एमालेले पुँजी बजारमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा समय माग गरी बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पुँजी बजार संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको बताए।
पुँजी बजार धराशायी हुँदा लगानीकर्ताको लगानी जोखिममा पर्नुका साथै अर्थतन्त्रमै गम्भीर असर परेको भन्दै पुँजी बजारको पुनरुत्थान गर्न सरकारको ध्यानाकर्षण गराए। उनले नेपाल राष्ट्र बैंकले आफ्ना नीतिहरूलाई पुनरावलोकन गरेर भए पनि पुँजी बजारको जोखिम हटाउनुपर्ने बताए।
‘लाखौँ नेपाली आबद्ध भएको, लाखौँ नेपालीले भरोसा गरेको यो सेयर मार्केटलाई हामीले कुनै न कुनै रूपमा पुनरुत्थान गर्न जरुरी छ। त्यसका लागि अर्थमन्त्रीले एउटा जोखिमयुक्त कदम उठाएर भए पनि, नेपाल राष्ट्र बैंकले आफ्नो नीतिहरूलाई पुनरावलोकन गरेर भए पनि सेयर मार्केटका लगानीकर्ताको जुन जोखिम छ, त्यो जोखिमबाट पुनरुत्थान गर्नका लागि जोडदार रूपमा हामी माग गर्न चाहान्छौँ,’ उनले भने।
प्रमुख सचेतक भट्टराईले लगानीकर्ताहरूले आत्महत्या गर्ने तहसम्मको अवस्था उत्पन्न भएको भन्दै राज्यले आफूलाई बेखबर र गैरजिम्मेवार बनाउनु नहुने तर्क गरे। उनले पुँजीबजार सुधारको माग राखी अनशनरत तिलक कोइरालाको स्वास्थ्य अवस्था गम्भीर हुँदै गइरहेको भन्दै कोइरालाको माग सम्बोधन गर्न पनि सरकारसँग माग गरे।