नेकपा (माओवादी केन्द्र) का नेता हितबहादुर तामाङले बन्चरेडाँडा ल्यान्डफिल्डमा फोहोर विर्सजन गर्न अहिलेसम्म १० अर्ब रुपैयाँ लागेको भन्ने कुराको विश्वास गर्न नसक्ने बताएका छन् ।
उनले पैसा खर्च भएअनुसार काम नभएको बताउँदै विकसित मुलुकमा भएको प्रविधि ल्याएर वैज्ञानिक ढंगबाट फोहोर व्यवस्थापन गर्नुपर्ने बताएका हुन् । उनले गन्धरहीत बनाउने कुरा हरेकपल्ट भनिरहनुपर्ने कुरा नभएकोले सरकारले फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय सोच्न ढिला भइसकेको बताए । नेता तामाङले सरकारले फोहोर विसर्जनस्थलको रूपमा अर्को विकल्प खोज्न पनि आग्रह गरे ।
उनले भने, ‘पोस्ट क्लोजरको काम गर्ने भनेर पहिल्यैदेखि भनिरहेको कुरा हो । अहिले बन्चरेडाँडा साइटमा फोहोर विसर्जन गर्दैगर्दा, यो पनि अहिले भनिरहनुपर्ने कुरा हो र ? गन्धरहीत बनाउने कार्यक्रम अहिले पनि सम्झाइरहनुपर्ने हो र ? यहाँ १० अर्बभन्दा बढी खर्च भइसक्यो रे ? भयो होला, त्यतातिर लगेर यो विषय गिजोल्न खोजेको होइन तर १० अर्ब संसारका ठूला अरू सहरमा यत्रो महंँगो फोहोर व्यवस्थापन अहिलेसम्म भएको होला त ? पक्कै पनि भएको छैन । राज्यले संसारका विकसित मुलुकमा विकास भएका प्रविधिहरूको आयात गरेर ल्याउनुपर्छ । हाम्रो विकल्प त्यति मात्रै होइन । यसतर्फ सरकार गम्भीर नभएकै हो । व्यवस्थापनमा इमान्दारिता देखाउने हिसाबले प्रतिबद्धता जनाउनुपर्छ । काठमाडौंमा देखिएको समस्या समाधानका लागि जनसाधारणले पनि सहयोग गर्नुपर्छ । योभन्दा बढी काठमाडौंमा फोहोर थुप्रिन दिने हो भने संसारले बदनाम सरकार र बदनाम सहर भनेर हामीलाई चिन्छ ।’
नेता तामाङले फोहोर व्यवस्थापन गर्ने र व्यवस्थापन केन्द्र आसपास रहेका नागरिकको सुरक्षा र हेरचाहमा सरकार गम्भीर नभएको आरोपसमेत लगाए। उनले व्यवस्थापनमा इमान्दारिता देखाउने हिसाबले प्रतिबद्धता जनाउन पनि सरोकारवाला निकायको ध्यानाकर्षण गरे । उनले काठमाडौंमा अझै फोहोर थुप्रिन दिने हो भने विश्वले बदनाम सरकार र बदनाम सहर भनेर चिन्ने दाबी गरे ।