नेकपा एमालेका सांसद विष्णुप्रसाद पौडेलले वर्तमान सत्तागठबन्धनले राज्यको स्रोतलाई आफ्नो हितमा दुरुपयोग गरेको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधिसभामा आर्थिक वर्ष ०७९\८० को बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले मतदातालाई भ्रममा पारेर भोट बटुल्ने उद्देश्यले बजेट ल्याइएको बताए।
‘यो बजेट बजेट नभएर सत्तागठबन्धनको चुनावी घोषणापत्र र चुनावी प्रचारजस्तो छ। यो मतदातालाई भ्रममा पारेर भोट बटुल्ने उद्देश्यले आएको छ,’ पौडेलले भने।
वर्तमान सरकारको कार्यकाल बढीमा मंसिरसम्म मात्रै भएको भन्दै उनले चुनावी सरकारले सीमा मिचेर मुलुकलाई ठूलो आर्थिक दायित्व सिर्जना गरेको टिप्पणी गरे। उनले भने, ‘पाँच महिनाको चुनावी सरकारले आफ्नो सीमा मिचेर भर्खर निर्वाचित भएको पूर्ण अवधिको सरकारले जसरी बजेट प्रस्तुत गरेको छ। भोलि चुनावबाट आउने सरकार र मुलुकलाई नै बोकिनसक्नुको आर्थिक दायित्व सिर्जना गरेको छ।’
दैनिक प्रशासनिक खर्च, चालू आयोजनाको निरन्तरता र निर्वाचनका लागि खर्चको स्रोत व्यवस्थापनमा बजेट केन्द्रित हुनुपर्ने भए पनि सस्तो लोकप्रियताका लागि विनातयारीका दीर्घकालीन प्रकृतिका योजनाको चाङ लगाइएको सांसद पौडेलको आरोप छ।