मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ २२ आइतबार
  • Monday, 14 July, 2025
२o७९ जेठ २२ आइतबार १५:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खोटाङको तुवाचुङ जायजुममा चुलापूजा तथा साकेलासिली प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ २२ आइतबार १५:५१:oo

किराँत समुदायको उदगमस्थल खोटाङको हलेसी तुवाचुङ नगरपालिका– ७ महादेवीस्थान र वडा नं. ७ अर्खौलेको सिमानामा पर्ने तुवाचुङ जायजुममा सुप्तुलुङ (चुला) पूजा तथा बृहत् साकेलासिली प्रदर्शन गरिएको छ।

किराँत समुदायको महान् चाड साकेला उँभौलीको अवसर पारेर शनिबार तुवाचुङ जायजुममा नछुङ (धामी)मार्फत चुलापूजा गर्नुका साथै बृहत् साकेलासिली प्रदर्शन गरिएको हो। विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीभन्दा केहीमाथि पर्ने तुवाचुङ जायजुममा आयोजना गरिएको चुलापूजा तथा साकेलासिली प्रदर्शनीमा खोटाङ, उदयपुर, ओखलढुंगा, भोजपुरलगायत जिल्लाका किराँत राई समुदाय भेला भएर सामूहिक रूपमा चुलापूजा गर्दै साकेला नाचेका हुन्।

नगरप्रमुख विमला राईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा साकेलासिली प्रदर्शनी गर्न विभिन्न स्थानका १५ समूह सहभागी भएका तुवाचुङ जायजुम संरक्षण समितिका अध्यक्ष राकेश राईले जानकारी दिए। सो कार्यक्रममा किराँत राई समुदायको परम्परागत वेशभूषामा सजिएर अलग–अलग समूहले ढोल, झ्याम्टा बजाएर साकेला गाउँदै आएको र फर्किएको मनमोहक दृश्य देखिएको थियो।

कोभिड– १९ को महामारीका कारण रोकिएको तीन वर्षपछि तुवाचुङ जायजुममा शनिबार चुलापूजा गर्दै साकेला नाचिएको हो। ‘खेतीपाती सप्रियोस्, रोगव्याध नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित साकेला उँभौली पितृ तथा भूमिको पूजाआजा गर्दै महिना दिनसम्म मनाउने चलन छ।