मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ २९ आइतबार ०८:३३:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

नेपाली नर्स पठाउने विषयमा बेलायतसँग आगामी साता सम्झौता हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ जेठ २९ आइतबार ०८:३३:००

नेपाली नर्सलाई बेलायतमा रोजगारीको विषयमा आगामी साता नेपाल र बेलायत सरकारबीच श्रम सम्झौता हुने भएको छ । श्रम समझदारीको मस्यौदा बनाउन गठित दुवै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयारी गरिरहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले भेट गरी श्रम समझदारीको तयारीबारे शुक्रबार छलफल गरेका छन् । 

मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र बेलायतबीच सन् १८१६ मा कूटनीतिक सम्बन्ध स्थापित भएदेखि हालसम्मको आपसी हितका विविध विषयमा छलफल भएको थियो । श्रम आप्रवासनको क्षेत्रमा बेलायतसँगको सम्बन्ध गौरवपूर्ण रहेको चर्चा गर्दै मन्त्री श्रेष्ठले नेपालबाट तेस्रो मुलुकमा रोजगारीका लागि जाने प्रचलन बेलायती सेनामा भर्ना प्रक्रियाबाटै सुरु भएको बताए । नेपाल र बेलायतबीच हुने श्रम समझदारीपत्रको तयारीका लागि दुवै देशका तर्फबाट सहभागी प्रतिनिधिको संयुक्त प्रयासबाट सुरक्षा क्षेत्रभन्दा बाहिर पहिलोपटक नेपालीले बेलायतमा रोजगारीको अवसर प्राप्त गर्न लागेको मन्त्री श्रेष्ठले बताए । 

बेलायतमा रोजगारीका लागि प्रारम्भमा दुई हजार नर्स पठाउन तयार रहेको मन्त्री श्रेष्ठले बताए । मन्त्री श्रेष्ठले गण्डकी प्रदेशको तनहुँ जिल्लामा कम्तीमा सय बेडको नर्सिङ कलेजसहितको अस्पताल निर्माण गर्ने आफ्नो योजना रहेको बताउँदै बेलायत सरकारबाट सहयोगको अपेक्षा गरेको बताए । नेपालको स्वास्थ्य शिक्षाको गुणस्तर विश्वस्तरको रहेको चर्चा गर्दै उनले नर्सबाहेक डाक्टर, फार्मेसिस्ट, ल्याब टेक्निसियनहरूलाई पनि बेलायतमा रोजगारी प्राप्त हुने विश्वास व्यक्त गरे ।

उनीहरूबीच नेपाली श्रमिकहरूलाई बेलायतमा रोजगारीका लागि निर्माण, ड्राइभिङ, कृषि, होटेल व्यवसायजस्ता अन्य क्षेत्रहरूमा हुने सम्भावनाबारे पनि छलफल भएको थियो । रोजगारीका लागि बेलायत जाने नर्सले कुनै पनि शुल्क बुझाउनुपर्नेछैन । वैदेशिक रोजगारीलाई विविधीकरण गर्ने क्रममा आफूले आकर्षक गन्तव्यको खोजी गरिरहेको मन्त्री श्रेष्ठले बताए ।