउँका युवायुवती मिलेर सामूहिक रूपमा खेलिने देउसी–भैलो अहिले केही उच्छृंखल युवा जमातको पेवाजस्तै भएको छ । त्यस्तै, उच्छृंखल जमात अथवा कुनै पार्टीका भ्रातृ संगठनका कुनै युवा समूहको देउसी–भैलोमा सीमित हुन पुगेको छ अहिलेको देउसी–भैलो । उच्छृंखल पाराले देउसी–भैलो खेलेर संकलन भएको दक्षिणा पिकनिक–पार्टीमा जाँडरक्सी खाएर सकाउने अथवा पार्टीलाई चन्दा दिने काममा प्रयोग हुने भएकाले अचेलको देउसी–भैलोले पहिलेजस्तो सामाजिक कल्याणको उद्देश्य पनि बोकेको पाइँदैन । सामाजिक कल्याणको कार्य गर्न आर्थिक स्रोत जुटाउने उद्देश्यले सामूहिक रूपमा खेलिने देउसी–भैलो कुनै संघसंस्था अथवा समूहको सीमित आर्थिक स्वार्थका लागि खेल्न थालेपछि देउसी–भैलोप्रति स्थानीयको रुचि र सहभागिता पनि घट्दै गएको छ । रुचि र सहभागिता घट्नाले मौलिक देउसी–भैलो लोपको सँघारमा पुगेको छ भने आधुनिक देउसी–भैलोले जरा गाड्ने सम्भावना बढ्दै गएको छ । 

लोकतन्त्रका वेलामा बलिराजाको नाम जपिरहनु सान्दर्भिक नभएर पनि हो कि, राज्य स्वयं पनि अनेक बहानामा मौलिक पर्व तिहारको एउटा मुख्य अंगका रूपमा रहेको देउसी–भैलोलाई सकेसम्म नियन्त्रण गर्ने पक्षमा देखिन्छ । पहिला टाढा–टाढासम्म गएर रातभर खेलिने देउसी–भैलोलाई अहिले शान्तिसुरक्षाका नाममा राति अबेरसम्म खेल्न नपाइने सरकारी नियमले गर्दा देउसी–भैलो खेल्ने उत्साहमै कमी आएको देखिन्छ । एकातिर आधुनिकताको नाममा भइरहेको सांस्कृतिक अतिक्रमण र राज्यपक्षबाटै हुने गरेको हस्तक्षेपले मौलिक पर्व तिहारको एउटा महत्वपूर्ण पाटोका रूपमा रहँदै आएको देउसी–भैलो लोपै हुने सम्भावना बढ्दै गएको छ । 

देउसी–भैलोले सामाजिक सद्भावलाईसमेत संवद्र्धन गर्दै आएको परिप्रेक्ष्यमा यसलाई कायम राख्न युवा पुस्तामा देखिएको पश्चिमी संस्कृतिप्रतिको आकर्षण र बढ्दो सांस्कृतिक अतिक्रमण र हस्तक्षेपलाई कम गर्नेतर्फ समाजका अगुवा र विशेष गरी संस्कृतिकर्मीहरूले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता टड्कारो देखिएको छ । राज्यस्तरबाटै युवा पुस्तालाई आफ्नै मौलिक संस्कृतिप्रति मोह जगाउने कार्ययोजना बनाई कार्यान्वयन गर्नसके संस्कृति संरक्षणमा ठूलो टेवा पुग्नेछ । देउसी–भैलोबाट सामाजिक सद्भाव बढोस् र सामाजिक कल्याणको काम पनि होस् भन्ने मनोकांक्षा राखेर यसलाई प्रवद्र्धन गर्न अब स्थानीयस्तरमै अभियान थाल्नु वाञ्छनीय हुनेछ ।