मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मृतक विनोदका आफन्त जिल्ला प्रशासन कार्यालय मंगलसेनमा धर्ना दिँदै ।
२०७९ असार ६ सोमबार ०९:१०:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

विनोद शाही हत्या प्रकरण : १६ दिन बित्दा पनि मुख्य आरोपी पक्राउ परेनन्

Read Time : > 3 मिनेट
२०७९ असार ६ सोमबार ०९:१०:००

गत १६ जेठमा कुुच्चीका महेन्द्र शाही, देवेन्द्र शाही र गंगाबहादुर शाहीको दुई समूहबीच गाउँमा झडप भएको थियो । झडपपछि प्रहरी टोली गाउँ पुग्यो । प्रहरीसँग स्थानीयको हात हालाहाल भयो । सो क्रममा प्रहरीले केही युवालाई नियन्त्रणमा लियो । १७ जेठमा गाउँमा प्रहरी पुग्दा भागेका सबै युवा १९ गते सम्पर्कमा आए, तर पञ्चदेवल विनायक नगरपालिका–४, कुच्चीको रिठारूख टोलका बलबहादुर शाहीका १५ वर्षीय छोरा विनोद शाही भने सम्पर्कविहीन भए ।

गत ३० वैशाखमा स्थानीय निर्वाचनका वेला कुच्ची स्वास्थ्य चौकी मतदान केन्द्रमा एमाले, एकीकृत समाजवादी र कांग्रेस समर्थकबीच मतदानका विषयमा झडप भएको थियो । त्यस दिन कांग्रेसकी दुर्गाकुमारी शाहीले अन्य व्यक्तिका नाममा मतदान गरेको एमाले र समाजवादीको आरोप छ । तर, एमाले र समाजवादीले मतदानमा अवरोध गरेको कांग्रेसको आरोप छ । त्यही विषयलाई लिएर १६ जेठमा कुच्चीको एक चिया पसलमा युवाहरूबीच विवाद भएको हो । बेपत्ता भएका विनोद २१ जेठ बिहान गाउँनजिकैको भिरमा मृत अवस्थामा भेटिए । टाउको फुटेको, घाँटी रेटिएको र दुवैै खुट्टामा चोट लागेर आधा सडेको अवस्थामा शव भेटिएको मृतकका दाजु बखतबहादुर शाहीले बताए । 

१६ र १७ जेठको दोहोरो झडपलाई लिएर मृतक विनोदसहितका एमाले र समाजवादीनिकट युवाहरूलाई सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाउन पञ्चदेवल विनायक नगरपालिकाका मेयर अम्बिका चलाउनेसहितका कांग्रेस नेताहरू १८ जेठमा जिल्ला प्रशासन कार्यालय अछाम पुगेको पीडित पक्षको दाबी छ । तर, विनोदको शव भेटिएपछि भने मेयर चलाउनेसहितका आठजना फरार छन् । पीडित पक्षले मेयर चलाउने र जिल्ला समन्वय समिति उपप्रमुख दानमती शाहीसहितका १३ जनाविरुद्ध किटानी जाहेरी दर्ता गरेपछि उनीहरू फरार भएको प्रहरीले बताएको छ । 

जिल्ला अदालत अछामबाट १३ जनाकै नाममा पक्राउ पुर्जी जारी भएपछि उनीहरू फरार भएका हुन् । फरार हुनेमा वडा नम्बर ४ का पूर्ववडाध्यक्ष सर्जन शाहीसहित नेत्र शाही, द्रोपती शाही, शान्ति शाही, कर्णबहादुर शाही र अक्कल शाही छन् । प्रहरीले अहिलेसम्म पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महेन्द्र शाही, देवेन्द्र शाही, रामबहादुर शाही, वीरेन्द्र शाही र पृथ्वी शाही छन् । उनीहरूलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ । ‘फरार सबैको खोजी भइरहेको छ,’ प्रहरी निरीक्षक कैलाशसिंह विष्टले भने, ‘हामी अनुसन्धानमै छौँ । अहिले नै अपराध पुष्टि भएको छैन । अपराधी अज्ञात नै छन् । पक्राउ परेकाले पनि अपराध स्विकारेको अवस्था होइन ।’ 

घटनाको अनुसन्धानमा पीडित पक्षले सहयोग नगरेको प्रहरीको गुनासो छ । ‘उहाँहरूले सुरुदेखि नै अनुसन्धानमा सहयोग गर्नुभएन,’ प्रहरी निरीक्षक विष्टले भने, ‘शव उठाउने, पोस्टमार्टम गर्ने कुरामा पनि सहयोग रहेन । अहिले पनि उहाँहरू अनुसन्धानमा सहयोग नगरेर आन्दोलनमा हुनुहुन्छ ।’ पीडित पक्षले भने प्रहरीले आफूहरूसँग हरेक दिन एक–एकजना गरेर सोधपुछ गरिरहेको र त्यसमा आफूहरूले सहयोग गरिरहेको बताएको छ । 

विनोदको हत्यामा संलग्नलाई प्रहरीले नै संरक्षण गरेर राखेको र पक्राउ नगरेर बहाना गरिरहेको उनीहरूको अरोप छ । विनोदको हत्यापछि चरणबद्ध रूपमा आन्दोलनमा रहेका मृतकका आफन्तले नगरपालिका घेराउ, इलाका प्रहरी कार्यालय घेराउ, जिल्ला प्रशासन कार्यालयमा धर्ना तथा प्रदर्शनलगायतका विरोध गरिरहेका छन् । उनीहरूले प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब उपरीक्षकविरुद्ध पनि नाराबाजी गरिरहेका छन् । किटानी जाहेरी परेका सबैलाई पक्राउ नगरेसम्म आन्दोलन नरोकिने उनीहरूको अडान छ । आन्दोलनमा एमाले, एकीकृत समाजवादी, माओवादी केन्द्र र नेकपा कम्युनिस्ट पार्टीले समर्थन गरेका छन्।

विनोदकी आमा भन्छिन्– ‘छोरा मारे, सहारा खोसे’

 विनोदका बुबा बलबहादुर शाही र आमा जैसरा शाही  


छोराको हत्यापछि विनोदकी आमा ५८ वर्षीया जैसरा शाही शोकमा छिन् । सहारा दिने छोराको मृत्युपछि उनलाई न भोक छ, न निद्रा । उनी कहिले बेहोस भएर ढल्छिन् भने कहिले छोरा सम्झेर भक्कानिन्छिन् । आँखैअगाडि छोराको मृत शरीर क्षतविक्षत भएको देख्दा जैसरालाई खपिनसक्नुको पीडा छ । गलेको शरीर निन्याउरो अनुहार बनाएर रुँदै बाँच्नुबाहेक अरू केही छैन । घरनजिकैको भिरमा छोराको शव भेटिएपछि जैसराको परिवारमा अन्धकार छाएको छ । सधैँ सँगै हुने छोरा गुमाउँदाको पीडा जैसराको मनले थाम्न सकेको छैन । ‘केही गर्ला जस्तो टाठोबाठो त्यही थियो,’ उनले टेलिफोनमा नयाँ पत्रिकासँग भनिन्, ‘दुस्मन लागे । मेरो छोरा मारे, सहारा खोसे ।’

विनोदको पीरमा कैयौँ रात नसुतेकी आमा जैसरा आफूले न्याय पाउने र घटनामा संलग्नहरू कानुनी कठघरामा उभिनेमा भने ढुक्क छैनन् । किनभने, जैसरा र उनका श्रीमान् बलबहादुर शाहीसहितका आफन्तहरू विनोद बेपत्ता भएपछि खोजी गरिदिन माग गर्दै निवेदन लिएर प्रहरी र प्रशासनमा पुगेका थिए । त्यो वेला उनीहरूको निवेदन नै दर्ता गरिएन । ‘हामी छोरा हराएको निवेदन दिन पनि गयौँ,’ विनोदका बुबा बलबहादुरले भने, ‘त्यो वेला कुनै वास्ता गरिएन । अब पनि त्यस्तै त होला ।’ घटनामा संलग्नहरू प्रहरीकै संरक्षणमा रहेको र उनीहरूको माथिल्लो निकायसम्म पनि सम्बन्ध रहेकाले न्याय पाउनेमा मनमा शंका रहेको उनले बताए। 

नगरपालिकामा तालाबन्दी 
विनोद हत्या प्रकरणमा मेयर चलाउनेकै संलग्नता रहेको आरोप लगाउँदै पीडित पक्षले पञ्चदेवल विनायक नगरपालिकामा ताला लगाएका छन् । हत्यामा संलग्नलाई कानुनी दायरामा नल्याएसम्म कुनै पनि कामकाज गर्न नदिने उनीहरूको अडान छ । तालाबन्दीका कारण स्थानीय सरकारबाट प्राप्त हुने सेवाबाट नागरिक वञ्चित भएका छन् । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम सम्पादन गर्न नसकिएको र वित्तीय तथा भौतिक प्रगतिमा लक्ष्य प्राप्ति गर्न नसकिने अवस्था सिर्जना भएको प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर माझीले बताए । ‘अहिले सबै काम ठप्प छन्,’ उनले भने, ‘यहाँको माहोल राम्रो छैन । हरेक दिन तनावको अवस्था छ । यो घटनाले सबैतिर अस्तव्यस्त छ ।’ आगामी आवका लागि कानुनले तोकेको मितिभित्र योजना, नीति तथा कार्यक्रम तर्जुमा गर्न अप्ठेरो अवस्था सिर्जना भएको छ । नगरपालिकाको तालाबन्दी खुलाउन पहल गरिदिन जिल्ला प्रशासन कार्यालय अछामलाई दुईपटक पत्राचार गरिएको र विभागीय मन्त्रालयमा पनि पत्राचार गरेको तथा स्थानीय जनप्रतिनिधि र राजनीतिक दलसँग पनि यसबारे समन्वय गर्दा कुनै निकास नपाइएको माझीले बताए ।