नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गृह मन्त्रालयका हाकिमका पत्नीहरू नै मिटरब्याज असुलीमा संलग्न रहेको आरोप लगाएका छन्। मन्त्रालयका हाकिमका पत्नीहरू नै मिटरब्याज असुलीमा संलग्न रहेको र नक्कली सुराकी बनाएर कमिसन लिइरहेको उनको आरोप छ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गतको विभिन्न शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव पेस गर्दै सांसद सुवालले यस्तो बताएका हुन्। कतिपय पदाधिकारीहरूले स्वकीय सचिव र भान्सेसमेत आफन्त राखेर मिटरब्याजीको रकम गोजीमा राखेको समाचारहरू आइरहेको भन्दै उनले आपत्ति जनाए।
सरकारको बजेट वक्तव्यमा मिटरब्याज नियन्त्रण गर्ने उल्लेख भए पनि कानुन हातमा लिन सक्नेहरू नै यसको नियन्त्रणमा बाधक देखिएको उनको दाबी छ।
‘बजेट वक्तव्यमा मिटरब्याज नियन्त्रण गर्ने उल्लेख छ। तर, गृह प्रशासनका हाकिमहरूका श्रीमती, आफन्त र सल्लाहकारहरू मिटरब्याजमा संलग्न भएको र नक्कली सुराकी बनाएर कमिसन लिइरहेको, कतिपय पदाधिकारीहरूले आफन्तहरूलाई नै स्वकीय सचिव र भान्से राखेर रकम गोजीमा राखेको समाचार पनि छ। यस्ता गलत काम त कानुन हातमा लिन सक्नेहरूले गरेको देखियो नि।’