१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ असार २ बिहीबार १०:०५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

तीन वर्षदेखि हुम्लाको हिल्सा नाका बन्द

Read Time : > 1 मिनेट
२०७९ असार २ बिहीबार १०:०५:००

नेपाल–चीन सीमास्थित हुम्लाको हिल्सा नाका तीन वर्षदेखि बन्द छ । कोरोना महामारीका कारण बन्द भएको हिल्सा नाका अहिलेसम्म बन्दै छ । हिल्सा नाका नखुल्दा मानसरोवर कैलाश यात्रामाा जाने तीर्थयात्रीले दर्शन गर्न जानसमेत पाएका छैनन् । तीन वर्षदेखि हिल्सा नाका नखुलेपछि चीनको मानसरोवर कैलाश दर्शन गर्न आउने भारतीय तीर्थयात्रीदेखि पर्यटनहरूको आवतजावत ह्वात्तै घटेको छ ।

वर्षमा सातदेखि १० हजारसम्म भारतीय तीर्थयात्री भित्रिने गरेको हिल्सा नाका तीन वर्षदेखि बन्द भएपछि हुम्लाका होटेल व्यवसायीहरू करोडौँ घाटा व्यहोर्न बाध्य छन् । कोरोनाको समयदेखि हिल्सा नाका बन्द भएपछि हुम्लाका होटेल व्यवसायी करोडाै‌ँ घाटा खेप्न बाध्य भएको उद्योग वाणिज्य संघ हुम्लाका अध्यक्ष नाम्गेल तामाङले जानकारी दिए । नाका खुलाउन पटकपटक जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षणसमेत गर्दा सुनुवाइ नभएको अध्यक्ष तामाङले दुःखेसो गरे । 

भारतीय तीर्थयात्री आउन छोडे
छोटो दूरीको नाका हुम्लाको हिल्सा भएपछि प्रत्येक वर्ष सातदेखि १० हजार भारतीय तीर्थयात्री हुम्लाको हिल्सा हुँदै चीनको मानसरोवर कैलाश दर्शन गर्न आउनेको संख्या निकै थियो । पछिल्लो तीन वर्षदेखि कोरोनाको कारणले चीनले हिल्सा नाका बन्द गरेपछि भारतीय तीर्थयात्री आउन छोडेका छन् । पछिल्लो समय चीनले नाका नै बन्द गरेसँगै भारतीय तीर्थयात्रीहरू मानसरोवर कैलाश दर्शन गर्न आउनेको संख्या घटेको नाम्खा गाउँपालिका– ६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए । हिल्सा नाका बन्द भएपछि भारतीय तीर्थयात्री र पर्यटकहरू मनसरोवर कैलाश जानसमेत पाएका छैनन् ।  

दैनिक उपभोग्य वस्तु ठप्प
नाका बन्द हुँदा नाम्खा गाउँपालिकामा दैनिक उपभोग्य सामग्री, खाद्यान्न र निर्माण सामग्रीको अभाव हुन थालेको छ । ‘पूरै गाउँपालिका वर्षौँदेखि चिनियाँ खाद्यान्नमा निर्भर छ,’ नाम्खा– ६ का वडाध्यक्ष पाल्जोर तामाङले भने, ‘नाका बन्द भएपछि स्थानीयलाई जीविकोपार्जनमा समस्या भयो ।’ उनका अनुसार यातायात सुविधा नहुँदा स्थानीयलाई सदरमुकाम सिमिकोटबाट खाद्यान्न र दैनिक उपभोग्य वस्तु ढुवानी गर्न समस्या छ । नाका बन्द भएपछि युवाहरू यो वर्ष चीनको ताक्लाकोट जान नपाएको उनले बताए ।

बेरोजगार युवा  ताक्लाकोट जान पाएनन् 
नाम्खा गाउँपालिकाका प्रायः युवा बर्सेनि मजदुरीका लागि ताक्लाकोट जाने गरेका छन् । ताक्लाकोट जान नपाउँदा अधिकांश युवा बेरोजगार भएर बस्न बाध्य छन् ।  बर्सेनि चीनको ताक्लाकोटमा रोजगारी गर्ने युवाहरू हिल्सा नाका बन्द भएसँगै रोजगारीमा जान नपाएको वडाध्यक्ष तामाङले भने । 

९० होटेल संकटमा
नाका नखुल्दा हिल्साका झन्डै ५० होटेल र ४० पसल बन्द छन् । सिमिकोटमा पनि २६ होटेल बन्द भएको उनले जानकारी दिए । कोरोनाको त्रास घटेकाले नाका छिटो सञ्चालन गर्न सरकारसँग आग्रह गरिए पनि बेवास्ता भएको उनको गुनासो छ ।

भन्सार, अध्यागमनलगायतका कार्यालय बन्द
नाका बन्द हुँदा हिल्सामा रहेका भन्सार, अध्यागमनलगायत कार्यालय पनि बन्द छन् । सरकारले केही महिनाअघि चीन र भारततर्फका ३० वटा नाका सञ्चालन गर्ने निर्णय गर्दा हिल्सा नाका परेको थिएन । ‘नाका खोल्न विभिन्न निकायमा आग्रह गरेका छौँ,  सुनुवाइ नै हुँदैन,’ उद्योग वाणिज्य संघ अध्यक्ष  नाम्ग्याल तामाङले भने ।