मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अर्जुन अधिकारी काठमाडाैं
२०७९ असार ३ शुक्रबार ०६:०२:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मंकिपक्सका शंकास्पद  बिरामी टेकु अस्पतालमा भर्ना

Read Time : > 2 मिनेट
२०७९ असार ३ शुक्रबार ०६:०२:००

मंकिपक्स संक्रमणको आशंका गरिएका एक युवक टेकुस्थित सरुवारोग अस्पतालमा भर्ना भएका छन् । रसुवाका २६ वर्षीय मिलन तामाङ (नाम परिवर्तन) दुबईमा उपचार सम्भव नभएपछि नेपाल आएका थिए । अन्तर्राष्ट्रिय विमानस्थलस्थित हेल्थ डेस्कले उनमा मंकिपक्स भाइरसको आशंका गर्दै टेकु अस्पताल पठाएको थियो । 

अस्पतालका अनुसार बिहीबार दिउँसो करिब १ बजे मिलन अस्पताल भर्ना भएका हुन् । कुष्ठरोग विशेषज्ञ डा. शिवेन्द्रकुमार झाको नेतृत्वमा मंकिपक्स आशंका गरिएका उनको उपचार भइरहेको छ । 

डा. झाका अनुसार मिलन ६ महिनाअघि वैदेशिक रोजगारीका लागि दुबई गएका थिए । पछिल्ला तीन महिनादेखि उनलाई ज्वरो आउने, शरीरमा राता बिबिरा आउने समस्या देखिएको थियो । दुबईका थुप्रै अस्पतालमा उपचार गर्दा पनि निको नभएपछि नेपालमै उपचार गराउन आफू स्वदेश फर्किएको उनले चिकित्सकलाई बताएका छन् । चिकित्सकका अनुसार दुबईमा थुप्रै जाँच गराएका रिपोर्ट उनीसँग छन् । बाहिरबाट हेर्दा मंकिपक्स भाइरसजस्तो देखिए पनि ‘हिस्ट्री’ हेर्दा मंकिपक्स नै हो भन्न सक्ने आधार नदेखिएको चिकित्सकको भनाइ छ । 

पछिल्लो एक सातादेखि समस्या बढ्दै गएको मिलनले उपचारमा संलग्न चिकित्सकलाई बताएका छन् । उनको ढाड, हात तथा कम्मरदेखि मुनि र घुँडादेखि माथिको भागमा राता–राता बिबिरा प्रशस्त देखिएका छन् । तर, यत्तिकै आधारमा मंकिपक्स भन्न नसकिने डा. झाले बताए । ‘तर, विमानस्थल हेल्थडेस्कले शंकास्पद भन्दै अस्पतालमा पठाएपछि हामीले उपचार प्रक्रियाका साथै अनुसन्धान सुरु गरेका छौँ,’ डा. झाले भने । 

नेपालमा मंकिपक्स पत्ता लगाउने प्रविधि छैन । यो पत्ता लगाउन परीक्षणका लागि भारत वा अस्ट्रेलिया नमुना पठाउनुपर्छ । नेपालमा उपलब्ध सबैखाले परीक्षण गरेपछि मात्रै मंकिपक्सको परीक्षणका लागि नमुना पठाइने चिकित्सकले बताएका छन् । ‘राता बिबिरा र ज्वरो आउने हजारौँ कारण भएकाले हामी सबैभन्दा पहिला ज्वरोको कारण पत्ता लगाउनेतर्फ लाग्छौँ,’ उपचारमा संलग्न डा. झाले भने । 

मंकिपक्स नयाँ रोग होइन । यो भाइरस सन् १९७० मा डेमोक्रेटिक रिपब्लिक कंगोमा बिफरको आशंका गरिएका एक बालकमा फेला परेको थियो । मंकिपक्स रोग मंकिपक्स भाइरसका कारण हुन्छ । जुन पक्सभिरिडे भाइरस परिवारको अर्थोपक्स भाइरस उपपरिवारसँग सम्बन्धित छ । बिफर, भ्याक्सिनिया र काउपक्स भाइरस यस समूहमा समावेश छन् । मंकिपक्स भाइरसलाई भण्डारण (होस्ट) गर्ने कुनै पनि जनावरको पुष्टि नभए पनि अफ्रिकी मुसाले यो रोगको प्रसारणमा भूमिका खेल्ने गरेको चिकित्सकको भनाइ छ । 

यस्ता हुन्छन् लक्षण 

शरीरमा प्रवेश गरेपछि मंकिपक्स भाइरसको गुणात्मक फैलावट रक्त प्रवाहमार्फत हुन्छ । सामान्यतया संक्रमण भएको एकदेखि दुई सातासम्ममा कुनै लक्षण देखिँदैन । मंकिपक्सले बिफरजस्तै छालाको घाउ निम्त्याउँछ, तर लक्षण सामान्यतया हल्का हुन्छ । सुरुमा ज्वरो आउने, टाउको दुख्ने र सास फेर्न गाह्रो हुनेजस्ता फ्लुका सामान्य लक्षण देखिन्छन् । एकदेखि दश दिनपछि हात वा खुट्टा, टाउको वा छातीमा डाबर देखा पर्न सक्छ र अन्ततः पिप भरिएको पिलोमा परिणत हुन्छ । सामान्यतया लक्षण दुईदेखि चार हप्तासम्म रहन्छ ।

मंकिपक्सले संक्रमितमध्ये १० प्रतिशतको ज्यान लिन सक्छ । हालको भाइरस तुलनात्मक रूपमा नरम मानिन्छ । किनभने, यो भाइरसले एक प्रतिशतभन्दा कम मृत्यु निम्त्याएको छ । 

कसरी हुन्छ उपचार ?

मंकिपक्सको उपचार प्रायः लक्षणको राहतमा केन्द्रित हुन्छ । अमेरिकाको रोग नियन्त्रण एवं रोकथाम केन्द्र (सिडिसी) का अनुसार मंकिपक्स संक्रमणको कुनै उपचार छैन । बिफर खोपले मंकिपक्स संक्रमणलाई रोक्न र लक्षणको गम्भीरता कम गर्न मद्दत गरेको देखिन्छ । अमेरिकामा मंकिपक्स र बिफरबाट बच्न इम्भाम्युन वा इम्भानेक्स खोप अनुमोदन गरिएको छ । भाइरसको संक्रमणपछि पनि खोप लगाउँदा त्यसले रोगको जोखिम धेरै कम गर्न मद्दत पु¥याउने चिकित्सकको भनाइ छ । सिडिसीका अनुसार मंकिपक्सको सम्पर्कमा आएका वा सम्भावित व्यक्तिलाई बिफरको खोप हाल विशेष रूपमा सिफारिस गरिएको छ ।

राजधानीमा फेरि देखियो हैजा, दुई बिरामीको आइसियूमा उपचार हुँदै

राजधानीमै हैजाको संक्रमण पनि पुष्टि भएको छ । दोलखा घर भई बागबजार बस्दै आएका दिदी–बहिनीलाई हैजा पुष्टि भएको छ । बुधबार चटपटे खाएका उनीहरूलाई साँझबाट झाडापखाला सुरु भएको थियो । उपचारका लागि मोडल अस्पताल पुगेका उनीहरूलाई कलेरा पुष्टि भएको भन्दै चिकित्सकले टेकु अस्पताल रिफर गरेका थिए । बागबजार क्षेत्रमा हैजा फैलिएको चिकित्सकको अनुमान छ । 

टेकुमा उपचाररत दिदी–बहिनीको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । निरन्तर दिसा भएको, तर पिसाब नभएपछि चिकित्सकहरूले आइसियूमा भर्ना गरेका छन् । उनीहरूले जारको पानी प्रयोग गर्दै आएको बताएका छन् । पछिल्ला केही दिनदेखि सरुवारोग अस्पताल टेकुमा झाडापखालाका बिरामी बढिरहेका छन् ।

बुधबार ६ जना अस्पताल भर्ना भएकोमा बिहीबार दिउँसो १ बजेसम्म १६ जना भर्ना भएका छन् । उपचारका लागि आएका सबै गम्भीर अवस्थाका भएको आकस्मिक विभाग प्रमुख लीलानाथ भण्डारीले बताए । राजधानीको फोहोर नउठेपछि केही दिनयता झाडापखालाका बिरामी बढेको उनले बताए ।