प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले संवैधानिक र कानुनी सीमाभित्र रहेर बजेट ल्याउन सरकारलाई सचेत गराएका छन्। यो सरकार चुनावी सरकार भएको उल्लेख गर्दै उनले भोलि आउने नयाँ सरकारलाई आर्थिक बोझ थप्ने र पपुलिस्ट हुने खालको बजेट ल्याउन नमिल्ने बताएका हुन्।
शनिबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले यस्तो धारणा राखेका हुन्।
सरकारसामु आगामी मंसिरभित्र संघ र प्रदेशको चुनाव सम्पन्न गरिसक्नुपर्ने अभिभारा रहेको भन्दै उनले चुनावी सरकारले जनमतलाई दिग्भ्रमित पार्ने गरी पपुलिस्ट खालको बजेट ल्याउने अनुमति नरहेको तर्क गरे।
‘यो सरकार चुनावी सरकार हो। मंसिरसम्म चुनाव गरिसक्नुपर्ने हाम्रो संवैधानिक अभिभारा छ। त्यसले गर्दा यो सरकारले दीर्घकालीन रूपमा आर्थिक दायित्व थप्ने प्रकृतिका र भोलि आउने सरकारलाई बोझ थप्ने प्रकृतिका कार्यक्रम ल्याउन सक्दैन, ल्याउन मिल्दैन,' उनले भने, 'जनमतलाई दिग्भ्रमित गर्ने गरी पपुलिस्ट प्रकृतिका कार्यक्रमहरू ल्याउनेसमेत यस सरकारलाई अनुमति छैन।’