मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १२ आइतबार
  • Saturday, 21 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १२ आइतबार १o:o९:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सात स्टार्टअपमा साढे २४ करोड लगानी गरिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १२ आइतबार १o:o९:oo

परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको ‘स्टार्टअप फेस्ट २०२२’ मा इक्विटी लगानी गर्न प्रारम्भिक सम्झौता

सातवटा स्टार्टअपले साढे २४ करोड रुपैयाँ सुरुवाती पुँजी लगानी प्राप्त गर्ने भएका छन् । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले शनिबार आयोजना गरेको ‘स्टार्टअप फेस्ट’मा सहभागीमध्ये उत्कृष्ट स्टार्टअपले पुँजी पाउने भएका हुन् । स्टार्टअपका परियोजनामा इक्विटी लगानी गर्न प्रारम्भिक सम्झौता भएको हो ।

काठमाडौंस्थित होटेल सोल्टीमा भएको ‘नेपाल स्टार्टअप फेस्ट २०२२’को अन्तिम प्रतिस्पर्धामा पुग्न सफल स्टार्टअपसँग प्रारम्भिक लगानीको सम्झौता भएको हो । स्वपुँजी लगानीसम्बन्धी प्रारम्भिक सम्झौता भएका स्टार्टअपहरूमा भक्सक्रो, स्किल सेवा प्राइभेट लिमिटेड, टिम बेदा, खेती, डार्कम्याटर गेम प्रडक्सन, डिजिटल एज नेपाल, डक्टर्स अन कल रहेका छन् । यी स्टार्टअपमा टिम भेन्चर्स, ग्लोबल इक्विटी फन्ड, अध्यान्ता फन्ड म्यानेजमेन्ट, हिमालयन क्यापिटल र टेलिभेन्चर पार्टनरले प्रारम्भिक लगानी सम्झौता गरेको नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले जानकारी गराएको छ ।

मञ्चले स्टार्टअप फेस्टमा सहभागी हुन परियोजनासहित लगानी प्रस्ताव आह्वान गरेको थियो । नेपालकै सबैभन्दा ठूलो स्टार्टअप फेस्टमा देशभरबाट तीन सयभन्दा बढी परियोजना प्रस्ताव आएका थिए । त्यसमध्ये अन्तिम छनोटमा परेका परियोजनालाई फेस्टमा आफ्नो प्रस्तुति गर्ने अवसर दिइएको थियो । 

उक्त प्रस्तुतीकरणपछि सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालको उपस्थितिमा लगानीकर्ताले ती परियोजनामा इक्विटी लगानी गर्न प्रारम्भिक सम्झौता गरेका हुन् । स्टार्टअप फेस्टको समापन समारोहमा अर्थमन्त्री जनार्दन शर्माले अन्तिम छनोटमा परेका परियोजनालाई अवार्ड प्रदान गरे । उनले बजेटले स्टार्टअपलाई प्राथमिकतामा राखेको पनि बताए । त्यसअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले स्टार्टअप फेस्टको उद्घाटन गर्दै आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँगको सहकार्यलाई सरकारले उच्च प्राथमिकता दिएको बताए । युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न सरकार तयार रहेको उनले बताए ।

नेपाल उद्योग परिसंंघका अध्यक्ष विष्णुकुमार अग्रवालले स्टार्टअपलाई सबैभन्दा ठूलो चुनौती लगानीको रहेको बताए । नवीन सोच भएका स्टार्टअपलाई लगानी जुटाउने उद्देश्यले नै फेस्ट आयोजना गरिएको उनले जानकारी दिए । ‘नवीन सोच भएका युवाहरूलाई प्रोत्साहन गर्नका लागि नै यो कार्यक्रम आयोजना गरेका हौँ,’ उनले भने, ‘यहाँ सहभागी प्रत्येक परियोजना अगाडि बढ्ने वातावरण बनोस् भन्ने हामी चाहन्छौँ ।’ राष्ट्रिय योजना आयोगले तयार पारेको स्टार्टअप उद्यम प्रवद्र्धनका लागि अनुदान तथा कर्जा प्रवाह कार्यविधि, २०७८ तत्काल पास गरी कार्यान्वयनमा लैजान उनले आग्रह गरे । 

कार्यक्रमका प्रमुख वक्ता परिसंघका प्रेसिडेन्ट एमिरेट्स एवं सांसद विनोद चौधरीले कार्यान्वयन योग्य योजना लिएर अगाडि बढ्न युवाहरूलाई आग्रह गरे । विश्वमा धनी भएका व्यक्तिहरू निरन्तरको प्रयासबाट मात्रै सफल भएको भन्दै उनले आफ्नो योजनाको सफल कार्यान्वयनका लागि निरन्तर प्रयास गरिरहन आग्रह गरे । ‘आज तपार्इंले गर्ने निरन्तरको प्रयासले भोलिको बिल गेट्स, ज्याक मा, विनोद चौधरी बन्न सक्नुहुन्छ,’ उनले भने, ‘त्यसका लागि धैर्य, लगाब, योजना र प्रतिबद्धता आवश्यक पर्छ ।’

स्टार्टअप फेस्ट राष्ट्रिय योजना आयोग, युवा तथा साना व्यवसाय स्वरोजगार कोष, नेपालस्थित भारतीय राजदूतावासको समेत सहयोगमा आयोजना गरिएको हो । ४० भन्दा बढी स्टार्टअपले आफ्नो वस्तु तथा सेवाको प्रदर्शनी गरेको स्टार्टअप फेस्टमा पाँच हजारभन्दा बढी युवाहरूको सहभागिता रहेको थियो ।