१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार o८:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सहरी विकास मन्त्रालयलाई ३८ अर्ब

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o८:३६:oo

सरकारले सहरी विकास मन्त्रालयका लागि ३७ अर्ब ७३ करोड विनियोजन गरेको छ । जसमध्ये भूकम्पछिको पुनर्निर्माणतर्फ नौ अर्ब ४४ करोड तथा नयाँ १० वटा सहर विकास आयोजनाका लागि तीन अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको छ । 

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले ‘नयाँ सहर विकासको आधार’ भन्ने अवधारणासहित पुष्पलाल मध्यपहाडी राजमार्गमा पर्ने १० नयाँ सहर आयोजना सम्पन्न गर्ने बताएका छन् । त्यस्तै, सातै प्रदेशमा उद्धार केन्द्रसहितको पार्क निर्माण गरिने भएको छ । प्राकृतिक विपद्को समयमा उद्धार तथा राहत कार्यमा समेत उपयोग हुने गरी उपत्यकाका लैनचौर, बानेश्वर, मीनभवन र पुलचोकमा गरी चार स्थानमा निर्माण गरिने भएको छ । 

सिन्धुलीको मरिण, बाराको निजगढ, तनहुँको देवघाट र पाल्पाको रामपुरलाई नेपाली मौलिक शैली र विशेषता झल्किने संरचनासहितको नयाँ सहरका रूपमा विकास गर्न अध्ययन गरिने अर्थमन्त्री शर्माले घोषणा गरेका छन् । ओलाङचुङगोला, किमाथांका, उपल्लो मनाङ, लोमाङथाङ, डोल्पो बुद्ध, लिमी र हिल्सामा व्यवस्थित हिमाली सहर विकास गर्न अध्ययन गरिने उल्लेख छ । तराई–मधेसका सीमामा अवस्थित सहरी क्षेत्रलाई आर्थिक गतिविधिको केन्द्रका रूपमा विकास गर्न सीमा क्षेत्र सहरी विकास कार्यक्रम सञ्चालन गरिने भएको छ । यस कार्यक्रमअन्तर्गत आगामी वर्ष सकन्दपुर, पृथ्वीनगर, ठाडी, कोइलावास, कण्ठपुर, बेलौरी, चाँदनी–दोधारा, पञ्चेश्वर माडर, जलेश्वर, गौर, तौलिहवा र सत्तीमा पूर्वाधार विकासको कार्यका लागि रकम विनियोजन गरिएको मन्त्री शर्माले बताए । 

सहरी नदी करिडोर कार्यक्रमअन्तर्गत विराटनगरको केसलिया र सिंघिया, हेटौँडाको कर्रा, चितवनको नारायणी, रुपन्देहीको तिनाउ र दानव, पोखराको सेती र धनगढीको खुटिया नदीमा सहरी नदी करिडोरको अवधारणाअनुरूप तटबन्ध निर्माण र बस्ती संरक्षण कार्यक्रम सञ्चालन गरिने भएको छ । बागमती नदी र धोबीखोलाको बहावलाई स्थिरीकरण तथा प्रशोधन गर्ने व्यवस्था मिलाइने भएको छ भने टुकुचादेखि बुढानीलकण्ठसम्मको नदी सौन्दर्यीकरण गरिने बजेटमा उल्लेख छ । 

ad
ad