१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १८ बुधबार
  • Saturday, 29 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ १८ बुधबार o६:४३:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

लेबनान, गोलान हाइट्सपछि अमेरिका जाँदै प्रधानसेनापति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ १८ बुधबार o६:४३:oo

प्रधानसेनापति प्रभुराम शर्मा असारमा दुई साता विदेश भ्रमणमा जाँदै छन् । प्रधानसेनापतिको कार्यभार सम्हालेपछि उनी पहिलोपटक लेबनान र गोलान हाइट्सस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसन तथा अमेरिकाको औपचारिक भ्रमणमा जान लागेका छन् । 

सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार शर्मा ४ देखि १० असारसम्म शान्ति मिसनको भ्रमणमा र त्यहाँबाट १७ असारसम्म अमेरिकाको औपचारिक भ्रमणमा हुनेछन् । मन्त्रिपरिषद् बैठकले प्रधानसेनापति शर्माको भ्रमण स्वीकृत गरेको सोमबार सार्वजनिक भएको थियो । 

फौजको हौसला अभिवृद्धि गर्न तथा राष्ट्रसंघीय मिसनहरूका विविध पक्ष र भावी योजनाबारे जानकारी लिन प्रधानसेनापति शर्मा मिसनमा जान लागेको सैनिक प्रवक्ता सिलवालले बताए । शर्मा चार सैनिक अधिकारीसहित सुरुमा लेबनानस्थित राष्ट्रसंघीय मिसनमा र त्यहाँबाट इजरायल–सिरिया सीमा क्षेत्र गोलान हाइट्सस्थित शान्ति स्थापक मिसनमा जाने कार्यक्रम छ । शर्माले मिसनहरूको वस्तुस्थिति, अपरेसनल गतिविधि, फौज तैनाथीको अवस्थालगायत अन्य विविध पक्षका बारेमा जानकारी लिनेछन् । उनले शान्ति मिसनका फोर्स कमान्डरसहितका अधिकारीसँग भेटघाट गर्ने कार्यक्रम छ । गोलान हाइट्समा नेपाली सेनाका पूर्वरथी ईश्वर हमाल फोर्स कमान्डर छन् । 

गोलान हाइट्समा ४११ जना नेपाली सैनिक कार्यरत छन् भने लेबनानमा ८७२ नेपाली सैनिक कार्यरत छन् । यी दुई मिसन अन्य मिसनभन्दा तुलनात्मक रूपमा शान्त मानिन्छन् । यी दुवै मिसन अन्तरराज्यबीच युद्धविराम सम्झौता अनुगमनका लागि स्थापना भएको हो । संयुक्त शान्ति स्थापक मिसनमा दोस्रो सबैभन्दा बढी संख्या नेपाली सेनाको छ । हाल सशस्त्र प्रहरी र नेपाल प्रहरीसमेत गरी शान्ति स्थापक मिसनहरूमा पाँच हजार ५७० शान्ति सैनिक कार्यरत छन् । 

शान्ति स्थापक मिसनको भ्रमणपछि प्रधानसेनापति शर्मा इजरायलबाट अमेरिकाको वासिङ्टन डिसी जाने कार्यक्रम छ । शर्मा अमेरिकी सेनाका प्रमुख चिफ अफ द स्टाफ जनरल जेम्स सी म्याक कोन्भिलको निमन्त्रणामा जान लागेका हुन् । अमेरिकाका विभिन्न स्थानमा पुगेर शर्माले अमेरिकी सेनाका विभिन्न युनिट र प्रतिरक्षा विश्वविद्यालयको भ्रमण गर्ने तथा अमेरिकी समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले पेन्टागनस्थित अमेरिकी रक्षा मन्त्रालयमा उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

‘उच्चस्तरीय सैनिक नेतृत्वबाट नियमित रूपमा हुने गरेको यस प्रकारको भ्रमण, विगत लामो समयदेखि स्थापित नेपाली सेना र अमेरिकी सेनालगायत दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध एवं विद्यमान द्विपक्षीय सहयोग तथा सहकार्यको क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण साबित हुने विश्वास नेपाली सेनाले लिएको छ,’ सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

ad
ad
ad
ad