मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २१ मंगलबार
  • Thursday, 19 December, 2024
२o७९ असार २१ मंगलबार १o:२८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

श्रीमानले धोका दिएर भागेपछि तीन महिनाकी सुत्केरी र बच्चाको बिचल्ली 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार २१ मंगलबार १o:२८:oo

अन्तर्जातीय प्रेमविवाह गरेका प्रेमीले गरिब भन्दै धोका दिएपछि तीन महिनाकी सुत्केरी युवती र उनको शिशु अलपत्र परेका छन् । मोरङको सुन्दरहरैँचा नगरपालिका– ११ शुक्रबारे माइती भएकी निर्मला दनुवारलाई प्रेमविवाह गर्ने  प्रेमीले अचानक छाडेपछि तीन महिनाकी छोरी र उनी अलपत्र परेका हुन् ।  

सँगै मर्ने सँगै बाँच्ने  वाचा गरेर भगाएर प्रेमविवाह गरेका प्रेमी मनीष साह नामका युवाले धोका दिएपछि निर्मला अहिले तीन महिनाको काखेछोरी च्यापेर न्यायका लागि नेता र विभिन्न संघसंस्थाको दैलो चहारिरहेकी छिन् ।    

गिटी कुटेर खाने सुकुमबासी परिवारकी उनले एक वर्ष पहिले छिमेकी युवा मनीष साहको प्रेमजालमा परेर भागी विवाह गरेकी थिइन् । विवाह गरेर लगेका प्रेमी मनीषले छोरी जन्माएर अलपत्र छाडिदिएपछि उनको बिचल्ली भएको स्थानीय कुमार मिजारले बताए । 

स्थानीय समाजसेवी र महिला अधिकारकर्मीहरूले युवतीलाई केटाको घरमा भित्र्याउन दबाब पनि दिएका थिए । तर, केटा नै बेपत्ता भएकाले निर्मला प्रेमीको घरभित्र प्रवेश गर्न पाइनन् । केटा पक्षले हामीलाई केही थाहा छैन, हाम्रो छोरा नै गायब पारिएकाे छ भन्दै अड्को थापेपछि अधिकारकर्मीहरू पछि हटेका हुन् । हाल निर्मला तीन महिनाकी काखेछोरी च्यापेर जेनतेन माइतीको शरणमा बसिरहेकी छिन् । 

युवतीका अनुसार प्रेमविवाह गरेर गएका उनीहरूलाई केटाका आफन्तले पहिले पनि छुटाउने प्रयत्न गरेका थिए । तर, केटाले मानेका थिएनन् । तर, पछि घर बोलाएर दबाब दिएर आफ्नो पतिलाई बेपत्ता बनाएको पीडित युवती निर्मलाको  भनाइ छ । उनले आफ्नो छोरीको बाबु मनीष नै भएको भन्दै खोजतलास गरिदिन इलाका प्रहरी कार्यालयमा सोमबार उजुरी पनि दिएकी छिन् ।  केटा पक्ष धनी र माथिल्लो जातको भएकाले आफन्तले छुटाउने प्रयत्न गरेको उनको भनाइ छ । 

केटाका हजुरबुबा तथा सुन्दरहरैँचा नपा– ११ वडासदस्य जीवनाथ ढकालले पटक–पटक विवाहबारी भइसकेकी युवतीले कक्षा ११ मा पढ्दै गरेको आफ्नो नाबालक नातिलाई फसाएर उल्टै बिचल्ली बनाएको आरोप लगाए । केटीकै कारण आफ्नो नाति हाल गायब भएको उनको भनाइ छ । उनले भने, ‘जबर्जस्ती कानुनले जिम्मा लगाउन मिल्दैन, अब न्यायालयले जे भन्छ त्यही स्वीकार गर्छौँ ।’      

इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर खगेन्द्र धमलाले तीन महिनाकी सुत्केरीलाई अलपत्र पारेको भनेर खोजतलास गरिदिन उजुरी आएपछि आफूहरू केटाको खोजीमा लागिसकेको बताए । उनका अनुसार आमा बनेकी निर्मला र उनका प्रेमी दुवैको कानुनअनुसार विवाह गर्ने उमेर पुगेकाे छैन ।