घानाको राजधानी आक्रास्थित म्यामप्रोबी क्लिनिकभित्र निकै होहल्ला छ । दादुराको खोप लगाउन पर्खिरहेका बालबालिका तिनका आमाहरूसँग खेलिरहेका देखिन्थे । क्लिनिकबाहिर कोभिड–१९ को खोप लगाउने व्यवस्था छ, तर त्यहाँ कोही देखिँदैनन् । काम केही नभएकाले स्वास्थ्यकर्मी कुर्सीमा बसेर मोबाइल चलाइरहेका थिए । क्लिनिकमा छोरीलाई खोप लगाउन पर्खिरहेकी एक महिला दादुराका जोखिमहरू उच्च ज्वरो, डाबर आउने र आँखाको ज्योतिमा पर्ने असरबारे जानकार छिन् । तर, कोभिड–१९ बारे ? पत्रकारसँगको कुराकानीमा उनले कोभिड लागेर कोही पनि सिकिस्त भएको नसुनेको बताइन् ।
आक्रामा मात्र होइन, अफ्रिकाको अन्यत्र पनि कोभिड–१९ त्यति खतरनाक रोग होइन भन्ने धारणा व्याप्त छ । अफ्रिकाको जनसंख्या मुख्य गरी युवा भएकाले त्यहाँ कोभिड–१९ ले युरोप र अमेरिकाको वयोवृद्ध जनसंख्यामा जस्तो असर गरेन । ‘मान्छेहरूले खोप लगाएर केही नराम्रो हुँदैन, राम्रै हुन्छ भनेको सुन्छु । त्यसो भए खोप लगाएका देशमा अझै किन लकडाउन लागिरहेको छ त ?,’ २८ वर्षीया निर्माणकर्मी नाना क्वाकुल अडोले भनिन् ।
अफ्रिकामा खोपदर पनि न्यून छ । केही देशले जनसंख्याको ७० प्रतिशतलाई खोप दिइसक्दा अफ्रिकाभर जम्मा १७ प्रतिशतले मात्र खोप पाएका छन् । धनी देशले खोपको माग उच्च भएको समय(गत वर्ष) आपूर्ति आफ्नै लागि राख्दा यो स्थिति आएको हो । अहिले खोप सहज रूपमा पाउन थालेपछि मानिसमा खोपप्रति खासै उत्साह देखिँदैन । यसको प्रमाण आक्राको म्यामप्रोबी क्लिनिकको कोभिड–१९ को खोप केन्द्र पनि हो ।
केही देशले जनसंख्याको ७० प्रतिशतलाई खोप दिइसक्दा अफ्रिकाभर जम्मा १७ प्रतिशतले मात्र खोप पाएका छन् । धनी देशले खोपको माग उच्च भएको समय (गत वर्ष) आपूर्ति आफ्नै लागि राख्दा यो स्थिति आएको हो । अहिले खोप सहज रूपमा पाउन थालेपछि मानिसमा खोपप्रति खासै उत्साह देखिँदैन ।
नयाँ भेरियन्टको जोखिम
न्यून खोप दरले जनस्वास्थ्यविज्ञलाई भने चिन्तित बनाएको छ । ठूलो जनसंख्या खोपविहीन हुँदा भाइरसको नयाँ भेरियन्ट उत्पन्न हुने जोखिम बढ्छ । युरोपमा पछिल्लो समय मास्क प्रयोग कम हुन थालेकाले अफ्रिकामा उत्पन्न हुने भेरियन्ट त्यहाँ पनि फैलिने हो कि भनेर चिन्ता बढेको छ । भर्खरै दक्षिण अफ्रिकामा ओमिक्रोनका नयाँ दुई उप–भेरियन्ट देखिएका छन् । पहिलेदेखि नै कोभिड–१९ बाट अफ्रिकाको सबैभन्दा प्रभावित मुलुक दक्षिण अफ्रिकामा संक्रमणको पाँचौँ लहर सुरु हुने डर बढेको छ । ‘पिपुल्स भ्याक्सिन एलाइन्स’ नामक वकालत समूहकी अफ्रिका सह–संयोजक रहाव म्वानिकीका अनुसार अफ्रिकी नागरिकलाई अहिले अरू देशमा कोभिड फैलन नदिनका लागि पनि खोप लगाउनुपर्छ भनेर बुझाउन गाह्रो परिरहेको छ । ‘मानिसलाई अरू देशलाई सघाउन पनि खोप लगाउनुपर्छ भन्यो भने ‘पहिले तिमीहरूले सघाएका थियौ र ?’ भन्ने प्रतिप्रश्न गर्छन् । ‘मानिसमा आवश्यकता पर्दा पश्चिमाले आफूहरूलाई नसघाएको भावना बढेको छ,’ उनले थपिन् ।
खाद्यसंकटसँगको द्वन्द्व झन् ठूलो
अफ्रिकी जनता प्राणघातक रोगबारे पहिलेदेखि नै परिचित छन् । करोडाैँ मानिस बर्सेनि क्षयरोगबाट ग्रसित हुन्छन् । मलेरियाले बर्सेनि लाखौँ अफ्रिकीको ज्यान लिन्छ । लोकतान्त्रिक गणतन्त्र कंगोमा समय–समयमा इबोला उत्पन्न भइरहन्छ । द्वन्द्व, खडेरी र युक्रेन युद्धका कारण बढेको खाद्यमा मूल्यवृद्धिका कारण पश्चिम अफ्रिका ठूलो खाद्य–संकटसँग जुधिरहेको छ । धेरै मानिसले कोभिड–१९ लाई त्यति गम्भीर मानेका छैनन् ।
कोभिड–१९ ले मुख्यतः वृद्धवृद्धालाई असर गर्ने भएकाले युवा जनसंख्याको ठूलो हिस्सा रहेको अफ्रिकामा यसले भयावह असर नगरेको हुन सक्छ । अफ्रिकाको मध्यम आयु २० वर्ष छ, जुन युरोपमा ४३ र उत्तर अमेरिकामा ३९ छ । ‘के घानाले अहिले सामना गरिरहेको सबैभन्दा ठूलो समस्या कोभिड हो ? के यो महँगी र इन्धनको बढ्दो मूल्यभन्दा पनि ठूलो समस्या हो ?’ आक्राका एक व्यापारी माबुलेले भने ।
अहिले अफ्रिकी महादेशमा ठूलो परिमाणमा खोप पुगिसकेको छ, तर मानिसहरू खोप लगाउन तयार छैनन् । अफ्रिकाको पहिलो कोभिड–१९ खोप निर्माता अर्डर पर्खिरहेका छन् । खोपदर वृद्धि गर्न घाना, गाम्बिया, सियरा लियोन र केन्याले घुम्ती खोप अभियानमा ध्यान केन्द्रित गरिरहेका छन् । त्यस अभियानअन्तर्गत स्वास्थ्यकर्मी समुदायमै गएर खोप लगाउँछन् । तर, एकातर्फ यी अभियानका लागि आवश्यक अर्थस्रोतको कमी छ भने अर्कोतर्फ कोभिड–१९ का खोपविरुद्ध कैयौँ अफवाह फैलिएको छ । विगतमा ठूला औषधि निर्माता कम्पनीले यस महादेशमा सञ्चालन गरेका शंकास्पद परीक्षाले मानिसको ज्यानसमेत गएको पृष्ठभूमिमा उनीहरूलाई बुझाउन सजिलो छैन ।
सञ्चारमाध्यमको असहयोग
अफवाहविरुद्ध स्वास्थ्यकर्मीहरू जनचेतना कार्यक्रम सञ्चालन गर्न पनि अर्थकै समस्या रहेको बताउँछन् । १४ प्रतिशत जनसंख्याले मात्र खोप लगाएको सियरालियोनमा रेडियोहरूले खोपसम्बन्धी जनचेतना फैलाउन अस्वीकार गरिरहेका छन् । रेडियोहरूले विगतकै विज्ञापनको पैसा नपाएकाले थप सहयोग गर्न नचाहेको अधिकारीले बताए । ‘एक वा डेढ वर्षअघि खोपमा लगानी नगर्दाको असर अहिले देखिन थालेको छ,’ केयर युएसए नामक अनुदान समूहका वरिष्ठ निर्देशक इमिली जानोचले भने ।