१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ३१ मंगलबार
  • Sunday, 22 September, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२o७९ जेठ ३१ मंगलबार o८:४५:oo
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

स्थानीय चुनावबारे एमालेमा औपचारिक समीक्षा : अपेक्षाकृत सफलता नपाएको स्वीकारोक्ति, जनमतमा पहिलो शक्ति रहेको दाबी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ३१ मंगलबार o८:४५:oo

स्थानीय निर्वाचनमा अपेक्षाकृत सफलता नपाएको एमालेले संस्थागत रूपमा स्विकारेको छ । निर्वाचनमा पहिलो शक्ति बन्ने दाबी गरेको एमाले कांग्रेसभन्दा एक सयभन्दा कम सिटमा प्रमुखको जित निकालेर दोस्रो शक्ति बनेको छ । यसअघि एमाले नेताहरूले धाँधली गरेर चुनाव हराइएको बताएका थिए । 

एमालेले आन्तरिक समस्या र गठबन्धन सरकारको राज्यसत्ता दुरुपयोगले स्थानीय निर्वाचनमा पहिलो स्थान गुमाउनुपरेको निष्कर्ष निकालेको छ । तर, सिटमा हार खाए पनि मतमा भने पहिलो शक्तिका रूपमा रहेको एमालेको दाबी छ । यसअघि कांग्रेसले सिट र मत दुवैतर्फ पार्टी पहिलो शक्तिमा उदाएको तथ्यांक पेस गरेको छ । 

सोमबार सचिवालय बैठकमा अध्यक्ष केपी ओलीले निर्वाचन समीक्षा प्रतिवेदन, २०७९ प्रस्तुत गर्दै पार्टीले पराजय भोग्नुपर्नाका निष्कर्ष सुनाए । यसअघि ओलीले पार्टीले पराजय भोग्नुको मुख्य कारण अन्तर्घात भएको भन्दै एमालेलाई पार्टी नेताबाटै जोगाउन कठिन भएको बताएका थिए । ‘जनमत तलमाथि नभए पनि परिणाम अपेक्षाअनुसार आएको छैन । यसको मुख्य कारण गठबन्धन र त्यसले गरेका साधन–स्रोतको दुरुपयोग र भित्री कमजोरी समीक्षा गरेका छौँ,’ बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले भने । स्थानीय तहको निर्वाचनमा पार्टी दोस्रो स्थानमा ओर्लिए पनि ०६४ पछिका तीन निर्वाचनको समग्र जनमत हेर्दा पहिलो शक्तिका रूपमा स्थापित हुँदै गएको एमालेको विश्लेषण छ । 

मंसिरमा हुने संघ र प्रदेशको निर्वाचनमा केन्द्रित हुनुपर्ने बैठकको निष्कर्ष रहेको पनि उनले जानकारी दिए । प्रमुख असफलताबारे गम्भीर समीक्षा गरिएको भन्दै उनले पराजयको बाह्य मुख्य कारण सत्तारूढ गठबन्धन र उसले गरेको सत्ता दुरुपयोग भएको बताए । त्यस्तै, समयमै उम्मेदवार चयन गर्न नसक्नु, कतिपय आकांक्षीको सही ढंगले व्यवस्थापन गर्न नसक्नु, कतिपय स्थानमा सिंगो पंक्तिलाई निर्वाचनमा परिचालन गर्न कुशलता देखाउन नसक्नुजस्ता आन्तरिक कारणले पनि वाञ्छित सफलता प्राप्त हुन नसकेको प्रतिवेदनको निष्कर्ष रहेको ज्ञवालीले जानकारी दिए । 

कतिपय ठाउँमा भएका घात–अन्तर्घातका दुर्भाग्यपूर्ण घटना पनि देखिएको र त्यस्ता गतिविधिमा संलग्न हुनेहरूलाई तथ्यसहित सम्बन्धित कमिटीले नै कारबाही गर्ने उनको भनाइ छ । यद्यपि, कुन साँच्चै अन्तर्घात हो, कुन ठाउँमा नेता–कार्यकर्ताबीचको अन्तद्र्वन्द्व र असमझदारीले परिणाम प्रभावित भएको हो, पहिचान गरेर मात्रै कारबाही हुने उनले बताए ।

‘केही–केही ठाउँमा घात–अन्तर्घातका दुर्भाग्यपूर्ण घटना पनि भएका छन् । प्रमाणित तथ्यले पुष्टि हुने त्यस्ता गतिविधिमा संलग्नलाई सम्बन्धित कमिटीले कारबाही पनि गर्नेछन्, तर हामी कुनचाहिँ रियल सेन्समा घात–अन्तर्घात हो, कुनचाहिँ नेता–कार्यकर्ताबीचको असमझदारी हो भन्ने पनि छुट्याउँछौँ । धेरैलाई गलत प्रवृत्तिबाट मुक्त गर्दै अगाडिको बाटोमा केन्द्रित, अभिभारामा केन्द्रित हुन अगाडि बढाउँछौँ,’ ज्ञवालीले भने । एमालेले समीक्षा प्रतिवेदनमा मेयर–उपमेयर, अध्यक्ष–उपाध्यक्ष, वडाध्यक्ष र पाँच सदस्यले पाएको मतको तुलना गर्दै विश्लेषण गरेको छ । ‘नतिजामा हामी पछि प¥यौँ, तर प्रमुख र उपप्रमुख, वडाध्यक्षसहित सातवटै उम्मेदवारलाई परेको मत हेर्दा जुनसुकै कोणबाट पनि ३४ प्रतिशत मतसहित सबैभन्दा लोकप्रिय मतसहित अगाडि रहेको तथ्य स्थापित भएको छ,’ ज्ञवालीले भने । 
प्रधानमन्त्री अफरको हल्ला पचास प्रतिशत सिटको बार्गेनिङ 
एमाले उपमहासचिव ज्ञवालीले संघ र प्रदेशको निर्वाचनअघि वाम गठबन्धन नहुने प्रस्ट्याए । उनले विभिन्न नेताबाट एमालेले आफूलाई प्रधानमन्त्रीको अफर गरेको हल्ला चलाएर कांग्रेसबाट पचास प्रतिशत सिट संख्या सुनिश्चितका लागि बार्गेनिङ गरिरहेको आरोप पनि लगाए । यद्यपि, माओवादी केन्द्रसहित वामपन्थी दलका नेताहरूसँग एमालेले गरिरहेको पछिल्ला छलफल भने वाम सहकार्यका विषयमा नभएर राष्ट्रिय मुद्दामा मात्र केन्द्रित रहेको उनको दाबी छ । पछिल्लोपटक माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष ओली र अर्का नेता वर्षमान पुनले ज्ञवालीसँग छलफल गरेका थिए । ‘निर्वाचनअघि वाम सहकार्यको सम्भावना देखेको छैन । अहिलेको छलफल वाम सहकार्यका लागि होइन, अहिले उठेका राष्ट्रिय मुद्दासँग सम्बन्धित छ,’ उनले भने ।

हारका दुई निष्कर्ष

आन्तरिक कारण
समयमै उम्मेदवार चयन गर्न नसक्नु, कतिपय आकांक्षीको सही ढंगले व्यवस्थापन गर्न नसक्नु, कतिपय स्थानमा सिंगो पंक्तिलाई निर्वाचनमा परिचालन गर्न कुशलता देखाउन नसक्नु

बाह्य कारण
सत्तारूढ गठबन्धन र उसले गरेको सत्ता दुरुपयोग

घनश्याम भुसालमाथि कारबाही नहुने 
एमालेले स्थायी समिति सदस्य घनश्याम भुसालमाथि अनुशासनको कारबाही नगर्ने भएको छ । बैठकमा भुसालमाथि कारबाही गर्ने कुनै पनि सिफारिस वा प्रस्ताव अनुशासन आयोगले नगरेको उपमहासचिव ज्ञवालीले बताए ।

‘सचिवालयमा अनुशासनको कारबाहीको कुनै सिफारिस आएको छैन, अनुशासन आयोग स्वयं संवैधानिक रूपले छुट्टै अधिकारप्राप्त आयोग हो, उहाँहरूले हामीलाई कुनै जानकारी दिनुभएको छैन, रिपोर्ट नदिई एजेन्डा बन्ने कुरै भएन,’ उनले भने ।

यद्यपि, आयोगका अध्यक्ष केशव बडालले भने भुसाललाई कारबाहीका लागि केन्द्रीय कमिटीलाई सिफारिस गरिएको बताएका थिए । तर, त्यसलाई केन्द्रीय कार्यालयले छलफलको कुनै एजेन्डा बनाएन । पार्टीको प्रतिष्ठालाई कुनै पनि नेता–कार्यकर्ताले कमजोर पार्ने, मूल नेतृत्वप्रति अनास्था फैलाउने अभिव्यक्तिको भने बैठकले आलोचना गरेको छ ।