अल राउन्डर आदिल अन्सारीले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक शृंखलामा आफ्नो डेब्यु खेलमै अविस्मरणीय खेल प्रदर्शन गरेका छन् । अमेरिकाको टेक्सासमा नेपालले शृंखलाअन्तर्गत ८७औँ खेलमा अमेरिकाविरुद्ध प्रतिस्पर्धा गरेको थियो । आदिलले इनिङ्सको अन्तिम ओभरमा कसिलो र घातक बलिङ गरेपछि नेपाल र अमेरिकाबीचको रोमाञ्चक खेल ट्राई भयो ।
पहिलो ब्याटिङ गरेको नेपाल ४९.२ ओभरमा दुई सय ७४ रनको बलियो योगफलमा अलआउट भयो । प्रत्युत्तरमा लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय ७४ रन बनाउँदा खेल टाई भयो । अमेरिकाले अन्तिम ओभरमा जितका लागि ६ बलमा ६ रन बनाउनुपर्ने थियो । अमेरिकाको नजरमा ६ रन सहजै बन्ने थियो । अमेरिकासँग हातमा ६ विकेट बाँकी नै थियो । अमेरिकाका कुनै एक खेलाडीले बाउन्ड्री प्रहार पनि नेपालको हातबाट जान सक्थ्यो ।
यसकारण बाउन्ड्रीरहित ओभर फ्याँक्नुपर्ने नेपालको चुनौती थियो । खेलकै निर्णायक मोडमा पुगेको प्रतिस्पर्धामा नेपालका कप्तान सन्दीप लामिछानेले दायाँ हाते बलर आदिललाई इनिङ्सकै अन्तिम ओभर बलिङ गर्न लगाए । नेपालबाट ३२औँ खेलाडीका रूपमा डेब्यु गरेका आदिलले अन्तिम ओभरमा बल पाउँदा केही नर्भस देखिएका थिए । तर, उनले कप्तान सन्दीपको विश्वासअनुसारै बलिङ गरे । आदिलले अन्तिम ओभरमा कसिलो बलिङ गर्दै पाँच रन मात्र दिँदै नेपाललाई महत्वपूर्ण एक रन दिलाए । उनको यस ओभरमा अमेरिकाले एक विकेट र एक ब्याट्सम्यान रनआउटका रूपमा गुमाएको थियो । अन्तिम ओभरको सुरुका तीन बलमा आदिलले एक–एक रन मात्र दिए ।
आदिलले चौथो बलमा नो बल फ्याँके । स्ट्राइकमा रहेका राहुल जरिवालले एक रन मात्र लिए । जरिवालले एक रन लिँदा अमेरिकालाई दुई बलमा एक रन खाँचो भयो । यो बेलमा नेपालबाट खेल गइसकेको थियो । इनिङ्सको ४९.५ ओभरमा आदिलले आरोन जोनेसलाई रोहितकुमार पौडेलबाट क्याचआउट गराए । ४९.६ छैटौँ बलमा जरिवाला रनआउट भए । आदिलले अन्तिम ओभरमा सिनियर खेलाडीहरूको सहयोगका कारण नै सहज बनेको बताएका छन् ।
‘अन्तिम ओभरमा दबाब थियो, सिनियर खेलाडीहरूले निकै सहयोग गर्नुभयो, उहाँहरूले मलाई आत्मविश्वास दिलाउनुभयो,’ खेलपछि आयोजित पत्रकार पत्रकार सम्मेलनमा आदिलले भने, ‘एकपटक नो बल फालेपछि नर्भस थिएँ, कप्तान सन्दीप दाइले धेरै सपोर्ट गर्नुभयो । भाग्यवश अर्को बलमा राम्रो भयो ।’ कप्तान लामिछानेले हारनजिक पुगेको खेल बराबरी हुँदा नेपालले जित हासिल गरेजस्तो भएको प्रतिक्रिया दिए ।
बलिङमा मात्र नभएर आदिलले ब्याटिङमा समेत उत्कृष्ट प्रदर्शन गरे । पाँचौँ क्रममा ब्याटिङ गर्न अवसर पाएका आदिल आक्रामक रूपमा प्रस्तुत भए । ओमानविरुद्धको अघिल्लो खेलमा खराब प्रदर्शन गरेपछि नियमित विकेटकिपर ब्याट्सम्यानको स्थानमा आदिलले अमेरिकाविरुद्ध अवसर पाएका हुन् । टी–२० खेलमा पनि उनको स्थान पाँचौँ नै हो । उनले केवल २४ बलमा ३६ रनको योगदान दिए । यसक्रममा उनले तीन चौका र दुई छक्का प्रहार गरे । उनले रोहितसँग चौथो विकेटका लागि ६५ रनको साझेदारी गरे । जुन नेपालको सर्वाधिक साझेदारी हो । बलिङको क्रममा उनले नौ ओभरमा ४५ रन खर्चे तीन विकेट हात पारे ।