१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १२ आइतबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १२ आइतबार १३:o१:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

थिएटर भिलेजले जगदीश घिमिरेको ‘साबिती’ मञ्चन गर्ने

भारतीय रंगकर्मी अनुराधा काठमाडौंमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १२ आइतबार १३:o१:oo

थिएटर भिलेजले चर्चित साहित्यकार जगदीश घिमिरेको कथा ‘साबिती’मा आधारित भएर नाटक मञ्चन गर्ने भएको छ। विमल सुवेदीको डिजाइन र निर्देशन तथा जेनी सुनुवारको सहायक निर्देशनमा आगामी असार १७ देखि १९ सम्म शिल्पी थिएटरमा नाटक मञ्चन हुनेछ।

नाटकको प्रमुख भूमिकामा चर्चित भारतीय रंगकर्मी अनुराधा मजुमदार छिन्। अनुराधाले खुमा र बाँकी उज्यालोजस्ता उत्कृष्ट नाटकमा अभिनय गरिसकेकी छिन्। उनी काठमाडौं आइसकेको र नाटकको तयारी तीव्र गतिमा भइरहेको थिएटर भिलेजले जनाएको छ। नाटकमा अनुराधाका साथै सुजन वली र साजनकुमार सुनुवारको पनि अभिनय रहनेछ।

धेरै पहिले लेखिएको भए पनि ‘साबिती’ कथाले समाजमा विद्यमान विविध विसंगतिको असली स्वरूप देखाउने यसका निर्देशक विमल सुवेदी बताउँछन्। उनका अनुसार यो कथा नाटकमा प्रस्तुत भएको हेर्ने जगदीश घिमिरेको ठूलो धोको थियो। तर, पहिलो प्रस्तुति रोकिएपछि पुनः यसको प्रस्तुति हुनुभन्दा पहिले नै उनी बितेपछि आफ्नो मनमा गहिरो चोट बसेको निर्देशक सुवेदी बताउँछन्। 

‘नेपाली रंगमञ्चमा धेरैजसो विदेशी नाटकको अनुवाद मात्र गरिने हुँदा थिएटर भिलेजले नेपाली नाटक तथा साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा लैजाने आफ्नो उद्देश्यअनुरूप पहिलो कदमका रूपमा यसै नाटक मञ्चन गर्ने संकल्प गरेका थियौँ,’ उनी सम्झन्छन्।

अभिनयका लागि हाल नेपालमा रहेकी रंगकर्मी तथा हरियाणास्थित स्टेट युनिभर्सिटी अफ पर्फर्मिङ एन्ड भिज्युअल आर्टसको अभिनय विभाग प्रमुख अनुराधा यस कथाले अनेकौँ आयातीत वाद र विश्वव्यापीकरणमा अडेस लागेका ती स्वरूप अनि त्यसकै आडमा रहेका पितृसत्ता, सामाजिक विभेद, राजनीतिक विसंगति, अनि शिक्षा र स्वास्थ्यको संवेदनाहीन कालो व्यापारीकरणलाई उदांगाे पारेको बताउँछिन्। त्यो अवस्था भारत र नेपालमा खासै फरक नरहेको उनको बुझाइ छ।

मूल कथा पुरुष पात्रको पक्षबाट लेखिएको भए पनि नाटकले महिला पात्रलाई केन्द्रमा राखी महिला पात्रहरू कसरी असमान सामाजिक संरचनाको कठघरामा उभ्याएको छ भन्ने पक्ष आफूलाई सबैभन्दा सुन्दर लाग्ने उनी बताउँछिन्।