राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलस्थित छाया सेन्टरले सर्वसाधारणलाई निःशुल्क शौचालय उपलब्ध गराउने भएको छ । काठमाडौं महानगरपालिकाको ‘निःशुल्क शौचालय’ अभियानमा ऐक्यबद्धता जनाउँदै सेन्टरले व्यापारिक भवनभित्र रहेका १२ वटै शौचालय सबैका लागि निःशुल्क उपलब्ध गराएको छ ।
छाया सेन्टरका सञ्चालक एवं वरिष्ठ पर्यटन व्यवसायी सुमन पाण्डेले विदेशी पर्यटकका साथै सर्वसाधारणलाई सहज हुने गरी निःशुल्क शौचालयको व्यवस्था गरिएको बताए । उनले महानगरपालिकाको घोषित निःशुल्क शौचालय सेवाको अभियानमा जोडिन पाउँदा खुसी लागेको भन्दै महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगोल तथा ३२ वटै वडाध्यक्ष तथा सदस्यहरूप्रति हार्दिक आभार प्रकट गरे ।
‘मेयर साहबाट घोषित निःशुल्क शौचालय सेवाको अभियानमा ठमेल– २६ स्थित छाया सेन्टर, पर्यटकीय व्यापारिक कम्प्लेक्सले सहभागिता जनाउने निर्णय गरेको जानकारी गराउँछौँ,’ सेन्टरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।