१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २९ आइतबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ २९ आइतबार o८:४३:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

मागअनुसार नियमित विद्युत् पाउन नसकेको उद्योगीको गुनासो

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ २९ आइतबार o८:४३:oo

भारतमा अनुमति पाएअनुसार तीन सय ६४ मेगावाट विद्युत् निर्यात गरिरहेको प्राधिकरणले स्वदेशी उद्योगलाई पर्याप्त र नियमित बिजुली दिन नसकेको व्यवसायीको आरोप, प्राधिकरण भन्छ– चाहेजति दिइरहेका छौँ, समस्या छैन

नेपाल विद्युत् प्राधिकरणले उद्योगको आवश्यकताअनुसार विद्युत् दिन नसकेको र दिएको विद्युत् पनि गुणस्तरीय नभएको व्यवसायीहरूले गुनासो गरेका छन् । भैरहवास्थित पाल्पा सिमेन्ट उद्योगलाई चाहिनेजति विद्युत् प्राधिकरणले उपलब्ध नगराएको सञ्चालक राजेश अग्रवालले गुनासो गरेका छन् । ‘हामीलाई  १२ मेगावाट विद्युत् चाहिन्छ, सोहीअनुसारको पूर्वाधार पनि छ, तर प्राधिकरणले कहिले सात मेगावाट त कहिले पाँच मेगावाट दिन्छ,’ उनले भने, ‘जति पाउँछौँ, त्यो पनि नियमित हुँदैन, पावर कम–बढी भइरहन्छ ।’

प्राधिकरणले नियमित र पर्याप्त विद्युत् उपलब्ध नगराउँदा उद्योग पूर्ण क्षमतामा चलाउन नसकिएको उनले बताए । उद्योग चलिरहेका वेलासमेत बत्तीको पावर घटबढ हुँदा उत्पादन प्रभावित भएको उनले गुनासो गरे । ‘प्राधिकरणले भनेअनुसार पावर नआउँदा उद्योगको प्रणाली नै रोकिन्छ, दिनमै चार–पाँचपटक चलिरहेको कारखाना बन्द हुन्छ,’ उनले भने, ‘यो समस्याले हामी हैरान भएका छौँ, प्राधिकरणलाई जति भने पनि समस्या सुल्झाएको छैन ।’

नेपाल उद्योग परिसंघका उपाध्यक्षसमेत रहेका अग्रवालले उद्योगमा विद्युत्को आपूर्ति मागेजति र नियमित हुन  नसकेको गुनासो अन्य उद्योगीले पनि गरिरहेको बताए ।

भैरहवामै रहेको श्री स्टिलले पनि आवश्यकताअनुसार विद्युत् पाउन नसकेको बताएको छ । श्री स्टिललाई १८ मेगावाट विद्युत् आवश्यक पर्छ । तर, उद्योगले अहिले १२ मेगावाट मात्रै विद्युत् पाइरहेको एक सञ्चालकले बताए । ‘हाम्रो उद्योगले मागअनुसार विद्युत् पाउन सकेको छैन, १८ मेगावाटका लागि आवश्यक पूर्वाधार नभएको हुन सक्छ,’ नाम उल्लेख नगर्ने सर्तमै उनले भने, ‘हामीले धेरैपटक प्राधिकरणलाई अनुरोध गरेका छौँ, तर समस्या समाधान भएको छैन ।’

भैरहवामै रहेको सर्वोत्तम सिमेन्ट, अर्घाखाँची सिमेन्टलगायत उद्योगले पनि विद्युत् नियमित नभएको बताए । विद्युत्को मात्रा घटबढ भइरहने भएकाले त्यसको असर उत्पादन र मेसिनरीमा परेको उनले गुनासो गरे । ‘प्राधिकरणले विद्युत् जेनतेन उपलब्ध गराइरहेकै छ, तर त्यसको निरन्तरता छैन, गुणस्तर छैन,’ अर्का उद्योगीले गुनासो गरे ।

प्राधिकरणले स्वीकृति पाएजति नै अर्थात् तीन सय ६४ मेगावाट विद्युत् शुक्रबारबाट भारत निर्यात गर्न सुरु गरेको छ । तर, नेपालका उद्योग तथा औद्योगिक करिडोरमा पर्याप्त र नियमित विद्युत् उपलब्ध गराउनेतर्फ प्राधिकरण गम्भीर नभएको उद्योगीहरूको आरोप छ ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले प्राधिकरणले तराईका औद्योगिक करिडोरहरूमा विद्युत्को व्यवस्थापन साथै गुणस्तर कायम गर्न नसकेको बताए । उनले यसबारे शुक्रबार सामाजिक सञ्जालमा लेख्दै समस्या समाधानका लागि प्राधिकरणको ध्यान पुगोस् भन्दै कामना गरेका छन् । ‘विद्युत् निर्यात हुनु साह्रै राम्रो कुरा हो, यसको वृद्धि होस् भन्ने हाम्रो कामना,’ उनले भने, ‘तर, तराईका औद्योगिक करिडोरहरूमा विद्युत्को व्यवस्थापन साथै गुणस्तर कायम गर्न नसक्नु दुःखको कुरा हो, विद्युत् प्राधिकरणले तत्कालै ध्यान देओस् भन्ने हाम्रो कामना छ ।’

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले भने विद्युत् चाहेजति उपलब्ध गराइरहेको बताए । तर, प्रसारण लाइनको क्षमता केही कमजोर भएका कारण वेला–वेलामा ‘डिस्टर्ब’ हुने गरेको उनको भनाइ छ । ‘सामान्यतः ३३ केभिए प्रसारण लाइनमा डिस्टर्ब आइरहन्छ, त्यसैले निरन्तरतामा केही समस्या भएको होला,’ उनले भने, ‘हामीले भैरहवा क्षेत्रमा दुई सय २० केभिए क्षमताको प्रसारण लाइन बनाइरहेका छौँ त्यसपछि अहिलेको समस्या समाधान हुन्छ ।’ 

अहिले केही औद्योगिक करिडोरमा प्रसारण लाइनका कारण विद्युत्को निरन्तर नियमित आपूर्तिमा समस्या भइरहेको उनले बताए । ‘ऊर्जा पर्याप्त छ, चाहेजति आपूर्ति गर्न समस्या छैन,’ उनले भने, ‘जंगलको बाटो प्रसारण लाइन छ, त्यसमा रूखको एउटा हाँगो खस्यो भने पनि समस्या हुन्छ ।’

अनुमति पाएजति तीन सय ६४ मेगावाट विद्युत् भारत निर्यात सुरु
नेपाल विद्युत् प्राधिकरणले स्वीकृति पाएजति नै अर्थात् तीन सय ६४ मेगावाट विद्युत् शुक्रबारबाट भारत निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् गत १९ जेठबाट भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दर बिक्री सुरु गरेको थियो ।

भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले ६ वटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई स्रोत मानी तीन सय ६४ मेगावाट विद्युत् आइएक्स मार्केटमा बिक्री गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको थियो । शुक्रबारबाट निजी क्षेत्रको ग्रिन भेन्चर्स लिमिटेडकोे लिखु–४ बाट उत्पादित विद्युत् निर्यात भएसँगै स्वीकृति पाएजति विद्युत् भारतीय बजारमा बिक्री सुरु भएको हो । प्राधिकरणको स्वामित्वका त्रिशूली तथा देवीघाटको ३७.७ मेगावाट, कालीगण्डकी एको एक सय ४० मेगावाट, मध्यमस्र्याङ्दीको ६८ मेगावाट, मस्र्याङ्दीको ६७ मेगावाट र निजी क्षेत्रको लिखु–४ बाट उत्पादित ५१ मेगावाट विद्युत् दैनिक रूपमा भारतीय बजारमा निर्यात भइरहेको छ । 

पानी परेसँगै नदीनालामा पानीको वहाब बढेर विद्युत्गृहहरू पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रूपमा खपत गरी अतिरिक्त भएको विद्युत् ढल्केबर–मुजफ्फपुर चार सय केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत दैनिक रूपमा भारतीय बजारमा निर्यात भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्यातका लागि स्वीकृति पाएका सबै आयोजनाको विद्युत् भारतीय बजारमा बिक्री हुन थाल्नु दुई मुलुकबीचको विद्युत् व्यापारका लागि कोसेढुंगा भएको बताए ।

‘स्वीकृत क्षमताअनुसारकै विद्युत् निर्यात सुरु हुनु दुई मुलुकबीचको विद्युत् व्यापारका लागि एउटा कोसेढुंगा हो, यसले नेपालको व्यापार घाटालाई समेत कम गर्नेछ,’ घिसिङले भने, ‘आन्तरिक रूपमा खपत गरी अतिरिक्त भएको सबै विद्युत् निर्यात गरिरहेका छौँ, यसबाट मुलुकभित्र उत्पादित विद्युत् बिक्री गर्न नसकी खेर फाल्नुपर्ने अवस्था तत्कालका लागि अन्त्य भएको छ ।’

आइएक्समा २४ घन्टालाई १५–१५ मिनेटका ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ । त्यसैले हरेक ब्लकको मूल्य फरक–फरक हुने गरेको छ । प्राधिकरणले शुक्रबारका लागि विद्युत्को अधिकतम र न्यूनतम मूल्य प्रतियुनिट क्रमशः १९.२ रुपैयाँ (१२ भारु) र ३.९९८४ रुपैयाँ (२.४९९ भारु) पाएको छ । औसत मूल्य प्रतियुनिट ११.४२  रुपैयाँ (७.१४ भारु) रहेको छ ।