लमजुङमा पहिलोपटक आयोजना गरिएको प्रथम महिला फुटसलको उपाधि एक्स–गोर्खा कास्कीले जितेको छ । फाइनल खेलमा मिनाङ लांघाली बेँसीसहर नगरपालिका- २ लाई ३–० गोलले हराउँदै एक्स–गोर्खा कास्कीले उपाधि जितेको हो । उपाधिसहित एक्स–गोर्खाले ३० हजार पुरस्कार जितेको छ ।
प्रतियोगितामा उपविजेता मिनाङ लांघाली बेँसीसहरले १५ हजार प्राप्त गरेको छ । प्रतियोगितामा उत्कृष्ट किप्पर एक्स–गोर्खाका झरना राई, सर्वाधिक गोलकर्ता मिनाङ लांघालीका सम्झना शर्मा र उत्कृष्ट खेलाडी बाघेताका मनीषा थापामगर घोषित भएका छन् । उनीहरूले जनही एक हजार पुरस्कार पाएको आयोजक लमजुङ फुटसलका सञ्चालक केशबहादुर रानाले बताए ।
प्रतियोगितामा लमजुङसहित काठमाडौं, कास्की र तनहुँका गरी आठ टिमको सहभागिता रहेको थियो । जिल्लामा पहिलोपटक ‘हाम्रो गोल–महिला हिंसाविरुद्धको बोल’ भन्ने नाराका साथ प्रथम महिला फुटसल प्रतियोगिता आयोजना गरिएको हो ।