निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ भदौ ३ शुक्रबार
  • Friday, 19 August, 2022
प्रेमराज सिलवाल
२०७९ असार ३ शुक्रबार ०७:०६:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

राजनीतिक पार्टीको निर्माण गर्ने कि गठन ?

पार्टी निर्माणको दार्शनिक, राजनीतिशास्त्रीय र सामाजिक महत्व‍ बुझ्न नसकेसम्म जति नै दल खोले पनि ती सबै दर्ता किताबमा मात्र सीमित हुन पुग्छन्

Read Time : > 2 मिनेट
प्रेमराज सिलवाल
२०७९ असार ३ शुक्रबार ०७:०६:००

काठमाडौँलगायत विभिन्न स्थानमा स्वतन्त्र उम्मेदवारले जितेपछि सार्वजनिक क्षेत्रमा अनेक बहस भइरहेका छन् । फेरि नेपालमा राजनीतिक पार्टी गठनको बहस चलिरहेको छ । काठमाडौंका बालेन साहलाई केन्द्रित गरी धेरै टिप्पणी हुँदै आएका छन् । के स्वतन्त्रले आफ्नो योजना, नीति र कार्यक्रम लागू गर्न सक्छन् ? वा बालेनजस्ता स्वतन्त्र व्यक्ति ठूला राजनीतिक दलमा प्रवेश गर्न बाध्य हुन्छन् ? वा आफैँ कुनै नामको दल गठन गर्छन् ?

गठन र निर्माणमा के अन्तर हुन्छ भन्ने बौद्धिक सवाललाई सार्वजनिक बहसमा ल्याउनु जरुरी छ । दल निर्माण गर्ने कि गठन भन्ने विषय आफैँमा ठूलो राजनीतिक, सामाजिक, बौद्धिक, तार्किक तथा दार्शनिक सवाल पनि हो । बहुदलीय प्रजातन्त्र आएपछिका दिनमा सयभन्दा बढी राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भई क्रियाशील छन् । यद्यपि सबैजसो निर्वाचनमा कांग्रेस, एमाले र पछिल्लो समयमा माओवादी केन्द्र तथा तराईकेन्द्रित क्षेत्रीय दलहरू मात्र राष्ट्रिय राजनीतिमा देखिन्छन् । निर्वाचन आयोगको दर्ता किताबमा मात्र अस्तित्वमा रहेका राजनीतिक पार्टीहरूप्रति जनताको कुनै साइनो देखिन्न । यस्तो किन र कसरी हुन्छ ? राजनीतिक पार्टी निर्माण र गठनमा ठूलो दार्शनिक, विचारधारात्मक र राजनीतिशास्त्रीय अन्तर रहेको हुन्छ । पार्टी निर्माण भन्नाले समग्रतामा व्यापक क्षेत्र, पक्ष, आधार, अवस्था तथा अलग इतिहास एवं पहिचानसमेतको माग गर्छ । यसले लामो समयको प्रभावकारी तथा अर्थपूर्ण सक्रियता खोज्छ । जसमा कानुनी हिसाबले अद्यावधिक हुने कुरासमेत पर्छ ।

पार्टी गठनले संविधान र कानुनले तोकेको सीमाभित्र रहेर निर्वाचन आयोगमा दल दर्ता गरी सञ्चालन गर्ने भन्ने अर्थमा सीमित हुन पुग्छ । गठनका लागि कानुन र कानुनी प्रक्रियाअनुसार फाइल पेस गरेपछि दल गठनको प्रमाणपत्र पाइन्छ । त्यसले कानुनी मान्यता पाए पनि राजनीतिक, सामाजिक, सांगठनिक, नैतिक र सार्वजनिक मान्यता पाइसकेको भन्नेचाहिँ हुँदैन । विगतमा हरियाली पार्टी, माले, विवेकशील साझाजस्ता अनेकौँ दल दर्ता भए । उनीहरूले निर्वाचनमा भाग लिएर केही भोट पनि ल्याए । तथापि पार्टी गठन भए पनि पार्टी निर्माणको अर्थ र महत्‍व नबुझ्दा ती भदौरे पानीजस्ता भए । विवेकशील पार्टी त विघटनको संघारमै पुगेको छ । 

राजनीतिक पार्टीको निर्माण भन्ने विषयले एउटा व्यापक अर्थ, महत्‍व र क्षेत्र बोकेको हुन्छ । पार्टी निर्माणको मूल आधारमध्ये विचारधारात्मक, राजनीतिक, दार्शनिक र सैद्धान्तिक पक्ष प्रमुख हुन पुग्छन् । राजनीतिक, सामाजिक, दार्शनिक, वस्तुगत र सैद्धान्तिक आधार नभएको दल गठनमा मात्र सीमित बन्न पुग्छ । संगठनमा मानिस, व्यक्ति वा नागरिक समावेश हुने मूल आधार भनेको दार्शनिक, ऐतिहासिक, राजनीतिक र सैद्धान्तिक हो । दार्शनिक र सैद्धान्तिक आधारले विचारधारात्मक, संगठनात्मक, सामाजिक र नैतिक धरातलको जन्म दिन्छ । यही दार्शनिक र सैद्धान्तिक जगमा संगठन निर्माण हुने तथा संगठनमा मान्छे टिक्ने हो । 

दार्शनिक, सैद्धान्तिक र राजनीतिक आधार नभई गठन हुने दल जात्रामात्रामा आएको भिडजस्तो हुन्छ । त्यस्तो संगठन कुनै जादुगरले जम्मा गरेको वा कुनै चर्चित हिरोको अनुहार हेर्न जम्मा भएको वा कुनै चटक हेर्न आएको वा कुनै आकस्मिक घटना हेर्न आएको सानो भिडजस्तो मात्र बन्न पुग्छ । जसको खास अवधि, सान्दर्भिकता र अर्थ सकिएपछि समूह आफैँ साइड लाग्छ । अर्थात् त्यस्तो राजनीतिक, दार्शनिक र सैद्धान्तिक आधार नभएको संगठन चल्दैन, टिक्दैन । भिड र संगठनमा ठूलो अन्तर हुन्छ । 

निश्चित दर्शन, विचार, मूल्य र मान्यता बोकेको मान्छेले संगठनमा सदस्य भएर काम गर्ने हो । आज पनि मानिसहरू कांग्रेस–कम्युनिस्ट पार्टीलाई स्वयं गाली गर्दै सोही दलको सदस्य भएर किन खडा छन् ? मूलत : दर्शन, विचार, सैद्धान्तिक, सांगठनिक तथा संघर्षको इतिहासको जग हो । अर्कातर्फ पार्टी निर्माणको आधार भनेको मानिस, नागरिक र व्यक्तिका सार्वजनिक तथा राजनीतिक सरोकारका मुद्दाको उठान र संघर्षपूर्ण इतिहास महत्‍वपूर्ण हो । नागरिक जीवनका राजनीतिक, सामाजिक र कानुनी संघर्षमा त्यो समूह, दल वा नेतृत्वको ऐतिहासिक तथा बलिदानी संघर्ष र योगदानले पार्टी निर्माणमा सहयोग पुग्छ । राजनीतिक र सामाजिक संघर्षको इतिहास नभएको समूहले दल दर्ता गर्दैमा नागरिकले किन र केका लागि समर्थन गर्नुपर्ने ? केवल ठूला पार्टीलाई आक्षेप लगाएको वा गाली गरेकै आधारमा मात्र नागरिकले समर्थन गर्छन् भन्न सकिन्न । 

राजनीतिक–सामाजिक मुद्दा उठाएरै संगठित भई आएका मधेसकेन्द्रित दलसमेत एउटा गैरसरकारी संस्था र उपभोक्ता समितिजस्ता मात्र बन्ने खतरा रहेको अवस्थामा पार्टी निर्माण चानचुने विषय होइन । दलको गठनमा हतारो गर्नुभन्दा पनि राजनीतिक, दार्शनिक, वैचारिक, सांगठनिक तथा नागरिकको राजनीतिक–सामाजिक अधिकारका लागि आफ्नो आधार निर्माण गर्न सकियो भने त्यहाँ दल गठन एउटा सामान्य प्राविधिक विषय मात्र बन्छ । 

राजनीतिक दल गठन गर्ने विषय सामान्य भए पनि दलको निर्माणले चाहिँ व्यापक अर्थ र महत्‍व राख्छ । जबसम्म पार्टी निर्माणको दार्शनिक, राजनीतिशास्त्रीय र सामाजिक महत्‍व बुझ्न सकिन्न, तबसम्म जति नै दल खोले पनि दर्ता किताबमा मात्र सीमित हुन पुग्छ । जसको जनता र नागरिकका लागि कुनै अर्थ हुँदैन । यसर्थ, पार्टी निर्माण नियमित–निरन्तर प्रक्रियासमेत भएकाले ठूला भनिएका कांग्रेस, एमाले र माओवादीजस्ता दलले पनि आफूलाई निरन्तर तिखार्दै पार्टी निर्माणमा लगाइरहनुपर्ने खाँचो छ । (सिलवाल अधिवक्ता हुन्)