१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १३ सोमबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १३ सोमबार o६:१o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दोहोर्‍याएर मेयर भएका यादवलाई एक महिनामै भ्रष्टाचार मुद्दा

रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयर, तत्कालीन उपमेयर, ११ मध्ये नौ वडाध्यक्ष र दुई निमित्तसहित तीन प्रमुख प्रशासकीयविरुद्ध विशेष अदालतमा मुद्दा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १३ सोमबार o६:१o:oo

दोहोर्‍याएर मेयर भएका रौतहटको फतुवा विजयपुर नगरपालिकाका प्रमुख गोपाल राय यादव निर्वाचित घोषित भएको एक महिनामै निलम्बित भएका छन् । उनी दोस्रोपटक प्रमुखमा निर्वाचित भएका थिए ।  भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । यससँगै उनी स्वतः निलम्बनमा परेका छन् । उनी गत १२ जेठमा प्रमुखमा निर्वाचित भएका थिए । यससँगै उनी स्थानीय तहको दोस्रो निर्वाचनपछि आयोगले भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको पहिलो मेयर (प्रमुख) बनेका छन् । 

लालबकैया नदीको ढुंगा, गिटी, बालुवाको ठेक्कामा अनियमितता गरेको आरोपमा आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो । नगर कार्यपालिका बैठकले गरेको निर्णय कार्यान्वयन नगरी कानुनविपरीत ठेक्का लगाएर अनियमितता गरेको आरोप उनीविरुद्ध आयोगले लगाएको छ । ठेक्कासम्बन्धमा १५ पुस ०७५ मा नगर कार्यपालिकाको बैठकले निर्णय गरे पनि त्यसलाई कुल्चेर यादवले आफूखुसी ठेक्का लगाएका थिए । सबैभन्दा बढी बोलकबोल गर्ने बोलपत्रदाताले सम्झौता गर्न नमानेपछि दोस्रो बढी बोलकबोल गर्ने बोलपत्रदातालाई सम्झौता गर्न बोलाउने र पहिलो बढी बोलकबोल गर्ने बोलपत्रदाताको धरौटी जफत गर्नुपर्नेमा नगरी नगरपालिकाले अमानतबाट राजस्व संकलन गरेको थियो ।

१७ चैतमा नगर कार्यपालिकाको बैठकबाट धरौटी फिर्ता दिने निर्णय प्रमुख यादवले नगर कार्यपालिकाबाट गरेका थिए । जसकारण नगरपालिकाको आन्तरिक आयमा एक करोड ५३ लाख ५० हजार नोक्सानी भएको आयोगको ठहर छ । यही निर्णय प्रक्रियामा संलग्न वडाध्यक्षलगायतका जनप्रतिनिधिलाई पनि आयोगले प्रतिवादी बनाएको छ । उनीहरूविरुद्ध नोक्सानी भएबराबरको एक करोड ५३ लाख ५० हजार रकमलाई बिगो कायम गरिएको छ । 

आयोगले कर्मचारीहरूलाई पनि मुद्दा लगाएको छ । ठेक्का लगाउने सम्बन्धमा १५ पुसको नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गराउन बेवास्ता गरेको, सात दिनको म्याद सकिँदासम्म पनि सम्झौता गर्न नआउने ठेकेदारलाई कारबाहीको प्रक्रिया अघि बढाउन धरौटी जफत नगरेको, पहिलो बोलकबोल गर्ने बोलपत्रदातालाई सम्झौताका लागि बोलाउनुपर्ने कानुनी व्यवस्थाविपरीत अमानतबाट राजस्व संकलन जारी राखेको र धरौटी जफत गर्न पहल नगरेकोलगायतका आरोप आयोगले कर्मचारीविरुद्ध लगाएको छ । कर्मचारीविरुद्ध पनि नोक्सानी भएबराबरको एक करोड ५३ लाख ५० हजार रकमलाई बिगो कायम गरिएको छ ।

नगर प्रमुख गोपाल राय यादव, तत्कालीन नगर उपप्रमुख कान्ति देवी, वडा नम्बर १ का पूर्वअध्यक्ष सञ्जय प्रसाद, वडा नम्बर २ का पूर्वअध्यक्ष भविछन राय यादव, ३ का पूर्वअध्यक्ष दीपनारायण साह, ५ का वडाध्यक्ष शेख एजाज अहमद, ६ का पूर्वअध्यक्ष हिरा राय यादव, ८ का पूर्वअध्यक्ष र हालका नगर कार्यपालिका सदस्य उमाशंकर साह कलवारविरुद्ध मुद्दा दर्ता भएको छ । यस्तै, ९ का पूर्वअध्यक्ष दीपनारायण चौधरी, १० का पूर्वअध्यक्ष योगेन्द्रप्रसाद चौधरी, ११ का वडाध्यक्ष ज्ञानेन्द्र चौधरी, नगर कार्यपालिकाका तत्कालीन नगर कार्यपालिका सदस्य लक्ष्मण साह कानु, तत्कालीन नगर कार्यपालिका सदस्य सुन्दरी माझी, तत्कालीन नगर कार्यपालिका सदस्य र हाल वडा नम्बर ७ का वडासदस्य जिरनी देवी, तत्कालीन नगर कार्यपालिका सदस्य फुलकुमारी देवी, सञ्जुदेवी जयसवाल, शशिकुमार साह र रवीन्द्रकुमार निधिविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सागरकुमार रोका, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोकुल ढुंगेल, निमित्त प्रमुख प्रशासकीय अधिकृत रञ्जना साहविरुद्ध पनि अख्तियारले अदालतमा मुद्दा दायर गरेको छ ।