मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ जेठ २६ बिहीबार १७:२९:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

युरोपमा शरणार्थीको रूपमा झन्डै ५० लाख युक्रेनीको निवेदन

Read Time : < 1 मिनेट
२०७९ जेठ २६ बिहीबार १७:२९:००

रुसले चार महिना पहिले आक्रमण सुरु गरेदेखि नै युरोपभर झन्डै पाँच लाख युक्रेनी शरणार्थीको रूपमा दर्ता भएकाे संयुक्त राष्ट्रसंघले जनाएको छ।

संयुक्त राष्ट्र शरणार्थी निकाय युएनएचसिआरले बिहीबार भनेको छ, 'युक्रेन युद्धले विश्वकै सबैभन्दा ठूलो मानव विस्थापन संकट निम्त्याएको छ।' युक्रेनी स्थितिको बारेमा एजेन्सीको डेटा पोर्टलमा अद्यावधिक तथ्यांकले युद्धग्रस्त युक्रेनबाट कुल ४८ लाख १६ हजार ९२३ युक्रेनी शरणार्थीको रूपमा दर्ता भएकाे देखाएको छ।

युएनएचसिआरको तथ्यांकले युक्रेनबाट ७३ लाखभन्दा बढी व्यक्ति ७ जुनसम्ममा सीमा पार गरेको रेकर्ड गरिएको छ। उक्त तथ्यांकले देखाएअनुसार अर्को २३ लाखभन्दा बढी मानिसहरू स्वदेश फिर्ता भएका छन्। विदेश पलायन भएकामध्ये ९० प्रतिशत महिला र बालबालिका रहेकाे राष्ट्रसंघले बताएको छ। १८ देखि ६० वर्ष उमेर समूहका पुरुष सैनिक सेवाका लागि योग्य छन् र त्यहाँबाट जान सक्दैनन्।

युक्रेनबाट भागेकाहरूबाहेक संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय बसाइँसराइ संगठनले अनुमान गरेअनुसार ८० लाखभन्दा बढी मानिसहरू यस आक्रमणसँगै स्वदेशमा नै विस्थापित भएका छन्। युक्रेनबाट बाहिर निस्केका आधाभन्दा बढी छिमेकी पोल्यान्डमा आएका छन्। पोल्यान्डमा ३८ लाख मानिसहरूले शरण लिएकोमा झन्डै आधा व्यक्ति स्वदेश फर्किएका छन्।

युएनएचसिआरले पोल्यान्डमा ११ लाख ५० हजार युक्रेनीले शरणार्थीको रूपमा नाम दर्ता गरेको बतायो। पोल्यान्डबाहेक हंगेरी, रोमानिया, स्लोभाकिया र मोल्डोभाजस्ता अन्य छिमेकी देशहरूमा पनि सयौँ हजार मानिसहरू प्रवेश गरेका छन्। 

जर्मनीमा झन्डै सात लाख ८० हजार, चेक गणतन्त्रमा झन्डै तीन लाख ६७ हजार र स्पेनमा एक लाख १८ हजारभन्दा बढी युक्रेनीले शरणार्थीका रूपमा आवेदन दिएका छन्। अन्य युरोपेली देशहरूमा पनि हजारौँ शरणार्थीले निवेदन दर्ता गरेकाे बताइएको छ। रासस/एएफपी