मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ ३० सोमबार ११:२१:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

रौतहटमा तीनवटा पुलको ठेक्का सम्झौता खारेज

सम्झौता खारेज भएपछि अदालतमा मुद्धा हालेर काम थाल्यो पप्पुले

Read Time : > 1 मिनेट
२०७९ जेठ ३० सोमबार ११:२१:००

सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले रौतहट जिल्लाका तीन स्थानमा बन्दै गरेका पुलको ठेक्का तोडेको छ । पप्पु कन्स्ट्रक्सनले ठेक्का सकारेको लालबकैया खोलाको पुल, नीलगिरि नेसनल क्यानन जेभीको झाँझखोला पुल, गौर पिपरा सडक र सपना निर्माण सेवाले ठेक्का सकारेको चाँदीखोला विश्रामपुर हजरियाको पुलको ठेक्का तोडेको हो । उनीहरूले पटकपटक ताकेता गर्दासमेत काम नगरेपछि गत जेठ १० मा सडक डिभिजन कार्यालयले सूचना निकालेर ठेक्का तोडिएको जनाएको हो ।

गौर टिकुलिया जोड्ने टिकुलियाघाटको पुलको काम पप्पुले निर्माणाधीन अवस्थामा बीचमै काम छाडेर गएपछि ठेकेदारको लापरबाही भन्दै सडकले म्याद नथपेको हो । सम्झौताअनुसार ठेकेदारले काम गर्ने म्याद सकिएको झन्डै पाँच वर्ष भइसकेको छ । तत्कालीन सडक डिभिजन कार्यालय हेटौँडाबाट २० करोड ७२ लाखको लागतमा गौर औरैया जोड्ने लालबकैया नदीमा दुई सय २५ मिटर लम्बाइ र ७.२ मिटर चौडाइ भएको पक्की पुल बनाउन बोलपत्र आह्वान गरेको थियो । लागत एस्टिमेटभन्दा २८ प्रतिशत कम १४ करोड ९३ लाखमा टेन्डर सकार गरेर तीन वर्षभित्र निर्माण कार्य पूरा गर्ने लिखित सम्झौता गर्दै ०७१ असार २९ मा पप्पु कन्स्ट्रक्सनका तत्कालीन सञ्चालक हरिनारायण रौनियारले सम्झौता गरेका थिए ।  

पप्पु कन्स्ट्रक्सनले ठेक्का तोडिएकै पुलको काम धमाधम अघि बढाएको स्थानीयले बताए । लामो समय अलपत्र छाडेको पुलको काम सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरलाई थाहै नदिई झुक्याएर सुटुक्क सुरु गरेको हो । उक्त पुल निर्माण सम्पन्न गर्नुपर्ने म्याद सकिएको पाँच वर्ष हुन लागेको छ । ठेक्का तोडेको अवस्थामा पप्पु कन्स्ट्रक्सनले कुनै जानकारी नदिई काम गरेको फेला पारिएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । 

लामो समय काम छाडेर चुप बसेको ठेकेदारले ठेक्का तोडेको थाहा पाएपछि चार दिनअघिबाट काम सुरु गरेको हो । उसले उच्च अदालत वीरगन्जमा ठेक्का रद्दबारे मुद्दा दिएको छ । अदालतले ठेक्का रद्द गर्नुको कारणबारे सडक कार्यालयसँग जवाफ मागेको छ । सडक डिभिजनका अनुसार रद्द भएको अवस्थामा अदालतले अन्तरिम आदेशमा काम गर्न दिनू भनेको छैन । ठेकेदारले जबर्जस्ती काम गरेको सडकको भनाइ छ । ६ वटा स्पानमध्ये चारवटाको काम सकेर अब दुई मात्र बाँकी रहेको ठेकेदार कम्पनीका इन्जिनियर राजेश यादवले बताए ।