१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १९ बिहीबार
  • Saturday, 28 September, 2024
२o७९ जेठ १९ बिहीबार o८:o४:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

गोरखाका सामुदायिक विद्यालयमा अझै पुगेन पुस्तक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ १९ बिहीबार o८:o४:oo

अभिभावक भन्छन्– समयमै पुस्तक नआउँदा विद्यार्थीको पढ्ने बानी हरायो

शैक्षिक सत्र सुरु भएको लामो समय भइसक्दा पनि पाठ्यपुस्तकको अभावमा विद्यार्थीको पढाइमा असर परेको अभिभावकहरूले गुनासो गर्न थालेका छन् । निजी विद्यालयमा धमाधम पढाइ भइरहे पनि सरकारी विद्यालयका विद्यार्थी पुस्तक अभावमा पढाइबाट वञ्चित भएका छन् ।

समयमै पुस्तक नआउँदा विद्यार्थीमा पढ्ने बानी नै हराउँदै गएको पालुङटार नगरपालिका–९ स्थित मदनेडाँडा माविका प्रधानाध्यापक रुद्र उप्रेतीले बताए । ‘३ जेठदेखि पढाइ सुरु गरेका थियाैँ, तर अहिलेसम्म पुस्तक आइपुगेकै छैन, केही विद्यार्थीले पुरानो पुस्तक पढिरहेका छन्,’ उनले भने, ‘कक्षा ४, ७ र ९ को किताब अझै आएको छैन,’ उनले भने ।

पुस्तक अभावले पढ्न, पढाउन समस्या भएको उप्रेतीले बताए । ‘जिल्लामा १० प्रतिशत किताब आएको भन्ने सुनेको छु, विद्यालयले त्यो पनि पाएका छैनन् । अझै एक हप्ता पर्खनु भनेका छन्, कहिले आइपुग्ने हो, थाहा छैन,’ उनले भने । विद्यार्थी, अविभावकले किताब कहिले आउँछ भनेर बारम्बार सोध्ने गरेको उनले बताए । 

पाठ्यपुस्तक समयमै नआउँदा विद्यालयको कार्ययोजनाअनुसार पठनपाठन अघि बढाउन समस्या भएको धार्चे गाउँपालिका–४, लाप्राकस्थित मणिकामदेवी माविका प्रधानाध्यापक धनबहादुर गुरुङ बताउँछन् । ‘विद्यालयमा पढाउन सुरु गरेको लामो सयम भइसक्यो, अहिलेसम्म पुस्तक आएको छैन । पुरानो पुस्तक दिएर पढाइरहेका छौँ, त्यो पर्याप्त छैन,’ उनले भने । पाठ्यपुस्तक नहुँदा प्रत्येक हप्ता लिने एकाइ परीक्षा प्रभावित भएको उनले बताए । 

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३, सिर्दिबासस्थित बुद्ध माविमा पनि पुस्तक पुगेको छैन । ‘सोमबार आरुघाटबाट पठाइदिएका छौँ भन्नुभएको छ, बाटो खराब भएकाले माछाखोलाबाट फिलिमसम्म खच्चडमार्फत बोकेर ल्याउने कुरा भएको छ,’ प्रधानाध्यापक प्रकाश घिमिरेले भने । कक्षा ८ को अंग्रेजी र स्वास्थ्य विषयको किताब नआएको उनले बताए । अघिल्लो वर्ष वैशाखमै किताब आइसकेको भए पनि यो वर्ष किताब आउन ढिलाइ हुँदा पठनपाठन प्रभावित बनेको घिमिरेले बताए । 

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ गण्डकी प्रदेश सहसचिव प्रदीप खनालले गोरखामा हालसम्म २० प्रतिशत मात्र पुस्तक आइपुगेको बताए । भौगोलिक रूपमा विकट भएकाले जनक शिक्षा सामग्री केन्द्र लिमिटेड पोखराले गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकामा भने ८० प्रतिशत किताब पठाएको उनले बताए । यीबाहेक अन्य पालिकामा २० प्रतिशत मात्र पुस्तक जिल्लामा आइपुगेको उनको भनाइ छ ।

जिल्लाका विद्यालयमा चारदेखि पाँच हजार सेट पुस्तक आवश्यक परे पनि हालसम्म एक हजार सेट मात्र आइपुगेको खनालले जानकारी दिए । मतपत्र छपाइ र युक्रेन युद्ध, नेपाली कागजको अभावका नाममा कर्मचारीले पुस्तक छपाइमा ढिलो गरेका कारण समयमै पाठ्यपुस्तक नआएको उनले बताए । 

गण्डकी प्रदेशका ११ जिल्लालाई जनक शिक्षा सामग्री केन्द्रले पुस्तक उपलब्ध गराउँदै आएको छ । पाठ्यक्रम फेरिएकाले सामुदायिक विद्यालयमा कक्षा ४ र ७ का विद्यार्थीसँग पुस्तक छैन । जिल्लामा आवश्यकताअनुसार पुस्तक पुर्‍याउन अझै डेढ महिना लाग्ने उनको भनाइ छ ।