मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
बिहीबार आयोजित पत्रकार सम्मेलनमा आइजिपी धीरेन्द्रप्रताप सिंह (बीचमा)
टेकराज थामी काठमाडाैं
२०७९ जेठ २० शुक्रबार ०७:४६:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अघिल्ला तीन आइजिपीझैँ धीरजप्रतापको पनि दाबी : मेरै कार्यकालमा निर्मला पन्त हत्याको अनुसन्धान निष्कर्षमा पुग्छ

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७९ जेठ २० शुक्रबार ०७:४६:००

संगठन प्रमुखमा नियुक्त भएको महिनादिनपछि नेपाल प्रहरीका आइजिपी धीरजप्रताप सिंहले ‘निर्मला पन्त हत्या अनुसन्धान आफ्नै कार्यकालभित्र निष्कर्षमा पुग्ने’ भनाइ सार्वजनिक गरेपछि चार वर्षअघिदेखि नसुल्झिएको एउटा कसुरतर्फ सर्वसाधरणको ध्यान पुनः खिँचिएको छ । 

निर्मला पन्त हत्या एउटा यस्तो जघन्य कसुर हो, जसको अनुसन्धान गर्न फरक–फरक पाँच समिति बने । अनुसन्धानमा संलग्न प्रहरी अधिकृत नै कारबाहीमा परे । भलै उनीहरूविरुद्धको कारबाही पछि फुकुवा भयो । तर, कसुरको गुत्थी खुल्न सकेन । आइजिपी सिंहले बिहीबार पत्रकारसँगको भेटमा भने, ‘निर्मला पन्त हत्या अनुसन्धान नयाँ मोडमा पुगेको छ । हाम्रा टोली अनुसन्धानमै छन् । आशा छ, मेरै कार्यकालभित्र यसले पक्कै निष्कर्ष पाउनेछ ।’ 

१० साउन ०७५ मा कञ्चनपुर भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो । साथीको घरमा ट्युसन पढ्न हिँडेकी उनी भोलिपल्ट उल्टाखामस्थित उखुबारीमा मृत फेला परेकी थिइन् । चौतर्फी विरोध भएपछि गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा छानबिन समिति बनायो भने तत्कालीन आइजिपी सर्वेन्द्र खनालले तत्कालीन एआइजी धिरु बस्नेत र डिआइजी सुरज केसीको नेतृत्वमा छुट्टाछुट्टै समिति गठन गरी अनुसन्धान अगाडि बढाए । राष्ट्रिय मानव अधिकार आयोग र मानव अधिकार संगठनले पनि अनुसन्धान टोली घटनास्थल पठाएको थियो । तर, अनुसन्धान निष्कर्षमा पुग्न सकेन । फरक–फरक अनुसन्धान प्रतिवेदनले घटना झन् गिजोलिन पुग्यो ।

हेमन्त मल्ल, पूर्वडिआइजी

निर्मला पन्त हत्या जटिल प्रकृतिको देखिन्छ । यस्ता घटना अनुसन्धान गर्न समय लाग्छ । घटनास्थलमा अनुसन्धानकर्तालाई लामो अवधिसम्म निरन्तर खटाउनुपर्छ । उनीहरूको करिअर पनि सुनिश्चित गरिनुपर्छ । यस्तोमा नेतृत्वको इच्छाशक्ति, हौसलाविना सम्भव हुँदैन । निर्मला पन्त हत्या अनुसन्धानमा संगठन प्रमुखले देखाएको चासोले पक्कै नयाँ अर्थ राख्नेछ ।

यस पृष्ठभूमिमा आइजिपी सिंहबाट सार्वजनिक अभिव्यक्तिलाई सर्वसाधारणले अर्थपूर्ण मानेका छन् । किनभने, उनी नेपाल प्रहरीका प्रमुख मात्र नभई एक कुशल अनुसन्धानकर्ता पनि हुन् । संगठन प्रमुखमा जागेको इच्छाशक्तिले अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने प्रहरी अधिकृतहरूको विश्वास छ । 

घटनास्थलमा जिल्ला, प्रदेश र सिआइबीका छुट्टाछुट्टै टोली 
निर्मला पन्त हत्या अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को छुट्टाछुट्टै टोली घटनास्थलमा अनुसन्धानरत छन् । उनीहरूमध्ये कति देखिने त कति नदेखिने भूमिकामा रहेर घटनाको अनुसन्धान गरिहेका छन् । यसक्रममा प्रहरीले केही शंकास्पद व्यक्तिलाई पक्राउ पनि गरेको छ । उपलब्ध प्रमाणसँग भेरिफाई गरिरहेको छ । 

सिआइबीका प्रवक्ता एसपी श्यामकुमार महतोले घटनास्थलमा अनुसन्धान टोली रहनु स्वाभाविक रहेको बताए । उनले भने, ‘निर्मला पन्त हत्या जटिल प्रकृतिको घटना हो । यसको अनुसन्धानमा प्रहरी टोली घटनास्थलमा रहनु स्वाभाविक हो । यस्ता घटनामा समय लाग्छ । यसो भन्दैमा अनुसन्धान थाती राख्ने विषय रहेन । त्यसो हुँदा अनुसन्धान जारी छ ।’

लामो अनुसन्धानबाट रहस्य खुलेका केही घटना

सन् १९९५ मा अमेरिकाको उताह बस्ने १७ वर्षीय क्यास्टल बेस्लनोवीच दिनदहाडै बेपत्ता भइन् । १४ डिसेम्बर १९९५ मा हराएकी उनको शव उताहकै प्रोभो नदीकिनारामा भेटियो । नग्न अवस्थामा भेटिएकी उनको हत्या गरिएको आशंका गरियो । तर, प्रमाणित गर्न मुस्किल पर्‍यो । अन्ततः घटना भएको १८ वर्षपछि सन् २०१३ मा अनुसन्धान निष्कर्षमा पुग्यो । 

- उत्तरमध्यअमेरिकास्थित साउथ डकोटा बस्ने सेरी मिलर र पाम ज्याक्स एकाएक बेपत्ता भए । सन् १९७१ मा बेपत्ता भएका १७ वर्षीया दुई किशोरीको शव ४२ वर्षपछि बु्रल क्लर्क नदीमा कारभित्र फेला पर्‍यो । लामो अनुसन्धानपछि घटनामा संलग्न पक्राउ परे । 

- घटना भएको १२ वर्षपछि अनुसन्धानले निष्कर्ष हासिल गरेको नेपालकै रानीबारी हत्याकाण्ड उदाहरणीय छ । ३१ असार ०५९ मा काठमाडौंको रानीबारीस्थित घरमा इन्जिनियर हेमन्त श्रेष्ठ र उनकी पत्नी अञ्जली श्रेष्ठको हत्या भयो । घटना रहस्यमय थियो । सुरुमा प्रहरीले अभियुक्त खोज्न कुनै क्लु फेला पारेन । तर, प्रहरीले अनुसन्धान जारी राखेको थियो । अन्ततः घटनाको १२ वर्षपछि घटनामा संलग्न मनराज गुरुङ र प्रशेच चौहान पक्राउ परे । 

रानीबारी हत्या अनुसन्धानका नेतृत्वकर्ता पूर्वडिआइजी हेमन्त मल्ल यस्ता घटनाको अनुसन्धानमा समय लाग्ने भएको हुँदा संगठन नेतृत्वकर्ताको निरन्तर हौसला, इच्छाशक्ति र निरन्तरताले ठूलो भूमिका राख्ने बताउँछन् ।

अघिल्ला तीन आइजिपी सफल भएनन्
आइजिपी नियुक्त भएलगत्तै शैलेश थापा क्षेत्रीले पनि निर्मला पन्त हत्या अनुसन्धान संगठनको पहिलो प्राथमिकतामा रहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । अनुसन्धानमा अब्बल उनी गिजोलिएको यो घटना सल्टाएर जस लिन चाहन्थे । यसका लागि उनले पनि अनुसन्धानलाई निरन्तरतामा राखे । विशेषज्ञ टोली घटनास्थल खटाए । तर, उनको कार्यकालमा अनुसन्धान निष्कर्षमा पुग्न सकेन । 

पाँच महिना मात्रै आइजिपी भए पनि ठाकुर ज्ञवालीको पालामा निर्मला पन्त हत्या अनुसन्धान निष्कर्षमा पुग्ने धेरैको आशा थियो । किनकि, पन्तको हत्या भएको ६ दिनपछि सिआइबी टोलीको नेतृत्व गर्दै उनी नै घटनास्थल पुगेका थिए । उनकै टोलीले घटनाको अनुसन्धान गरेको थियो । उनकै सुपरीवेक्षणमा डिएसपी अंगुर जिसी घटनास्थलमा खटिएका थिए । उनी पक्राउ परेका अभियुक्तसँग भएका बयानमा बसेका थिए । अनुसन्धान प्रतिवेदन अध्ययन गरेका थिए । तर, उनको कार्यकालमा पनि अनुसन्धानले निचोड लिएन । 

उनीअघिका प्रहरी प्रमुख सर्वेन्द्र खनाल पनि पन्त हत्या अनुसन्धानलाई जतिसक्दो चाँडो निष्कर्षमा पुर्‍याउन चाहन्थे । उनकै नेतृत्वकालमा घटना भएको र उनी सफल अनुसन्धान पृष्ठभूमिबाट आएकाले उनीमाथि धेरैको आशा थियो । त्यति मात्र होइन, हत्या अनुसन्धान गिजोलिँदा उनी दबाबमा पनि थिए । कुनै हालतमा अनुसन्धानलाई मुकाममा लग्न चाहेका उनले मातहतका एआइजी धिरु बस्नेतको नेतृत्वमा छानबिन समिति बनाए । त्यसबाट पनि निष्कर्ष ननिस्केपछि डिआइजी सुरज केसीको नेतृत्वमा अर्को समिति बनाए । अनुसन्धानकै लागि एसपी दुर्गा सिंहलाई झन्डै ६ महिना कञ्चनपुर खटाए । तर, उनको कार्यकालमा पनि निर्मला बलात्कार र हत्याको रहस्यको गाँठो खुल्न सकेन ।