१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २५ बुधबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ २५ बुधबार o६:२३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नक्कली ‘सिंगिङ बउल’को बिगबिगी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ २५ बुधबार o६:२३:oo

लामो समयदेखि सिंगिङ बउल बनाउँदै आएका शान्तरत्न शाक्य ‘कसाहा’ले बजारमा नक्कली सिंगिङ बउलको बिगबिगी रहेको बताएका छन् । नक्कली सिंगिङ बउलका कारण उनको पुख्र्यौली पेसा नै जोखिममा पुगेको दुखेसो गरेका छन् । शाक्यको ‘फुलमुन बउल’ ब्रान्डको लोगो र नेवारी लिपिमा ‘कसाहा’ लेखेको आफ्नै बाउल छ । ‘कसाहा’ भन्ने शब्द उनको ट्रेडमार्क हो ।

तर, पछिल्लो समय नक्कली सिंगिङ बउल निर्माताले आफ्नो कम्पनीको लोगो र नाम राखेर उत्पादन गरिदिएको मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बताए । उनले भने, ‘बजारमा पाइने विभिन्न बउलमा मेरो कम्पनीको लोगो र सिग्नेचरसमेत राखेको भेटेँ ।’ यो बनाउन विशेष किसिमको धातु र सीपको आवश्यकता पर्छ । अहिले बजारमा पाइने सबै किसिमका बउलमा उपयुक्त धातु मिसिएको हुँदैन ।

शाक्यले नामकरण गरेको ‘फुलमुन बउल’ पूर्णिमाको रातमा मात्रै बनाउने गरेको बताए । यो बउल पहिला–पहिला विशेष गरी गर्भवती र सुत्केरी महिलालाई खाना खुवाउन प्रयोग गर्ने चलन थियो । उक्त भाँडोमा खाना खाँदा गर्भवतीले आवश्यक खनिज पदार्थ पाउँथे । अहिले भने सिंगिङ बउलबाट साउन्ड थेरापी गर्न सकिन्छ । युरोप, अमेरिकालगायत मुलुकमा डिप्रेसनमा गएकालाई सिंगिङ थेरापीबाटै उपचार गराउने चलन छ । नेवार समुदायको मृत्यु संस्कारमा पनि बउल नभई हुँदैन । कसैको मृत्यु भइसकेपछि काँसको भाँडामा पानी खुवाएर मृत्यु घोषणा गरिन्छ । अंग्रेजीमा सिंगिङ बउल भनेर चिनिने बटुकोलाई नेपाल भाषामा ‘बाटा’ भनिन्छ । नेवारी परम्परा र संस्कृतिमा ‘बाटा’को महत्व विशेष खालको रहेको शाक्यको भनाइ छ । 

प्राचीनकालमा तिब्बतमा
सिंगिङ बउल उपचारका लागि मस्तिष्कलाई ताजा बनाउन र ध्यानका लागि प्रयोग हुन्थ्यो । यसले एक विशेष खालको ध्वनि निकाल्ने हुनाले शरीरमा रहेका रोग तथा अन्तरात्मामा रहेका विषाक्त तत्वलाई दूर गर्छ भन्ने विश्वास थियो ।