मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १३ शुक्रबार ०८:४२:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

क्यानविरुद्ध सर्वोच्च अदालतमा मुद्दा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १३ शुक्रबार ०८:४२:००

एभरेस्ट प्रिमियर लिग (इपिएल) आयोजक र सहभागी ६ फ्रेन्चाइज टोलीहरूले बिहीबार नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध मुद्दा दर्ता गराएका छन् । इपिएलले विज्ञप्ति निकाली क्यानको निर्णयविरुद्ध अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गरिएको जनाएको छ । क्यानले नेपाल टी–२० लिगबाहेक अन्य फ्रेन्चाइज लिगलाई राष्ट्रिय मान्यता नदिने निर्णय गरेको छ । क्यानको यो निर्णयले आफूहरूको कानुनी र संवैधानिक अधिकारमा आक्रमण भएको भन्दै इपिएलले न्यायका लागि अदालतमा मुद्दा दर्ता गरेको विज्ञप्तिमा उल्लेख छ ।

क्यानको मंगलबार बसेको बोर्ड बैठकले नेपालमा आयोजना हुने फ्रेन्चाइज टी–२० क्रिकेटलाई राष्ट्रिय मान्यता नदिने निर्णय गरेको थियो । नेपालमा इपिएल, पोखरा प्रिमियर लिग (पिपिएल) र धनगढी प्रिमियर लिग (डिपिएल) सञ्चालन हुँदै आएका छन् । तीमध्ये इपिएलको मात्र निरन्तरता छ । 

क्यानले आफ्नो आधिकारिक फ्रेन्चाइज नेपाल टी–२० लिग गर्ने भएका कारण अन्य लिगलाई मान्यता नदिने जनाएको थियो । क्यानले बुधबार लिगको मिति र लिग खेल्ने ६ वटा टोलीको नामसमेत सार्वजनिक गरिसकेको छ ।  इपिएलले क्यानले लिगका लागि नेपालको कानुनविपरीत भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्सँग सम्झौता गरेको र उक्त कम्पनी अपारदर्शी रहेको जनाएको छ ।