मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ २५ बुधबार १५:५२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सार्वजनिक शौचालय सञ्चालन गर्न नबिल बैंक र काठमाडौं महानगरबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ जेठ २५ बुधबार १५:५२:००

नबिल बैंकले काठमाडौं महानगरपालिकामा रहेका आफ्ना तोकिएका शाखाहरूका शौचालयलाई निःशुल्क सार्वजनिक शौचालयको रूपमा उपलब्ध गराउने भएको छ । काठमाडौं महानगरपालिका र नबिल बैंकबीच सम्झौता भएसँगै सर्वसाधारणले अब महानगरभित्र रहेका १८ शाखाका शौचालयलाई निःशुल्क रूपमा प्रयोग गर्न सक्नेछन् । नगर कार्यपालिकाको १६ जेठको निर्णयअनुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्‍याउन महानगरको आह्वानअनुरूप नबिल बैंकले आफ्नो ऐक्यबद्धता जनाएको हो ।

महानगरले बनाएको सार्वजनिक शौचालयको संकेतबोर्ड प्रस्ट देखिने गरी बैंकका शाखाहरूमा उपयुक्त ठाउँमा जडान गरिने बैंकले जनाएको छ । बैंकले सार्वजनिक प्रयोगका लागि सञ्चालनमा ल्याउने सार्वजनिक शौचालयको सरसफाइ र आवश्यक सामानहरूको व्यवस्था सामाजिक उत्तरदायित्वअन्तर्गत शौचालयको नियमित मर्मत, सम्भार र सरसफाइ, पानीको प्रबन्ध, निकासको व्यवस्था बैंक स्वयंले राख्नेछ । बैंकका अनुसार यो सम्झौता पाँच वर्ष अवधिका लागि गरिएको हो ।
नबिल बैंकका कार्यकारी निर्देशक अनिलकेशरी शाहले महानगरका नवनिर्वाचित मेयरको काठमाडौंलाई व्यवस्थित गर्ने नीतिअनुरूप बैंकले पनि ऐक्यबद्धता जनाएको बताए  । ‘नबिलको ‘सँगै अघि बढौँ’ भन्ने नाराका साथ हामी देश र जनताका लागि सधैँ सँगै अघि बढिरहन्छौँ । नबिल बैंकले दिगो बैंकिङको अवधारणाअनुरूप काठमाडौंको फोहोरमैला व्यवस्थापनमा पनि सहकार्य गर्नेछ,’ उनले भने । 

महानगरले सञ्चालनमा आएका शौचालयको अनुगमन तथा मूल्यांकन प्रत्येक चार–चार महिनामा गर्नेछ । यस सम्झौताले आममहानगरको सार्वजनिक शौचालयको सेवालाई चुस्त र व्यवस्थित गर्न मद्दत पुर्‍याउने सार्वजनिक–निजी साझेदारी एकाइका प्रमुख नूरनिधि न्यौपानेले बताए ।