नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले उम्मेदवार चयन प्रक्रियामा गल्ती हुँदा स्थानीय तह निर्वाचनमा एमालेले कम सिट ल्याएको बताएका छन्। काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्।
‘यसपटक उम्मेदवार चयनमा पनि कमजोरी भयो,’ उनले भने, ‘चुनाव लड्दा र परिचालनमा ध्यान नदिँदा पनि एमालेले कम सिट ल्याएको हो।’ उनले आगामी पाँच वर्षपछि हुने स्थानीय तह चुनावको लागि अहिलेदेखि नै स्वतन्त्र उम्मेदवारहरू तय भएको भन्दै राजनीतिक पृष्ठभूमिबाट आएका जनप्रतिनिधिहरू सचेत हुनुपर्ने बताए।
मूल राजनीतिबाहिरका व्यक्तिहरूले स्थानीय तह र मुलुक चलाउन नसक्ने भन्दै उनले स्थानीय, प्रदेश र केन्द्र सरकारमा राजनीतिक पृष्ठभूमिकै व्यक्ति चाहिने धारणा राखे। ‘समय क्रममा कति राजनीतिक पार्टी विलयसमेत रहेको अवस्था पनि आइरहेको छ। त्यसकारण अब देशको नेतृत्व गर्ने भनेकै मूलधारको पार्टीले हो।’
भट्टराईले जनताले रुचाएको उम्मेदवार चयन गर्दा निर्वाचनमा जित हासिल गर्न सहज हुने बताउँदै पार्टीले यसतर्फ चासो दिनुपर्ने बताए।