१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २८ शनिबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ जेठ २८ शनिबार o६:५४:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

मिटरब्याजीमाथि कारबाही गर्न सांसदको माग 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ जेठ २८ शनिबार o६:५४:oo

सप्तरीका मिटरब्याजी रामदेव साह तेलीलाई तत्काल पक्राउ गरेर अनुसन्धान अघि बढाउन तथा कानुनी कारबाही गर्न सांसदहरूले माग गरेका छन् । शुक्रबार संसदमा बोल्दै सांसदहरूले नयाँ पत्रिकामा प्रकाशित समाचारप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । 

महोत्तरीका सांसद गिरिराजमणि पोखरेलले मिटरब्याजीविरुद्ध नयाँ पत्रिका दैनिकले गरेको रिपोर्टिङ प्रशंसनीय रहेको, तर राज्य संयन्त्र अझै मिटरब्याजीमाथि कारबाहीका लागि तयार नरहेको बताए । ‘नयाँ पत्रिकामा लगातार समाचार आएका छन्, म धन्यवाद दिन चाहन्छु । सप्तरीको खडक नगरपालिका, धरान उपमहानगरपालिका– १९ धनकुटे चोकको समस्या र सप्तरीको बोधेपुरको समस्या समाचारमा उठाइएको छ ।

यस्तै, किर्ते तमसुक बनाएर लाखौँ ऋण दिएका विपन्न नागरिकबाट करोडौँ असुल्ने श्याम परदेशी र रामबाबु राय यादवजस्ता खुँखार मिटरब्याजी साहुकारले सर्लाहीमा गरेको उत्पीडनको फेहरिस्त लामो छ,’ सांसद पोखरेलले भने, ‘यो वर्ष गृह मन्त्रालयले अपराधको सूचीमा मिटरब्याजीलाई सामेल गरेको छ । यो मधेसको मात्रै नभएर देशको समस्या हो । तर, उनीहरूलाई कारबाही गर्न कानुन, पुलिस, प्रशासन र अदालत सबै तयार भइसकेका छैनन् ।’ 

सांसद पोखरेलले मिटरब्याजीविरुद्ध आन्दोलनमा उत्रेका सर्लाहीका डाचाराज वाग्लेको रहस्यमय मृत्यु भएको, तर राज्यबाट छानबिनका नाममा औपचारिकता पूरा गरेको बताए । ‘मिटरब्याजीविरुद्धको आन्दोलनमा सर्लाहीका डाचाराज वाग्लेको प्रतिगमनविरोधी आन्दोलनको क्रममा रहस्यमय मृत्यु भयो । नेपाल सरकारले सिआइबीमार्फत अनुसन्धान पनि गर्‍यो । तर, अनुसन्धान औपचारिकता पूरा गर्ने खालको मात्र भयो,’ उनले भने, ‘मुद्दालाई औपचारिक प्रक्रिया पूरा गरी टुंग्याउने मात्र हेतुले दायर गरेको देखिन्छ । सत्यतथ्य पत्ता लगाउने गरी उच्चस्तरीय अनुसन्धान गरियोस् । म सरकारको ध्यान आकृष्ट गराउँछु ।’ 

सांसद पोखरेलले मिटरब्याजीका कारण जनता प्रताडित रहेको भन्दै पीडितले कहिले न्याय पाउँछन् भन्ने प्रश्न गरे । ‘महोत्तरी जिल्लाको भंगाहा नगरपालिकामा चर्को मिटरब्याजीका कारण जनता प्रताडित रहेका छन् । विगत वर्षहरूमा भंगाहा नगरपालिका– ६ का साहुकारद्वय राजकरण साह, रघुवीर साह र भंगाहा नगरपालिका– ५ का अनुरुद्र साहले स्थानीय दलित, थारू र अन्य समुदायका ३७ जनाभन्दा बढी व्यक्ति र परिवारको जग्गाजेथा हडपेका छन्,’ उनले भने, ‘साहुकार राजकरण साह जिल्ला अदालतका खरिदार रहेकाले पनि स्थानीय प्रशासनसँगको मिलेमतोमा उल्टै पीडित किसानविरुद्ध जिल्ला अदालत जलेश्वर महोत्तरीमा विगत दुई वर्षदेखि मुद्दा चलाइरहेको छ । तारेखमा किसान धाइरहेका छन् । ती नागरिकले न्याय पाउने कि नपाउने ?’ 

प्रेम सुवाल
नेमकिपा सांसद प्रेम सुवालले कानुन हातमा लिनेहरूमाथि कारबाही गर्न माग गरे । ‘बजेट वक्तव्यमा मिटरब्याजी नियन्त्रण गर्ने उल्लेख छ । तर, गृह प्रशासनका हाकिमका श्रीमती, आफन्त र सल्लाहकार मिटरब्याजमा संलग्न भएको र नक्कली सुराकी बनाएर कमिसन लिइरहेको समाचार आएका छन् । कतिपय पदाधिकारीले आफन्तलाई नै स्वकीय सचिव र भान्से राखेर रकम गोजीमा राखेको समाचार पनि छ । यस्ता गलत काम त कानुन हातमा लिन सक्नेहरूले गरेको देखियो नि !’ उनले भने । 

ad
ad
ad
ad