मलेसियामा २० जेठदेखि हुने आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्रीय छनोट खेलमा नेपाली टोलीले प्रतिस्पर्धा गर्दै छ । छनोट प्रतियोगितामा सहभागी हुन टियू मैदानमा नेपाली टोलीले एक महिनादेखि प्रशिक्षण गरेको थियो । प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्द र कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले विश्वकप छनोट खेल्न जाने टोलीलाई बिदाइ गरेका हुन् । टोलीका मुख्य प्रशिक्षक महेश रिजाल छन् । प्रशिक्षक रिजालले एक महिनाको तयारी प्रभावकारी रहेको बताए । शीर्ष स्थानमा रहने टोली विश्वकपमा छनोट हुने प्रावधान रहेको छ । नेपालकी कप्तान कृतिका मरासिनीले नेपाल विश्वकपमा छनोट हुने बताइन् । ‘हाम्रो लक्ष्य उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपमा छनोट हुने हो,’ बिदाइ कार्यक्रममा कप्तान मरासिनीले भनिन् ।
यसअघि नै क्यानले १४ सदस्यीय नेपाली टोली घोषणा गरेको थियो । धनगढीमा सम्पन्न यू–१९ राष्ट्रिय प्रतियोगिताका उत्कृष्ट ४४ खेलाडीलाई प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा बोलाएको थियो । क्यानले पोखरामा केही दिन बन्द प्रशिक्षण राखेको थियो । त्यसपछि खेलाडीहरूले अन्तिम तयारी टियू मैदानमा गरेको थियो ।
६ राष्ट्र सहभागी प्रतियोगितामा नेपालको लक्ष्य शीर्ष तीन भित्र रहने हो । शीर्ष तीन स्थानमा रहने टोलीहरूले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने टी–२० यू–१९ महिला विश्वकप खेल्नेछन् । नेपालले एसियन छनोटमा युएई, मलेसिया, कतार, भुटान र थाइल्यान्डको सामना गर्नेछ । एसियन छनोटमा चीन र म्यानमारले सहभागिता नजनाउने भएका छन् ।
नेपाली यू–१९ महिला टोली :
कृतिका मरासिनी (कप्तान), स्नेहा महरा (उपकप्तान), एलिसा यादव (विकेटकिपर), सृष्टी जैसी, मनीषा उपाध्याय, मनीषा रानामगर, साना प्रवीन, रञ्जु श्रेष्ठ (विकेट–किपर), आस्मा पुलामी मगर, सनु राजवंशी, किरण कुँवर, अञ्जली विक, अनु कडायत र सुस्मिता भुषाल ।
नेपालको खेल तालिका