एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी नवनियुक्त मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त चार मन्त्रीलाई आज दिउँसो ११ बजे राष्ट्रपति कार्यालय र प्रधानमन्त्री शेरबहादुर देउवाले एक राज्यमन्त्रीलाई सिंहदरबारस्थित कार्यालयमा शपथ गराउने कार्यक्रम रहेको जनाइएको छ ।
नयाँ मन्त्रीमा जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शेरबहादुर कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् । त्यसैगरी, राज्यमन्त्रीमा हिराचन्द्र केसी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छन् ।
राष्ट्रपति भण्डारीले गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषदमा प्रधानमन्त्रीको सिफारिसमा आइतबार हेरफेर गरेका हुन् ।