सप्तरीका खुँखार मिटरब्याजी रामदेव साह तेलीको अत्याचारबाट पीडितहरूले सोमबार सदरमुकाम राजविराजमा प्रदर्शन गरेका छन् । उनीहरूले ऋण तिरिसकेपछि रामदेवले कब्जामा राखेको जग्गा फिर्ताको माग पनि गरेका छन् ।
मिटरब्याजी साहपीडित संघर्ष समितिको आह्वानमा गाउँ–गाउँबाट आएका पीडितको र्यालीले नाराबाजी गर्दै बजार परिक्रमा गरेको थियो । न्याय नपाए आफूहरूको उठीवास नै हुनुपर्ने अवस्था आउने भएकाले बाध्य भएर संघर्षको सहारा लिनुपरेको संघर्ष समितिका संयोजक छेदीलाल पासवानले बताए ।
‘हामी न्यायका लागि संघर्ष समिति बनाएर अघि बढेका छौँ, न्याय नपाए हामी पीडित परिवार उठीवास हुन्छौँ,’ उनले भने, ‘न्यायका लागि पहल गरिदिनुहुन सबैमा आग्रह छ ।’ मिटरब्याजी रामदेव भने अझै फरार छन् । उनको कारोबार हेर्ने मुन्सी गंगारामलाई प्रहरीले राजविराजबाट पक्राउ गरेको छ भने सोमबार काठमाडौंबाट पक्राउ परेकी रामदेवकी छोरी अनुराधामाथि अनुसन्धान गर्न प्रहरीले तीन दिन म्याद थप गराएको छ ।